पोखरा विमानस्थलका दुई सय कामदार चीनमै अड्किए, कोरोनाका कारण कयौँ आयोजना धकेलिने, अर्बौँको नोक्सानी

 भदौ १३, २०७७ शनिबार ६:३८:५९ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - कोेरोना महामारी नियन्त्रणको लागि सरकारले लकडाउन गरेको ६ महिना पुगिसकेको छ । चैतको ११ गते लकडाउन सुरु भएकोमा साउनको ६ गतेदेखि लकडाउन खुलेको थियो, तर लकडाउन खुलेपछि सङ्क्रमितको संख्या निक्कै बढ्यो ।

अहिले ५० भन्दा धेरै जिल्लामा पूर्ण या आंशिक निषेधाज्ञा लागू भएको छ, सीमानाकाबाट यात्रु आवतजावतमा रोक कायमै छ । कोरोनाको कारण बन्द रहेका विकास निर्माणका आयोजनामा सरकारले लकडाउन खोलेपछि काम सुरु हुन थालेको थियो, फेरि ठाउँ-ठाउँका निषेधाज्ञा र लकडाउनले गर्दा काम अघि बढ्न सकेको छैन ।  यसले गर्दा ठूला विकास निर्माण आयोजना निकै प्रभावित भएका छन् ।

विमानस्थलका काम ठप्प

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सन् २०२१ को जनवरी अर्थात् सम्झौता अवधिभन्दा ६ महिनाअघि नै सक्ने गरी तीव्र गतिमा भइरहेको थियो । 

कयौँ आयोजना ढिलासुस्ती भइरहेको बेला पोखरा विमानस्थलले भने तोकिएको समयभन्दा चाँडो काम सक्ने लक्ष्यका साथ काम गरेपछि धेरैतिर उत्साह थपिएको थियो । तर कोरोना भाइरसको महामारीका कारण सरकारले लगाएको लकडाउन र अन्य देशले लगाएका नयाँ-नयाँ प्रावधानका कारण यो आयोजना ६ महिनाअघि होइन सम्झौता गरिएको अवधिमा पनि सम्पन्न नहुने अवस्थामा पुगेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले चिनियाँ कामदार तथा प्राविधिक र निर्माण सामग्री तथा उपकरणको अभाव भएको छ । विमानस्थलमा काम गर्ने झण्डै दुई सय कामदार चीनमै रोकिएका छन् । यहाँ काम सकेर चीन जानुपर्ने ५० जना कामदार पनि फर्कन पाएका छैनन । 

‘निर्माण सामाग्रीको अभाव टार्न कोशिस गरिरहेका छौँ तर मुख्य समस्या कामदार र अन्य प्राविधिक आउन नपाउँदा भएको छ, चीनबाट तत्कालै दुई सय जना कामदार आउनुपर्ने छ, उनीहरु नआउँदा काम नै रोकिने अवस्थामा पुगेको छ ।’ विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले उज्यालो अनलाइनसँग भन्नुभयो ।

सरकारले नियमित उडान सुरु गर्ने तयारी गरिरहेको भए पनि भिसामा समस्या हुने देखिएपछि चिनियाँ कामदार ल्याउन समस्या हुने देखिएपछि सहजीकरणको लागि माथिल्लो निकायलाई जानकारी गराएको मुनकर्मीले बताउनुभयो । 

‘लकडाउनपछि केहीसमय हामीलाई सिमेन्टको अभाव भएको थियो, भारतबाट सिमेन्ट नआएपछि नेपाली कम्पनीले नै उत्पादन गरेको सिमेन्ट गुणस्तर जाँच गरेर प्रयोग गर्यौँ, अब त भारतबाट पनि सिमेन्ट आउला’ मुनकर्मीले भन्नुभयो, ‘सीमाबाट सामान आयातमा केही सहज भएको बेला हामीले सामाग्री त आयात गरिरहेका छौं तर जनशक्ति नहुँदा समस्या भएको छ ।’

झण्डै साढे २३ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि काठमाण्डौ विमानस्थलको चाप कम हुने र पर्यटक बढ्ने अपेक्षा लिइएको छ । 

जलविद्युत आयोजनाको हालत उस्तै

भेरी बबई डाइभर्सन, सिक्टा सिँचाइ जस्ता ठूला सिँचाइ आयोजनाको काम पनि प्रभावित भएको छ । जलविद्युत आयोजना पनि उस्तै छन् । माथिल्लो तामाकोसी, मध्य भोटेकोसी, साञ्जेन, रसुवागढी, त्रिशूली थ्री बीलगायतका विद्युत प्राधिकरणले बनाएका र निजी क्षेत्रले बनाइरहेका कयौँ निर्माणाधिन जलविद्युत आयोजनाको काम पनि ठप्प जस्तै छ ।

गएको माघमा चिनियाँ नयाँ वर्ष मनाउन गएका कामदार पनि फर्किएका छैनन्, नाका बन्द भएकाले रसुवागढी हुँदै आउने उपकरण पनि रोकिएका छन् । माथिल्लो त्रिशूली थ्रि बी जलविद्युत आयोजनाका प्रबन्ध सञ्चालक मोहन गौतमले अहिले आयोजनाको काम ठप्प भएको बताउनुभयो । 

‘गएको डिसेम्बर अन्तिममा चिनियाँ नयाँ वर्ष मनाउन गएका ५० जना अझै फर्कन पाएका छैनन, ठेकेदारको प्रमुख र काम गर्ने मुख्य जिम्मेवारी पाएका व्यक्तिहरु नै नफर्कँदा काम शून्य नै छ’ प्रबन्ध सञ्चालक गौतमले भन्नुभयो, ‘अब नेपाल आउनै समस्या छ, भिसाको बारेमा प्रष्ट भएको छैन, नेपाल आउन नपाएपछि उनीहरु अर्कै परियोजनामा गएका हुन सक्छन, त्यसैले अब छिटै उनीहरु आउने र काम पहिलेकै गतिमा सुरु हुने सम्भावना छैन ।’

कोरोनाका कारण आयोजना सम्पन्न हुने समय एक वर्ष पर धकेलिने पक्का भएको उहाँको भनाइ छ । यस्तै माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजनाको काम पनि पूर्ण क्षमतामा चलेको छैन । उपकरण रसुुवागढी नाकामा थन्किएका छन्, जनशक्ति चीनबाट आएका छैनन् । 

‘रसुवागढी नाकामा सामान आएको छ, तर त्यहाँबाट दैनिक उपभोग्य वस्तुबाहेक अरु आयात गर्न पाइएको छैन, चीनबाट आउनुपर्ने ४० जना कामदार र प्राविधिक पनि आउन पाएका छैनन्, यो समस्या हामीले पटक-पटक विद्युत प्राधिकरण र मन्त्रालयमा राख्यौं तर समाधान नै भएको छैन’ साञ्जेन जलविद्युत आयोजनाका प्रमुख किरण श्रेष्ठले भन्नुभयो । 

धेरै आयोजनामा अहिले यस्तै समस्या रहेकाले सरकारले कूटनीतिक पहल गरेर उपकरण र जनशक्ति नल्याउने हो भने आयोजना वर्षौँ पर धकेलिने र अर्बाैँ रुपैयाँको नोक्सानी हुने जोखिम रहेका श्रेष्ठको भनाइ छ । 

सडक आयोजना पनि ठप्प 

सरकारले विकास निर्माणका आयोजनाको लागि कामदार र निर्माण सामग्री ओसारपसार गर्न दिने तथा लकडाउन खुकुलो पार्दा केही सडकको काम सुरु हुन लागेको थियो । तर अहिले ठाउँ-ठाउँमा निषेधाज्ञा हुँदा अघि बढ्न सकेको छैन ।

एक त बर्खाको बेला भएकाले कम मात्रै काम हुन्थ्यो, त्यसमाथि निषेधाज्ञाले गर्दा कयौँ आयोजनाको काम बिथोलिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडक चार लेन बनाउने काम  रोकिएको छ । यसै पनि तोकिएको समयभन्दा नौ महिनापछि काम सुरु भएको यो आयोजना कोरोनाको कारण थला परेको छ । हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण कोरिडोर लगायतका सडकका काम ठप्प जस्तै छन् । नागढुंगा- नौबिसे सुरुङमार्गको काम पनि ठप्प जस्तै छ ।

‘काठमाण्डौका केही ठाउँमा सडक पेटी बनाउने र जुम्ला, सिरहालगायतका केही ठाउँमा सडक मर्मतबाहेक अरु सबै काम ठप्प भएका छन्, ठूला आयोजनामा विदेशी उपकरण र जनशक्तिको अभाव छ, निषेधाज्ञाको कारण साना आयोजनाको काम पनि हुन सकेको छैन ।’ सडक विभागका महानिर्देशक केशव शर्माले भन्नुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया