लमजुङ : २ महिनामा ९ जनामा डेङ्गी देखियाे

 भदौ ९, २०७७ मंगलबार १९:२४:१२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा दुई महिनामा नौ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।

गएको असारदेखि अहिलेसम्म तीन महिला र ६ पुरुष गरी नाै जनामा डेङ्गी पुष्टि भएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार बेसीशहर नगरपालिकामा ४ पुरुष र एक महिला, सुन्दरबजार नगरपालिकामा दुई पुरुष र एक महिला तथा मर्स्याङ्दी गाउँपालिकामा एक महिला गरी नाै जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो ।

लमजुङमा आर्थिक वर्ष २०७६/०७७ मा चार जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो ।

‘गएकाे असारदेखि अहिलेसम्म नाै जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । यसले गर्दा लमजुङ पनि डेङ्गीकाे उच्च जोखिममा रहेको छ’, दवाडीले भन्नुभयो ।

डेङ्गीको सङ्क्रमण बढ्दै गएपछि लमजुङका पालिकाले याे राेग नियन्त्रणको पहल थालेका छन् । 

स्वास्थ्य शाखा, सुन्दरबजार नगरपालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियतामा भोटेओडार, बालुने, सिउँडीबार, फूलबारी, पाउँदीलगायतका ठाउँमा डेङ्गीकाे लार्भा खोजी गरी नष्ट गरिएको स्वास्थ्य शाखा सुन्दरबजार नगरपालिकाका प्रमुख परमेश्वर पियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर क्षेत्रमा गएको भदौ २ गते फूलबारीका ३५ वर्षीय एक पुरुष, गएको शनिबार फूलबारीकै ३८ वर्षीय एक पुरुष र सुन्दरबजार नगरपालिका ११ काे सिन्दुरेका ४७ वर्षीया एक महिलामा डेङ्गी पुष्टि भएको हो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया