लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार, एक जना फरार

 भदौ ९, २०७७ मंगलबार २०:५०:१९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा रुकुम पश्चिममा प्रहरीले गोली प्रहार गरेको छ । मुसीकोट नगरपालिका ४ को ठाराढुङ्गामा मङ्गलबार बेलुका रुकुम–पूर्वको प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको हो । 

प्रहरीको गोली लागेर मुसीकोट नगरपालिका ११ का २५ वर्षीय निर्मल पुन घाइते भएका छन् । कम्मरमुनि गोली लागेका उनको जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते पुनसँगै त्यही वडाका ३५ वर्षीया लक्ष्मी पुनलाई पनि प्रहरीले पक्राउ गरेको छ । २८ वर्षीय जयप्रकाश पुन भने भागेका छन् ।

कन्ट्रोल डेलिभरीको क्रममा रुकुम पूर्व र रुकुम पश्चिमको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै हातपातको प्रयास गरेकोले गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले बताउनुभयो । 

यसअघि रुकुम पूर्वमा अफिमसहित पक्राउ गरेकाहरुको बयानको आधारमा कारोबारी पछ्याउँदै रुकुम पूर्वको प्रहरी टोली रुकुम पश्चिमसम्म आएको डीएसपी केसीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा आएको प्रहरी टोलीले लागुऔषध कारोबारीको पिछा गरेर पक्राउ गरेको हो । 

रुकुम पश्चिम प्रहरीले लागुऔषधको ओसारपसार र कारोबारीविरुद्ध विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । त्यस क्रममा जिल्लाका विभिन्न स्थानबाट १८ किलो अफिमसहित १५ जनालाई पक्राउ गरिए डीएसपी केसीले बताउनुभयो । 

उहाँका अनुसार विभिन्न स्थानको झण्डै ३० विघा जमिनमा लगाइएको अफिम पनि नष्ट गरिएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया