कोरोना महामारीकै बीच बझाङमा नेकपा र कांग्रेसलाई कार्यकर्ता भेला गर्न भ्याइनभ्याइ

 भदौ १४, २०७७ आइतबार १५:५०:५० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहँदा दुई ठूला राजनीतिक पार्टी भने मानिसको समूह भेला गरेर कार्यक्रम गरिरहेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्टीले कोरोना महामारीको अवस्थामा बझाङका विभिन्न पालिकामा पुगेर कार्यकर्ता भेलासहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । यी दुई पार्टी मानिसको भिड जम्मा गरेर कार्यकर्ता भित्र्याउन व्यस्त छन् । 

भदौ महिनायता मात्रै नेकपाले खप्तड छान्ना गाँउपालिका, जयपृथ्वी नगरपालिका, मष्टा गाँउपालिका, थलारा गाँउपालिका र तल्कोट गाँउपालिका गरेर पाँच सय ५० नेपाली कांग्रेसका कार्यकर्तालाई पार्टी प्रवेश गराएको नेकपाका जिल्ला अध्यक्ष मीनबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्लादेखि केन्दीय, प्रदेशस्तरका नेता तथा कार्यकर्ताको सहभागिता हुने गरेको छ । 

यस्तै नेपाली कांग्रेसले जयपृथ्वी नगरपालिका, थलारा गाँउपालिका, खप्तड छान्ना गाँउपालिका र मष्टा गाँउपालिका गरेर ६ सय ३१ जना नेकपा कार्यकर्तालाई पार्टी प्रवेश गराइएको कांग्रेसको जिल्लाका पूर्वसभापति पृथ्वीबहादुर सिंहले बताउनुभयो । जिल्लास्तरकै नेताहरुको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

दुवै पार्टीका नेता भने सरकारले भनेअनुसारको सामाजिक दुरी कायम गर्दै कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गर्दै आइरहेका छन् । तर विभिन्न विद्यालयमा भेलासहित कार्यक्रम सञ्चालन भइरहेका फोटाहरु सामाजिक सञ्जालमा देखिने गरेका छन् । 

यसरी कार्यक्रम सञ्चालन भइरहँदा समेत जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय भने मुकदर्शक बनेर बसेको स्थानीयवासीले आरोप लगाएका छन् । सदरमुकाम चैनपुरमा नै विभिन्न भेलासहित कार्यक्रम हुँदा जिप्रका रमिते बनेको आरोप स्थानीयको छ । 

सर्वसाधारण व्यक्तिले मास्क नलगाउँदा, दुई चार जना जम्मा हुँदासमेत प्रहरी प्रशासनले कारबाही गर्ने चेतावनी दिने गरेको र नेताहरुले गाँउगाँउमा पुगेर ठूलो भिड जम्मा गरेर भेला गराउँदै कार्यक्रम गर्दा पनि प्रशासनले चासो नै नदेखाएको आरोप स्थानीयको छ । 

‘नेताका कारण जोखिम बढ्दो’

कोरोनाको कहर कायमै रहेका बेला गाँउगाँउ डुल्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहँदा जोखिम बढिरहेको छ । विभिन्न सहर, बजार घुम्दै नेताहरु अहिले गाँउगाँउ घुमिरहेका छन् । उनीहरुमा कोरोना सङ्क्रमण देखिए विभिन्न गाउँका नागरिकमा पनि सङ्क्रमण सर्ने जोखिम रहेको विवेकशील साझा पार्टीका जिल्ला संयोजक नगेन्द्र खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अरु सर्वसाधारण काठमाण्डौ तथा बाहिरी जिल्लाबाट आउँदा क्वरेण्टीनमा बस्न लगाउने तर ठूला नेता तथा कार्यकर्ता बाहिर जिल्लाबाट आउँदा क्वारेण्टीनमा नबसेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाँदा यहाँको प्रहरी प्रशासनसमेत रमिते बनेर बस्ने गरेको छ ।’ 

यस विषयमा स्थानीयले पनि सोच्न आवश्यक रहेको खड्काले बताउनुभयो । कोरोनाबाट अवस्था सामान्य भएपछि आमसभा तथा गोष्ठी सञ्चालन गर्न सकिने भए पनि अहिले दुई ठूला दल आ–आफ्नो पार्टीको भेला तथा प्रचारमा लागेको उहाँले भन्नुभयो । अहिले कोरोनाबाट बच्ने उपायलगायतका बारेमा प्रचार गरे राम्रो हुने उहाँको सुझाव छ । साथै खड्काले चुनाव लागेको जस्तै तरिकाले प्रचारबाजी भएको देख्दा आफू अचम्मित भएको समेत बताउनुभयो । 

यता जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले यस विषयमा सक्रियता बढाएको बताउनुभयो । उहाँले जिल्लाका सबै नेता तथा कार्यकर्तालाई भेला र आमसभा केही पनि नगर्न मौखिक तथा लिखित रुपमा भनिएको जानकारी दिनुभयो । 

यसै विषयमा थप छलफल गर्न जिल्लाका सबै दलका नेतासँग आइतबार छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो । केही समयअघि मात्रै जिप्रकाको ६ सय मिटर नजिकै नेकपाले सयौँको उपस्थितिमा कार्यक्रम सञ्चालनसमेत गरेको थियो । 

बझाङमा अहिलेसम्म तीन सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया