सुदूरपश्चिममा निको भए ४ हजार बढी कोरोना सङ्क्रमित

 भदौ ९, २०७७ मंगलबार १७:१५:२१ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामध्ये अहिलेसम्म चार हजार चार सय जना निको भएर घर फर्किएका छन् । मङ्गलबार दिउँसोसम्म प्रदेशमा पाँच हजार चार सय ६ सङक्रमित रहेको र तीमध्ये नौ जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सबैभन्दा बढी कैलालीका एक हजार तीन सय एक जना सङ्क्रमित डिस्चार्ज भएका छन् । त्यस्तै अछामका सात सय १३, कञ्चनपुरका पाँच सय ८१, बाजुराका चार सय ४२, बैतडीका तीन सय २२, डडेल्धुराका दुई सय ९९, बझाङका एक सय १०, दार्चुलाका ४१ तथा डोटीका पाँच सय ७६ जना सङ्क्रमित डिस्चार्ज भएका छन् । 

स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा मङ्गलबार दिउँसोसम्म नौ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 
महाकाली अस्पतालमा २३, सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई÷दुई र मालाखेती अस्पतालमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । अन्य सङ्क्रमित भने पालिकाको आइसोलेशन र होम आइसोलेशनमा रहेको निर्देशनाले जनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया