स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार रोकौँ

 भदौ ८, २०७७ सोमबार ६:५९:२६ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको बानेश्वरमा टोलसुधार समितिको नाममा एउटा भिडले स्वास्थ्यकर्मी बसेको होस्टेल घेर्यो । स्वास्थ्यकर्मीले टोलमा कोरोना भाइरस फैलाउने भन्दै उनीहरुले होस्टल सञ्चालक र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरे । 

केही समयअघि कोरोना सङ्क्रमण भएर आफ्नै घरको आइसोलेशनमा बसिरहेका चितवनका एक जना डाक्टर बसेको घरमा छिमेकीहरु ब्यानर टाँग्न पुगे । स्वास्थ्यकर्मीको घर जाने बाटो र घरमा समेत ब्यानर राख्न आएपछि आफूले अपमानित महशुस गरेको डाक्टरले बताए । 

कतै कोठा भाडामा लिएर बसेका स्वास्थ्यकर्मी कोठाबाट निकालिएका त कतै स्वास्थ्यकर्मी हिँड्ने बाटोमा अवरोध सिर्जना गरेका खबरहरु दिनदिनैजसो सुनिन थालेका छन् । आफ्नो समुदायमा रहेका डाक्टरहरुसँग सङ्क्रमणबाट जोगिन र सङ्क्रमण भइहालेमा के गर्ने भन्ने बारेमा सल्लाह लिनु त परकै कुरा उनीहरुलाई बाटो हिँड्न समेत रोक्ने गतिविधि बढिरहेका छन् । 

जान्ने बुझ्नेबाटै अपमान 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे समाजमा जानेबुझेका तथा शिक्षित भनिने व्यक्तिबाटै स्वास्थ्यकर्मीहरुलाई दुर्व्यवहार रहेको बताउनुहुन्छ ।

छरछिमेक तथा चिनेजानेका व्यक्तिहरु सुरक्षित भएर टाढैबाट बोल्न समेत छाडेका भन्दै उहाँ भन्नुहुन्छ ‘स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ, तर पल्लो घरको कौसीबाट समेत बोल्न हुँदैन भन्ने हैन, स्वास्थ्यकर्मी हिँडेको बाटो नै छल्ने, बोलचाल नै बन्द गर्ने व्यवहार देखिन थालेका छन्, यो राम्रो संकेत हैन ।’

सङ्क्रमण दिनदिनै बढिरहेको छ । जाँच तथा उपचारमा स्वास्थ्यकर्मी खटिनै पर्छ । कोरोना सङ्क्रमित तथा अरु रोगका बिरामीहरुको पनि उपचार गर्नुपर्छ । तर स्वास्थ्यकर्मी देखिनासाथ यसले मलाई कोरोना सारिहाल्छ वा यिनीहरुकै कारण समाजमा कोरोना फैलिरहेको छ भन्ने खालका व्यवहार गर्नुहुन्न । नबुझेका मानिसबाट यस्ता व्यवहार हुनुलाई बुझाइमा कमी भन्न सकिए पनि समाजमा जान्ने बुझ्ने व्यक्तिबाटै यस्ता व्यवहार हुँदा अवस्था चिन्ताजनक भैरहेको डा. पाण्डे बताउनुहुन्छ । 

टोल सुधार समितिमा रहेका मानिसहरु प्रायः त्यो क्षेत्रमा अलि बढी चिनिएका हुन्छन् । जानेबुझेका हुन्छन् । नेतृत्व गर्ने क्षमताका हुन्छन् । उनीहरु आदर्श हुन्छन् । उनीहरुको कुरा धेरैले मान्ने भएकोले त्यस्ता मानिसले गर्ने व्यवहार त्यो समुदायमा बस्ने धेरै मानिससँग सम्बन्धित हुन्छन् । तर चितवन, काठमाण्डौ लगायतका ठाउँमा टोल सुधार समितिकै तर्फबाट स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु चिन्ताको विषय हो । 

टोल सुधार समिति, शिक्षकहरु तथा सार्वजनिक क्षेत्रमा काम गर्नेहरुले आफ्नो समुदायमा स्वास्थ्यका मापदण्ड पालना गराउनका लागि पहल गर्नुपर्छ । सुरक्षाका उपायहरु खोज्नुपर्छ । समुदायमा कोही सङ्क्रमित भइहालेमा कहाँ कसरी राखेर उपचार गर्ने, अरुलाई कसरी जोगाउने भन्ने तयारी पनि गर्नुपर्छ । तर सङ्क्रमित, संभावित सङ्क्रमित वा स्वास्थ्यकर्मीलाई अपमान गर्नुहुन्न । 

अपमानबाट आत्मबल घट्छ 

कोरोना महामारी विश्वव्यापी समस्या हो । आँखाले नदेखिने भाइरसले जुनसुकै बेला जोसुकैलाई पनि आक्रमण गर्न सक्छ । संसारका दुई करोड ३४ लाखभन्दा धेरै मानिसलाई आक्रमण गरिसकेको यो भाइरसले आठ लाखभन्दा धेरै मानिसको त ज्यानै लिइसकेको छ । आठ महिनाअघि सुरु भएको भाइरसको प्रभाव बढिरहेकै छ । यसबाट बच्ने खोप र उपचारका लागि खास औषधि अहिलेसम्म बनिसकेको छैन । 

यस्तो बेलामा आफूलाई सङ्क्रमण हुनबाट बचाउनु र सङ्क्रमण भइहालेमा उच्च मनोबलका साथ कोरोनालाई जित्नु मात्र यसको विकल्प हो । लक्षणका आधारमा उपचार त गरिन्छ, तर ती उपचारको प्रभावकारिता पनि मानिसको आत्मबलसँग सम्बन्धित हुन्छ । रोग लाग्नै नदिन र रोग लागिसकेपछि त्यसलाई जित्न आत्मबलको भूमिका महत्वपूर्ण हुन्छ । 

तर कोरोना महामारी विरुद्धको लडाइँमा अग्रपङ्तिमा रहेका लडिरहेका स्वास्थ्यकर्मीकै आत्मबल घटाउने प्रयास समुदायका व्यक्तिबाट भइरहेको छ । ज्यान जोखिममा राखेर सङ्क्रमण रोक्न तथा संक्रमितहरुलाई बचाउन लागिपरेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने हो भने उनीहरुको आत्मबल घट्न सक्छ । काममा ध्यान नजान सक्छ । जोखिम मोलेर काम गरिरहेकै बेला हौसलाको सट्टा दुर्व्यवहार भएमा मानिसले काम छाड्न पनि सक्छ । 

महामारी विरुद्धको चर्को लडाइँ चलिरहेको बेला यो लडाइँमा स्वास्थ्यकर्मीको विकल्प पनि छैन । भोलि आफू सङ्क्रमण भएमा पनि यिनै स्वास्थ्यकर्मीले उपचार गर्ने हो भनेर उनीहरुमा हौसला बढ्ने व्यवहार गर्नुपर्छ । 

मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटु शल्यचिकित्सक अनिल भटराई सङ्क्रमण पत्ता लगाउन र उपचार गर्न स्वास्थ्यकर्मी नभइ नहुने भन्दै आफूहरुमाथि दुर्व्यवहार नगर्न आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘यो साझा लडाइँ हो, सबैको साथ चाहिन्छ । अझ अग्रभागमा रहेका व्यक्तिलाई साथ र हौसलाको खाँचो छ, हौसला नभए पनि दुर्व्यवहार चाहिँ नगरिदिनुहोला ।’

रत्ननगर बकुलहर अस्पताल चितवनका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेको घरमै ब्यानर टाँग्न टोल सुधार समितिका मानिस पुगे । डा. बगाले भन्नुहुन्छ, ‘यस्ता गतिविधिले आत्मबल घट्छ, लडाइँमा जाने सिपाहीमा उच्च मनोबल भएमा उसले प्रभावकारी लडाइँ लड्न सक्छ, यदि दुर्व्यवहार गरेर पठाइयो भने उसलाई आफ्नै जिन्दगी बेकार लाग्छ भने अरुको लागि काम गर्नुपर्छ भन्ने पनि भुल्न सक्छ । त्यसैले यस्तो बेलामा स्वास्थ्यकर्मीलाई मनोबल बढाउने खालका कामको खाँचो छ ।’

हामी आफूले पनि कोरोना विरुद्धको लडाइँमा मनोवल उच्च बनाएर बस्नुपर्छ भने स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग गर्नुपर्छ । हामी सङ्क्रमित भैहालेमा उपचार गर्ने तिनै स्वास्थ्यकर्मीहरुले हो भन्ने मात्र सोच्ने हो भने पनि उनीहरुलाई गर्ने व्यवहार राम्रो हुन सक्छ । उनीहरु सङ्क्रमण फैलाउन हैन सङ्क्रमण विरुद्धको लडाइँ लड्नका लागि चाहिँ अस्पताल गइरहेका छन् भन्ने कुरा सबैले सधैं याद गर्नुपर्छ । 

सरकार भन्छ : कारबाही हुन्छ 

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका गुनासो दैनिकजसो सार्वजनिक हुन थालेका छन् । कतै कुटपिट समेत भएको छ भने बसिरहेको कोठा छाड्न दबाब दिने, बाटो हिँड्नै रोक लगाउने, परैबाट बोल्न पनि नमान्ने जस्ता समस्या भोग्नुपरेको स्वास्थ्यकर्मीहरु गुनासो गर्छन् । सामान्य भए पनि यसअघिको भन्दा फरक व्यवहार छरछिमेकबाट भएपछि पेशाप्रति नै वितृष्णा समेत हुनथालेको कतिपय स्वास्थ्यकर्मीहरु बताउँछन् । 

स्वास्थ्यका मापदण्ड अपनाउने बहानामा वा यिनीहरुले सङ्क्रमण फैलाउँछन् भन्दै स्वास्थ्यकर्मीमाथि भैरहेका दुर्व्यवहारप्रति आफूहरुको पनि ध्यानाकर्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुने पटक/पटक चेतावनी दिइरहनुभएको छ । मन्त्रालयले सूचना नै निकालेर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ । गृह मन्त्रालयले पनि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न निर्देशन दिइसकेको छ ।

सङ्क्रमणको जोखिम दिनदिनै बढिरहेको छ । टोलटोलमा कोरोना सङ्क्रमण पुगिसकेपछि यस्ता घटनाहरु झनै बढ्न सक्छन् । भोलि समयमा उपचार नपाउने अवस्था पनि आउन सक्छ । त्यस्तो बेला मानिस स्वास्थ्यकर्मीसँगै बढी रिसाउन सक्छन् र यसको प्रभाव स्वास्थ्यकर्मीले थप दुर्व्यवहारका घटना बेहोर्नुपर्ने हुन सक्छ । 

महामारीको लडाइँमा अग्रभागमा रहेका स्वास्थ्यकर्मी नै दुर्व्यवहारको शिकार हुने हो भने सङ्क्रमितले पनि उस्तै व्यवहार सहनुपर्छ । यसको असर हाम्रो सामाजिक अवस्थामा पनि पर्न सक्छ । यसैले यस बिषयमा सरकार समयमै सचेत हुनुपर्छ । यसबारेमा चेतनामूलक कामका साथै दुर्व्यवहारमा संलग्न हुनेलाई कारवाही पनि गर्नुपर्छ ।  

सकेको सहयोग गरौँ

स्वास्थ्यकर्मीहरुको पनि परिवार हुन्छ । उनीहरुको परिवारमा पनि समस्या आउन सक्छ, तर महामारी विरुद्ध खटिँदा समय नपुगेर वा सङ्क्रमितको सम्पर्कमा गएको कारण जोखिममा परेर समयमा घर जान सकिरहेका हुँदैनन् । यस्तो बेलामा स्वास्थ्यकर्मीका परिवारलाई उनीहरुका छिमेकीहरुले सहयोग गर्न सक्छन् ।

परिवारका सदस्यलाई उनीहरुका छिमेकीले केही गाह्रोसाह्रो छ कि, केही सहयोग गर्नुपर्छ कि भनेर सोध्यो मात्र भनेमा पनि महामारीमा खटिएको स्वास्थ्यकर्मीको आत्मबल बढ्न सक्छ । त्यसैले स्वास्थ्यकर्मी वा उसका परिवारलाई दुर्व्यवहार हैन, यो बेलामा दुःखसुख बुझेर हामी छौँ भन्ने बोली मात्रै दिए पनि यो लडाइँमा साथ हुन्छ । 

रोगले विभेद गर्दैन । न त कोहीसँग डराएर पर भाग्छ । यसले जतिबेला जसलाई पनि आक्रमण गर्न सक्छ । यसले धनी, गरिब, जात, धर्म, पेसा केही चिन्दैन । विपद बाजा बजाएर आउँदैन भने झैं भाइरसले आउँ कि नआउँ भनेर अनुमति लिएर आउँदैन । त्यसैले म चाहिँ जोगिन्छु त्यसले चाहिँ फैलाउँछ भन्ने खालको व्यवहार गर्नु हुँदैन । 

यो मानव जातीकै साझा लडाइँ हो । यसमा एकले अर्कोलाई साथ दिनुपर्छ । आफू जोगिनका लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड प्रयोग गर्नुपर्छ, तर अरुलाई लाग्यो वा जोखिममा छ भनेर दुर्व्यवहार गर्नुहुन्न । अझ स्वास्थ्यकर्मी विना त यो लडाइँमा कोही पनि जान नसक्ने भएकोले यसबेला उनीहरुमा आत्मबल थप्ने काम गर्नुपर्छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया