दोलखामा रेबिज लागेको कुकुरले टोकेपछि १६ दिनमा तीन जनाको ज्यान गयो

 भदौ १०, २०७७ बुधबार १४:४५:२ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखामा रेबिज रोग लागेको कुकुरले टोकेपछि १६ दिनको अवधिमा एक बालकसहित तीन जनाको ज्यान गएको छ । गएको असार २६ गते मेलुङ गाउँपालिका वडा नम्बर ५ र ६ का १० जनालाई एउटै कुकुरले टोकेको थियो । 

त्यही कुकुरको टोकाइका कारण मेलुङ गाउँपालिका ६ को तिनपिप्ले गैरीगाउँका ३० वर्षीय युवकको ज्यान गएको छ । असार २६ गते कुकुरले टोकेपछि ललितपुरको पाटन अस्पताल भर्ना हुनुभएका ती पुरुषको उपचारको क्रममा बुधबार बिहान साढे ३ बजे ज्यान गएको हो । उहाँको रेबिज रोगकै कारण ज्यान गएको पुष्टि भएको छ । उहाँलाई भदौ ६ गते शनिबार उपचारको लागि पाटन अस्पताल लगिएको थियो । 

त्यसैगरी असार २६ गते नै त्यही कुकुरले मेलुङ गाउँपालिका ५ का सुँगुरेका १५ वर्षीय किशोेरलाई घरमै बसिरहेको अवस्थामा टोकेको थियो । कुकुरले टोकेपछि कुनै खोप नलगाएका उनलाई भदौ १ गते उपचारको लागि काठमाण्डौ लगिएको थियो । भदौ २ गते उपचारका क्रममा अस्पतालमै ज्यान गएको मेलुङ गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

यस्तै वैत्येश्वर गाउँपालिका ६ का सात वर्षीय बालकको साउन २७ गते नै ज्यान गएको हो । मृतक बालकले दुई पटकसम्म रेबिज रोगविरुद्धको खोप लगाएका थिए । उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा उनको बाटोमै ज्यान गएको थियो । 

असार २६ गते गाउँपालिकाको वडा नम्बर ५ र ६ को विभिन्न स्थानमा पुगेको कुकुरले ६ पुरुष र चार महिलालाई टोकेको थियो । त्यो कुकुरलाई त्यही दिन स्थानीयवासीले मारेका कारण उपचारमा थप समस्या भएको मेलुङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरेराम चापागाईँले जानकारी दिनुभयो । त्यही कुकुरले टोकेका चार जना महिला र तीन जना पुरुषमा अहिलेसम्म कुनै लक्षण नदेखिएको चापागाईँको भनाइ छ । 

कुकुरले टोकेपछि ज्यान गुमाएकामध्ये केहीले गाउँपालिकाको वडा नम्बर ६ मेलुङ बजारमा सञ्चालित एक निजी मेडिकलमा खोप लगाएको बताइएको छ । खोप लगाएर पनि ज्यान गएको भन्दै स्थानीयवासी बुधबार केही बेर आक्रोशित बनेको वडा नम्बर ६ का अध्यक्ष कुसुम लामाले जानकारी दिनुभयो । 

यसैबीच रेबिज लागेको कुकुरको टोकाइबाट १६ दिनको अवधिमा तीन जनाको ज्यान गएपछि यस सम्बन्धमा थप निर्णय गर्न बुधबार मेलुङ गाउँपालिकाको बैठक बस्दैछ ।  

अन्तिम अपडेट: चैत २३, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया