तीन महिनामै तीन सय खर्बभन्दा धेरैको विद्युतीय कारोबार, ‘प्रविधि प्रयोगमा फड्को’

 भदौ १०, २०७७ बुधबार १२:१३:४३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – लकडाउनका तीन महिनामा तीन सय खर्ब रुपैयाँ भन्दा धेरेको विद्युतीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार लकडाउन यता विद्युतीय कारोबार ७० प्रतिशत भन्दा धेरैले बढेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण नागरिक घरबाहिर निस्कन नपाउँदा यस्तो कारोबार बढेको हो । सुरुमा बाध्य भएर विद्युतीय कारोबारमा प्रवेश गरेका उपभोक्ता अहिले भने यसलाई सुविधाको रुपमा प्रयोग गरिरहेका छन् । 

तीन महिनामा तीन सय खर्ब भन्दा धेरैको कारोबार

वैशाखदेखि असारसम्म लकडाउनका तीन महिनामा तीन सय आठ खर्ब रुपैयाँको विद्युतीय कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । तीन महिनामा सबैभन्दा धेरै  रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत कारोबार भएको छ ।

असारमा मात्रै आरटीजीएस मार्फत एक सय १४ खर्ब ८३ करोड ३० लाख रुपैयाँ कारोबार भएको छ । ईसीसीमार्फत ७ खर्ब ९२ अर्ब, आईपीएसमार्फत दुई खर्ब २३ अर्ब, कनेक्ट आईपीएसमार्फत दुई खर्ब २३ अर्ब रुपैयाँको कारोबार भएको छ ।

असारमै एटीएममार्फत ५४ अर्ब ७६ करोड, मोबाइल बैंकिङमार्फत १८ अर्ब ८३ करोड, इन्टरनेट बैंकिङमार्फत १९ अर्ब, डेबिटकार्डमार्फत २५ अर्ब ८९ करोड, वालेटमार्फत १० अर्ब दुई करोड रुपैयाँ कारोबार भएको छ । चैतदेखि बढेको विद्युतीय भुक्तानी वैशाख र जेठमा निकै बढेको राष्ट बैंकको तथ्यांकले देखाउँछ । वैशाखमा ८ अर्ब रुपैयाँ मोवाइल बैंकिङको कारोबार भएकोमा जेठमा १४ अर्ब र असारमा १८ अर्ब पुगेको छ । 

यस्तै बैसाखमा झण्डै १० अर्बको इन्टरनेट बैंकिङको कारोबार भएकोमा जेठमा १७ अर्ब र असारमा १९ अर्ब पुगेको छ । 

बाध्यताले गर्दा प्रविधिमा फड्को : कार्यकारी निर्देशक भट्ट

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट कोरोनाको महामारीका बेला नागरिकलाई परेको समस्याले प्रविधिमा फड्को मार्ने अवसर दिएको बताउनुहुन्छ । लकडाउनको बेला बाहिर निस्कन डर भएकाले मानिसलाई विद्युतीय कारोबारबारे जानकारी राख्नैपर्ने बाध्यता आइपरेकाले अहिले यसको प्रयोग बढेको उहाँको भनाई छ ।

‘सामान्य अवस्थामा पनि हामीले विद्युतीय कारोबारलाई बढावा दिने नीति नै ल्याएका थियौं, तर लकडाउनका कारण बैंकहरुले पनि विद्युतीय कारोबारबारे ग्राहकलाई धेरै फोर्स गरे, सर्वसाधारणको पनि चासो बढ्यो, अहिले त निकै बढेको छ’ कार्यकारी निर्देशक भट्टले भन्नुभयो ।

तीन सय खर्बभन्दा ठूलो रकम कसरी कारोबार भयो त ? भट्ट भन्नुहुन्छ, ‘तपाइँले एक हजार रुपैयाँको विद्युतीय कारोबार गर्नुभयो भने त्यो धेरै ठाउँमा घुमेको हुन्छ, सबै ठाउँमा कारोबार भएको देखिन्छ, त्यसैले यति ठूलो रकम देखिएको हो ।’

अहिले भइरहेको विद्युतीय कारोबारको बृद्धिले राष्ट्र बैंकलाई निकै उत्साहित बनाएको भट्टको भनाई छ । 

नागरिकमा बानी भइसक्यो, अब झनै बढ्छ : परमेश्वर श्रेष्ठ, ग्लोबल आईएमई बैँक

ग्लोबल आईएमई बैंकको डिजिट बैंकिङ विभागका प्रमुख परमेश्वर श्रेष्ठ अब नेपालमा पनि विद्युतीय कारोबारमा धेरैको बानी नै बसिसकेको बताउनुहुन्छ । विद्युतीय कारोबारमा अभ्यस्त भइसकेपछि मानिसले आफूले नोट बोक्न छाड्ने मात्र होइन, अरुलाई पनि यसका फाइदाबारे बताउँदै गएपछि प्रयोगकर्ता थपिएको उहाँको भनाई छ । 

‘विद्युतीय कारोबार पनि फेसबुक, ट्वीटर चलाएजस्तै हो, त्यसैले यसको प्रयोग दिनानुदिन बढिरहेको छ, नागरिकमा यसको बानी पर्न थालेको, जसले गर्दा विद्युतीय कारोबार झनै मौलाउँदो छ’ श्रेष्ठले भन्नुभयो । 

अहिले विद्युतीय भुक्तानीमार्फत मोबाइल रिचार्जदेखि लाखौंका ठूला कारोबार पनि सजिलै सम्भव भएकाले गर्दा हरेक मानिस यसमा आकर्षित भएको ग्लोबल आईएमई बैंकको डिजिटल बैंकिङ विभागका प्रमुख परमेश्वर श्रेष्ठ बताउनुहुन्छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया