‘परदेशीको पीडा बुझ्दिने कोही छैन’

 भदौ १२, २०७७ शुक्रबार १७:२३:८ | सन्जिता देवकोटा

काठमाण्डौ – काम, कमाइ र भिसा नहुँदा पनि घर फर्कंन नपाउँदा कस्तो होला ?

महिनौंदेखि एउटा सानो कोठामा सात जनासम्म कोचिँदा कति उकुसमुकुस होला ? कतारबाट जेएन पौडेल भन्नुहुन्छ, ‘चिल्ला गाडीमा एसीको चिसोमा हिँड्ने हाम्रो देशका नेताहरुले खाडीमा घर फर्कने दिन कुरिरहेका नेपालीले भोगेका पीडा एकपल्ट भोग्नुपर्छ ।

उहाँको मनमा घरीघरी यस्तै सवालहरु आउँछन् । जो देशमै छन्, भोको पेट बस्न परेको छैन । दुःख साट्ने कोही नहुँदा एक्लै रुन परेको छैन । आफ्ना मानिसको याद आउँदा तस्बिर छुन परेको छैन । उनीहरुलाई के थाहा महामारीमा खाडीमा रोइरहेका नेपालीको व्यथा ? 

सरकारले त बस जहाँ छौ त्यही सुरक्षित भएर बस भनिदिएको छ । कहिले उद्धारको नाममा महंगो भाडा तोकिदिएको छ, त घरी घटाएको छ । आफ्नै खर्चमा म फर्कन्छु भन्नेहरुको आवाज पनि बेवास्ता गर्दै दिनमा पाँच सय जना मात्र फर्कन पाउने भन्दै सङ्ख्या तोकिदिएको छ । 

सरकारको यस्ता थुप्रै अपरिपक्क निर्णयले खाडीमा महिनौंदेखि छटपटाइरहेका जेएनजस्ता हजारौं श्रमिकको पाइला रोकिदिएको छ । उनीहरु न घर फर्कन, सक्छन् न त अब विदेशमा नै शान्तसँग बस्न । जेएनको कतारको भिसा सकिएको तीन महिना भयो । भिसा सकिएपछि काम हुने कुरै भएन । तीन महिनादेखि जेएन घर फर्कने दिन कुरिरहनुभएको छ । तर पालो कहिले आउला त ? 

जेएन बेलाबेलामा दूतावासले घर फर्कनेको नामसहित निकालेको सूची हुर्नुहुन्छ । आफ्नो नाम खोज्नुहुन्छ, अनि अत्तालिनुहुन्छ । कारण उहाँकोभन्दा अघि ९ हजार जनाको नाम छ । सरकारले कतारका लागि उडान सङ्ख्या निकै कम तोकेको छ । औंला भाच्दा अझै ६ महिनापछि आफ्नो पालो आउने अनुमान लगाउनुहुन्छ, उहाँ ।

अझै ६ महिना कतारमा कसरी बित्दा ? कल्पना मात्रै गर्दा पनि अत्यास लाग्छ उहाँलाई । रीसले दिमाग तात्छ । बेलाबेलामा त बेसहारा झैं लाग्छ । तर गर्ने के त ? 

‘ऋण लागोस् तर दिन नलागोस् भन्थे, तर यहाँ त खै के लाग्यो थाहा छैन, ऋण काढेर भए पनि घर जान्छु भनेको हो, सरकारले नै रोक्छ,’ जेएन निराश हुँदै भन्नुहुन्छ, ‘म अझै ६ महिना  के गरेर बसौं त सरकार ?’

समस्याले मात्र होइन, त्यहाँ त सरकारको मर्जी चाहिन्छ । अब गर्ने के जेएनलाई नै थाहा छैन ।

काम भए, कतारमा बस्न मिल्ने भिसा भए, ज्यान पाल्न सक्ने कमाइ भए पनि अझै केही समय कतारमै बस्थें भन्ने लाग्छ जेएनलाई । तर भिसाको अवधि सकियो । करारको अवधि पनि सकियो । कतारी कानुनअनुसार अब घर फर्कनैपर्छ । नभए अब जरिवाना तिर्नुपर्छ । जुन जरिवानामा अहिले ऋण काढेर फर्कनुभन्दा पनि महंगो पर्न सक्छ । तर परिबन्धले घेरेको छ । समस्याले मात्र होइन, त्यहाँ त सरकारको मर्जी चाहिन्छ । अब गर्ने के जेएनलाई नै थाहा छैन ।

कतारमा यस्तो समस्या भोग्नेमा जेएन एक्लो हुनुहुन्न । राजन गोलेको जागिर गुमेको पाँच महिना हुन लाग्यो । सरकारले बनाएको मापदण्ड अनुसार त राजनको वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट उद्धार हुनुपर्ने हो । तर उहाँले त आफैं घर फर्कन्छु भन्दा पनि पाउनुभएको छैन ।

पहिलो काम गुम्यो । दुई महिनाअघि भिसाको अवधि पनि सकियो । काम गुम्नासाथ उहाँले घर फर्कन गर्नुपर्ने प्रक्रिया अनुसार दूतावासमा आफ्नो विवरणसहित फारम भर्नुभएको थियो । घर फर्कनेका सूचीमा दूतावासले राजनको नाम पनि निकालेको छ । तर जहाज चढ्ने पालो आएको छैन । अब त जहाज चढ्नै हैन। पेट भर्नसमेत मुश्किल पर्न थालेको छ । कहिलेसम्म यसरी चल्ला ? राजन भन्नुहुन्छ, ‘त्यो मलाई थाहा छैन, सरकारलाई थाहा होला ।’

कम्पनीले घर जान टिकट ल्याउ भन्छ, कहाँबाट ल्याउनु ?

झापाका सुर्दशन क्षेत्री यूएईमा बेरोजगार भएको पाँच महिना भयो । काम नभए पनि, साथमा एक रुपैयाँ दाम नभए पनि अहिलेसम्म कम्पनीले साथ दिएको छ । खान र बस्न कम्पनीले केही मात्रामा सहयोग गरेको छ । कम्पनी सुर्दशनसहित अन्य नेपालीलाई घर पठाउन तयार छ । टिकटको व्यवस्था गर, लाग्ने रकम व्यर्होछु पनि भनेको छ । तर टिकट नै नपाउँदा उहाँहरु पाँच महिनादेखि घर फर्कन पाउनुभएको छैन । 

‘नियमित उडान भनेको छ, तर एक महिनामा ५, ६ वटा उडान हुँदैछ, अब झन् पालो कहिले आउला ?’ गुनासो गर्दै सुर्दशन भन्नुहुन्छ, ‘मर्नु न बाँच्नु भएको छ ।’

‘एकै दिन यूएईबाट ५, ६ उडान हुँदा त अहिलेसम्म १५ हजार जना फर्किए, त्यसमा म जस्ता महिनौंदेखि घर फर्कने दिन कुरिरहेकाहरु फर्कन पाएनौं, अब नियमित उडान रे, तर उडान तालिका हे¥यो भने दिमागले काम गर्दैन,’ राजु भन्नुहुन्छ । 

यूएईमै सिन्धुधीका राजु थापाको अत्यास पनि उस्तै छ । दिनमा चार्टर्ड उडान नै भए पनि ५, ६ वटा उडान हुँदा पनि घर फर्कने पालो नआउँदा निराश हुनुभएका राजुको आश नियमित उडानको तालिका हेरेपछि झन मरेको छ । 

‘एकै दिन यूएईबाट ५, ६ उडान हुँदा त अहिलेसम्म १५ हजार जना फर्किए, त्यसमा म जस्ता महिनौंदेखि घर फर्कने दिन कुरिरहेकाहरु फर्कन पाएनौं, अब नियमित उडान रे, तर उडान तालिका हे¥यो भने दिमागले काम गर्दैन,’ राजु भन्नुहुन्छ । 

महिनौंसम्म बेरोजगार भएर घर फर्कने दिन कुर्न चुपचाप आफ्नो घरमा बसेजस्तो सजिलो छैन । परदेशी ठाउँ, सबैभन्दा पहिला त पेटले दुःख दिन्छ । पेट भर्न समस्या पर्छ । बस्न जसोतसो कम्पनीको क्याम्पमा पाइहाले त ठिकै हो । नत्र सडककै बास हुन्छ । 

अर्को मुख्य समस्या भिसाको अवधिको हुन्छ । भिसा विना एक दिन बढी बस्दा पनि ओभरस्टे वापतको जरिवाना तिर्नपर्छ । बाहिर निस्कंदा कोरोनाको मात्र हैन, प्रहरीले पक्राउ गर्ने डर हुन्छ । 

कमाउन र सुन्दर भविष्य बनाउन परिवार र देश नै छाडेर परदेश गएकाहरु यस्ता यातना सहेर कहिलेसम्म बस्न सक्लान् ? राजु भन्नुहुन्छ, ‘यहाँको तनाव सहनुभन्दा त मिल्ने भए हामी हिँडेरै आउथ्यौं, तर बाध्यता घर फर्कन जहाजै चढ्न पर्छ ।’

घरव्यवहार, ऋण धन त परको कुरा । अहिले परदेशीलाई सबैभन्दा प्यारो ज्यान छ । ज्यान बाँचे फेरि कमाउँला, आफ्नै पाखापखेरो फोडौंला भन्ने मनस्थितिमा पुगेका छन् धैरै । राजुको पनि सोच यही छ । तर खै, फर्कने दिनसम्म स्वास्थ्य अवस्था कस्तो होला ?

राजु निराश हुँदै भन्नुहुन्छ, ‘घरीघरी त लाग्छ, कोरोना लागेर मरियो भने, सास होइन, लाश पनि घर नजाने भयो ।’

परदेशीको पीडा बुझ्दिने कोही छैन

मलेसियाको जोहरमा काम गर्ने इन्द्र कार्कीको चार महिना भयो काम बन्द भएको  । कोरोनाको कारण मलेसियामा लकडाउन सुरु भएपछि उहाँले काम गर्ने होटल बन्द भयो । होटलले बस्न त दियो । तर खान आफ्नै । काम हुँदा त महिनाको ९ सय रिंगिट तलब आउँथ्यो । कामै नभएपछि तलब कसरी आओस् । चार महिना यसै बस्नु पर्दा यसअघि घर पठाउन भन्दै जम्मा गरेको पैसा पनि सकियो । 

इन्द्रलाई लाग्छ, खाडी र मलेसियामा नेताका छोराछोरी छैनन्, न त आफन्त नै । हुन्थे भने चाडो उद्धार हुन्थ्यो, नभए पनि स्वदेश फिर्तीको लागि सही र व्यवस्थित निर्णय त हुन्थ्यो ।

अब घर आउने उपाय के होला त ? बलरामलाई नै थाहा छैन । भन्नुहुन्छ, ‘परदेशीको पीडा बुझिदिने कोही छैन ।

‘गरिब किसानका छोराछोरीले पसिना बगाउने यो देशमा, हाम्रो पीडा कस्ले बुझ्ने,’ इन्द्र भन्नुहुन्छ, ‘सत्ता त यतिबेला आफ्नै स्वार्थमा रुमलिइरहेको छ, खाडीको गर्मी र भोको पेटमा मर्नेको आँसुले नछुने रहेछ ।’

जसरी हुन्छ इन्द्र घर फर्कन चाहनुहुन्छ । तर खल्ती रित्तो छ । अब त ऋण काढेर घर फर्कन्छु भन्ने आँट पनि सकिएको छ, इन्द्रको । कम्पनीले घर फर्कने टिकट नदिने भनिसकेको छ । 

‘केही गरी घर फर्कने पालो आयो भने पनि पीसीआर परीक्षण गर्ने पैसा छैन, सरकार र दूतावासले हाम्रो पीडा बुझ्ने हैन,’ इन्द्र सोध्नुहुन्छ, ‘यस्तो बेला के गर्ने उपायहरु सरकारले नै भनिदिओस् न ।’

मलेसियामै पाँच महिनादेखि बेरोजगार हुनुभएका बलराम रायको गुनासो पनि उस्तै छ । कम्पनीले नै घर पठाउन कुनै चासो दिएको छैन । 

बलराम भन्नुहुन्छ, ‘कम्पनीले वास्ता गरेन घर जाने कसरी भनेर दूतावासमा समस्या राखेको हो, दूतावासले पनि चासो दिएन ।’ खान छैन, बस्नलाई भिसा छैन । कम्पनीसँग गुनासो गरौं कम्पनी जिम्मेवार छैन ।

अब घर आउने उपाय के होला त ? बलरामलाई नै थाहा छैन । भन्नुहुन्छ, ‘परदेशीको पीडा बुझिदिने कोही छैन ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया