घरबाहिर निस्किँदा सम्झनुहोस् : तपाईं मात्र ‘नेगेटिभ’, ‘अरु सबै पोजिटिभ’

 भदौ १४, २०७७ आइतबार १४:४४:२४ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) बाट कसरी जोगिने ? अहिले धेरैलाई यही प्रश्नले पिरोलेको छ । केही हप्तायता उपत्यकामा सङ्क्रमणको ग्राफ बढ्दै जाँदा घना बस्तीमा त्रास बढेको छ । अनलाइन र सामाजिक सञ्जालबाट सार्वजनिक हुने विभिन्न सूचनाले नागरिक कोरोनाबाट कसरी जोगिने भन्ने विषयमा सधै ‘कन्फ्युज’ नै देखिन्छन् ।

कोरोनाको लक्षण परिवर्तन हुँदै जाँदा विज्ञका सुझावले समेत ठ्याक्कै मेल खाँदैन । सरकारले कोरोना नियन्त्रणका लागि धेरै काम गरेको बताइरहे पनि समुदायस्तरमा मानिसले व्यवहार परिवर्तन गर्न सकेका छैनन् ।

विश्वव्यापी मान्यताअनुसार नै सरकारले पहिलो चरणमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लकडाउन गर्‍याे । दुईमध्ये एक सक्रिय सङ्क्रमित भएको अवस्थामा गरिएको लकडाउन झण्डै चार महिनापछि हट्यो । सरकारले साउन ६ गते मध्यरातिदेखि लागू हुने गरी पहिलो चरणको लकडाउन अन्त्य गर्‍याे । 

लकडाउन अन्त्य भएसँगै उपत्यकामा सबैजसो बजार पसल खुल्न थाले । उपत्यकामा बजार र पसल खुल्न थालेपछि शटर र डेरामा ताल्चा लगाएर गाउँ पुगेका मानिस फर्किने क्रम बढ्यो । सरकारले सीमामा कडाइ गरेको भनिरहे पनि प्रभावकारी निगरानी नहुँदा उनीहरुसँगै कोरोना पनि उपत्यका छिर्यो । सुरुमा विदेशबाट उडेर मात्र आएको कोरोना पहिलो चरणको लकडाउन खुलेसँगै गुडेर र हिँडेरै मानिससँगै उपत्यका भित्रियो ।

उपत्यकामा सङ्क्रमित धेरै भएका जिल्लाबाट आएका व्यक्तिबाटै कोरोना सरेको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि  गरेको छ । सरकारले उपत्यका जस्तो घनाबस्ती भएको सहरमा कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न प्रक्रिया अपनायो । साउन १५ गते राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका छिर्न यात्रुसँगै गाडीलाई पनि निषेध गर्ने निर्णय गर्यो । सरकारले यस्तो निर्णय गरेपछि नाकासम्म गाडीमा आएर पैदल उपत्यका छिर्नेको भिड बढ्न थाल्यो । सरकारको यो निर्णयले पनि उपत्यकामा सङ्क्रमित थपिने क्रम रोकिएन । स्वास्थ्य मन्त्रालयले गर्ने दैनिक मिडिया बिफ्रिङमा काठमाण्डौमा सङ्क्रमित थपिने क्रम बढिरहेको छ । यस्तो अवस्थामा कोरोनाबाट जोगिने एउटै मात्र उपयुक्त विकल्प आफै सचेत हुनु मात्र हो ।

शङ्का गर्नुहोस् : तपाईँ बाहेक सबै पोजेटिभ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजभण्डारी आफूमात्र नेगेटिभ र अरु सबै पोजेटिभ भएको शङ्का गर्नुपर्ने बताउनुहुन्छ ।

सबैलाई शङ्काको भावले हेर्दा व्यक्तिगत दुरीलगायतका सावधानी अपनाइने हुँदा कोरोना सङ्क्रमणबाट जोगिन शङ्का सकारात्मक हुने उहाँको भनाइ छ । ‘निषेधाज्ञाको समय छ, सकेसम्म घरभित्रै बस्नुहोस् । अत्यावश्यक अवस्थामा बाहिर निस्कनै पर्दा मास्क र पन्जा लगाउनुहोस् । व्यक्तिगत दुरी कायम गर्नुहोस् । घरबाहिर निस्किएपछि सम्झनुहोस्, म नेगेटिभ छु, म बाहेक अरु सबै पोजेटिभ छन् ।’

उपत्यकासहित अहिले देशका केही जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिइसकेको उहाँको भनाइ छ । कोरोना लागेर टोल र समुदाय नै बर्बाद हुन्छ भनेर सोच्नुभन्दा पनि सबै सचेत हुनुपर्ने उहाँको सुझाव छ ।

‘अहिले उपत्यकामा मात्र नभइ बाहिरका केही जिल्लामा पनि कोरोना सङ्क्रमण समुदायस्तरमा पुगिसकेको छ’, राजभण्डारी थप्नुहुन्छ, ‘यो समय टोलका एक जनामा कोरोना पुष्टि भएपछि टोलमा कोरोना फैलिने भयो भनेर समाजले गर्ने व्यवहार नै फरक हुन थालेको छ । एक जनामा सङ्क्रमण हुँदा टोल सखाप भयो, अब बर्बादै हुन्छ भन्ने भ्रम बढेको छ । त्यो चिर्न आवश्यक छ ।’

यस्ता भ्रम चिर्न सरकार र मन्त्रालयमात्र लागेर नहुने उहाँको भनाइ छ । समाजमा बढ्दै गएका भ्रम चिर्नका निम्ति पालिका, समाजका अगुवासँगै सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ । अहिले धेरै मानिस फुर्सदमा छन् । घरमा बसेको बेला अनलाइनमा सत्य सूचना खोजेर पढ्न र अरुलाई सुनाउन उहाँ सुझाव दिनुहुन्छ ।

‘कोरोना सङ्क्रमण एक जना व्यक्तिको कारणले फैलने भन्ने हुँदैन । हामी आफूले पनि कति सावधानी अपनाएका छौँ भन्ने कुरामा भर पर्छ’, निर्देशक राजभण्डारी भन्नुहुन्छ, ‘सञ्चारमाध्यमले पनि सही सूचना दिएर मात्र समुदायलाई जोगाउन सकिन्छ । समाजकै व्यक्तिले पनि यो बेलामा कोरोना भाइरसको बारेमा सही सूचना पढ्ने र अरुलाई सुनाउने काम गर्न सक्छन् । यसले कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्छ ।’

कोरोनाको लक्षण कसरी थाहा पाउने ?

कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा यसका लक्षणसमेत परिवर्तन भइरहेको पाइएको छ । रुघाखोकी लाग्नु र ज्वरो आउनुलाई सुरुमा कोरोनाको लक्षणको रुपमा लिइएको थियो । पछिल्लो समय भने कोरोनाका लक्षण थपिँदै गएका छन् । ज्वरोसँगै खोकी लाग्ने, शरीर गल्ने, आलस्य हुने, थकान धेरै महसुस हुने, खाएको स्वाद नहुने, गन्ध थाहा नपाउने नयाँ–नयाँ लक्षण देखिएका व्यक्तिले कोरोना परीक्षण गराउन उहाँको सुझाव छ ।  

‘शङ्कास्पद लक्षण देखिएकाले परीक्षण गराउनुपर्छ । लक्षण भन्नाले ज्वरो मात्र होइन कि ज्वरोको साथै खोकी पनि लागेको हुन सक्छ । कसैको गन्ध थाहा पाउने क्षमता कम भएको हुन सक्छ, कसैलाई आलस्यता बढेको हुन्छ, थकान धेरै महसुस हुन सक्छ, खाएको स्वाद पनि नहुन सक्छ । यस्तो अवस्थामा कोभिड–१९ हो कि भनेर पीसीआर परीक्षण गराउनुपर्छ । यो परीक्षण नजिकैको अस्पतालमा निःशुल्क हुन्छ ।’

सरकारले कोरोना परीक्षणको जिम्मा पालिकालाई दिएको छ । तर कतिपय सङ्क्रमितले जानकारी गराउँदा पनि परीक्षणको लागि तत्काल पहल नगर्दा जोखिम बढेको पालिकाले गुनासो गरेका छन् । यस्तो अवस्थामा सङ्क्रमित आफै सचेत हुनुपर्ने देखिन्छ ।

एक जनालाई कोरोना पुष्टि भए उसको सम्पर्कका आएका अरु व्यक्तिको पनि कोरोना परीक्षण गर्नुपर्छ । यसको लागि वडास्तरका स्वास्थ्य इकाइसँग सम्पर्क गर्नुपर्छ । सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाको पाँचदेखि सात दिनभित्र पीसीआर परीक्षण गर्नुपर्छ । नजिकको कसैमा सङ्क्रमण देखिएपछि सम्पर्कमा रहेका सबै व्यक्ति आइसोलेट (सावधानी अपनाएर अलग्गै) भएर बस्दा जोखिम कम हुने उहाँको भनाइ छ ।

कोरोना पुष्टि भएपछि के गर्ने ?

समुदायमा कोरोनाको त्रास बढी र चेतना कम देखिन्छ । सामान्य अवस्थामा कोरोना सङ्क्रमण पुष्टि भइसक्दा पनि अस्पताल नै जानुपर्दैन ।  कोरोना सङ्क्रमण पुष्टि भएकामा लक्षण छैन भने घरभित्रै बस्न सकिन्छ । घरमै बस्दा केही कुरामा भने सङ्क्रमित व्यक्ति सचेत हुनैपर्छ । सङ्क्रमित घरमै बस्दा छुट्टै कोठा र छुट्टै शौचालय आवश्यक पर्छ । सङ्क्रमित व्यक्तिमा लक्षण देखिएमा भने अस्पताल जानुपर्ने सुझाव डा. राजभण्डारीको छ ।

‘सङक्रमण पुष्टि भए पनि कुनै लक्षण नदेखिएमा सुरक्षित तरिकाले घरभित्रै आइसोलेशनमा बस्न सकिन्छ । घरमा बस्ने कोठा र शौचालय छुट्टै हुनुपर्छ’, डा. राजभण्डारी भन्नुहुन्छ, ‘लक्षणसहितका सङ्क्रमित छन् भने अस्पताल लैजानुपर्ने हुन्छ, उनीहरुलाई उच्च निगरानीमा राख्नुपर्ने हुन्छ ।’

सरकारको मात्र मुख हेर्नेभन्दा पालिकाले वडास्तरमै आइसोलेशन बनाएर कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास गर्न सक्छन् ।
 
उपत्यकामा सङ्क्रमणको बढ्दो ग्राफ

काठमाण्डौ उपत्यकामा मात्रै झण्डै पाँच हजार जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा मात्रै दुई हजार ६ सय ७० पुरुष र एक हजार दुई सय ९० महिला गरेर तीन हजार नौ सय ६० जनामा कोरोना पुष्टि भएको छ । यस्तै ललितपुरमा तीन सय ३३ पुरुष र दुई सय ७३ महिला गरी ६ सय ६ जना र भक्तपुरमा दुई सय ६३ पुरुष र एक सय ६८ महिला गरी चार सय ३१ जनामा कोरोना पुष्टि भएको छ ।

भदौ महिनाको १३ दिनमा मात्रै काठमाण्डौमा एक हजार पाँच सय ६४ पुरुष र आठ सय २९ महिला गरी दुई हजार तीन सय ९३ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । यस्तै ललितपुरमा एक सय ७६ पुरुष र एक सय ६२ महिला गरी तीन सय ३८ जना तथा भक्तपुरमा एक सय ८८ पुरुष र एक सय ११ महिला गरी दुई सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यो तथ्याङ्कले पनि कोरोनाको सङ्क्रमण उपत्यकामा तीव्र गतिमा उकालो लागेको देखाउँछ ।

सरकारले अहिलेसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पीसीआर परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ३७ हजार तीन सय ४० पुगेको छ । २० हजार पाँच सय ५५ जना सङ्क्रमणमुक्त हुँदा दुई सय सात जनाले ज्यान गुमाएका छन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया