म्याग्दीमा दुई दिनमा डेङ्गी र स्क्रब टाइफसका पाँच सङ्क्रमित भेटिए

 भदौ ९, २०७७ मंगलबार २०:५९:४६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गी र स्क्रब टाइफसको जोखिम पनि बढ्न थालेको छ । पछिल्लो दुई दिनमा मात्रै डेङ्गी र स्क्रबटाइफसका पाँच जना नयाँ सङ्क्रमितहरु भेटिएका हुन् । 

सोमबार तीन जनामा डेङ्गी र स्क्रब टाइफस तथा एक जनामा डेङ्गी देखिएकोमा मङ्गलबार थप एक जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको बेनी अस्पतालले जनाएको छ । बेनी अस्पतालमा परीक्षण गर्ने क्रममा बेनी नगरपालिका–४, सिङ्गाकी ३२ वर्षीया महिलामा डेङ्गी र स्क्रब टाइफस भेटिएको छ । 

यसैगरी बेनपा ५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका४ नारच्याङका ३३ वर्षीय पुरुषमा डेङ्गी र स्क्रब टाइफस तथा अन्नपूर्ण ६ घारकी ३३ वर्षीया महिलामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल रेकर्डर तथा सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिनुभयो । 

त्यस्तै मङ्गलबार मालिका ६ दरबाङका १४ वर्षीय बालकमा पनि स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । 

बेनी अस्पतालको प्रयोगशाला विभागमा परीक्षण गर्दा उनीहरुमा डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएपछि अहिले सबै जनाको बेनी अस्पतालमा उपचार भइरहेकाे छ । 

याे आर्थिक वर्षमा अहिलेसम्म म्याग्दीमा डेङ्गी रोगका सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ भने १३ जनामा स्क्रब टाइफसको समेत सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये डेङ्गीका २२ जना महिला र १५ जना पुरुष सङ्क्रमित रहेका छन् भने स्क्रब टाइफसको सङ्क्रमण आठ महिला र पाँच पुरुषमा देखिएको सूचना अधिकारी शर्माले बताउनुभयो ।     
    

अन्तिम अपडेट: बैशाख ३, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया