शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक सिकाइ नै उपयुक्त

शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक सिकाइ नै अन्तिम उपाय

 भदौ १५, २०७७ सोमबार १०:४०:५८ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - साढे ५ महिनादेखि विद्यालय र कलेज ठप्प छन् ।  कहिलेसम्म खुल्छन् ठेगान छैन । अर्कोतिर क्याम्पस तहको  परीक्षासमेत सञ्चालन हुन सकेको छैन । योसँगै पूरै शैक्षिक सत्र खेर जाने त होइन भन्ने चासो र चिन्ता बढ्न थालेको छ । 

वैकल्पिक माध्यमबाट हुँदै आएका पठनपाठन लम्ब्याउने वा शैक्षिक सत्र नै छोट्याउने भन्ने चर्चा पनि चल्न थालेको छ । शैक्षिक सत्र खेर जान दिन हुँदैन भन्नेमा सबै सहमत छन् ।  तर  शैक्षिक सत्र खेर जान नदिन अपनाउन लागिएको वैकल्पिक सिकाइलाई अझ  कसरी प्रभावकारी बनाउने  भन्ने विषयमा भने विस्तृत छलफल हुन सकेको छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलिया शैक्षिक सत्र कुनै हालतमा खेर जान दिन नहुने बताउनुहुन्छ । यसका लागि शिक्षा मन्त्रालय र विज्ञबीच निरन्तर छलफल भइरहेको छ ।  छलफलमा बैकल्पिक सिकाइलाई मान्यता दिने भन्ने विषय लगभग टुंगिएको उहाँले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, ‘तत्कालको लागि वैकल्पिक सिकाइको विकल्प छैन । अहिले लगभग सबै पक्ष वैकल्पिक सिकाइको माध्यमबाट अगाडि बढ्न सहमत छन् ।’ उहाँका अनुसार अहिले वैकल्पिक शिक्षालाई अगाडि बढाउँदै लैजाने र भोलिका दिनमा स्कुल खोल्ने अवस्था आयो भने त्यहीँबाट कक्षा सुरु गर्न सकिन्छ । सरकारले रेडियो र टेलिभिजनमार्फत् सिकाइ गरिरहेको छ ।'

यसलाई नै मान्यता दिन सकिने उहाँले बताउनुभयो । ‘बरु थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा भने सोचेर अगाडि बढ्नुपर्छ’ उहाँले भन्नुभयो । सामान्य अवस्थाका लागि बनाइएको पाठ्यक्रममा आधारित भएर पढाइ गर्न अहिले सम्भव छैन । अब शैक्षिक क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि विज्ञहरुसँग छलफल चलिरहेको छ । छलफलकै आधारमा अगाडि बढ्ने उहाँले बताउनुभयो । अहिलेसम्मको अवस्था हेर्दा यो वर्ष सम्भवत वैकल्पिक सिकाइबाटै शैक्षिकसत्र पूरा गर्नुपर्ने देखिन्छ । 

सरकारले गएको असार १ गतेदेखि वैकल्पिक शिक्षण सिकाइ सुरु गरेको छ । रेडियो, टेलिभिजन, अनलाइनल र  अफलाइनलगायतबाट समेत विद्यार्थीको शिक्षण सिकाइलाई निरन्तरता दिइरहेको छ । तर, प्रभावकारी रुपमा सिकाइ हुन नसकेको भन्दै आलोचना पनि भएका छन् । सरकारले वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिइरहेको बताए पनि कति विद्यार्थीहरु वैकल्पिक शिक्षाको पहुँचमा छन् वा कति वञ्चित छन् यसको कुनै लेखाजोखा गरिएको छैन । 

निजी विद्यालयहरूले यसअघि नै अनलाइनबाट पढाउन सुरु गरेका थिए । सबै ठाउँका  विद्यार्थीलाई वैकल्पिक शिक्षण सिकाइमा जोड्न कठिन हुने सरोकारवालाहरू बताउँछ्न् ।  महानिर्देशक थपलिया भने कुनै न कुनै अंशको रुपमा सिकाइमा जोडिएको हुनुपर्ने भनिएकाले धेरै विद्यार्थी यसमा सहभागी भएका बताउनुहुन्छ ।  त्यसका लागि विद्यालयहरुले पनि पहल गरिरहेका उहाँको भनाइ छ ।  

सम्बन्धित स्कुलले नै मूल्याङकन गर्ने 

वैकल्पिक सिकाइमा पनि सम्बन्धित स्कुलले नै मूल्याङ्कन गर्न सक्ने महानिर्देशक थपलिया बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बाह्य परीक्षाको मूल्याङ्कनमा अलि कठिनाइ भए पनि आन्तरिक परीक्षामा खासै समस्या हुँदैन ।’ कक्षा ८, एसईई र १२ कक्षाको परीक्षालाई बाह्य परीक्षा मानिन्छ । एसईई टुंगिसकेको छ ।

१२ कक्षाको के कसरी गर्ने भन्ने विषय छलफलकै क्रममा छ । अरु कक्षाको हकमा भने विद्यालयले नै अंक दिने र के कसरी र कति सिकिरहेका छन् भन्नेबारे विद्यालयले नै मूल्याङ्कन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । त्यसकै आधारमा विद्यालयले माथिल्लो कक्षामा लैजान सक्छ ।

बरु छुटेका पाठहरु माथिल्लो कक्षामा नै सिकाउने गरी पनि तयारी गर्न सकिने उहाँले बताउनुभयो । सरकारले सञ्चालन गरेको कक्षा निजी, सरकारी जहाँ सुकै पढ्ने विद्यार्थीले लिन पाउने भएकाले सबैको हकमा लागू हुने उहाँको भनाइ छ ।

कतिपय निजी विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा पनि वैकल्पिक शिक्षामा जोडिने भएकाले त्यसकै आधारमा माथिल्लो कक्षामा सहभागी गराउन सकिने देखिन्छ । सरकारी पक्षले जे जस्तो दाबी गरे पनि सबै ठाउँहरुमा वैकल्पिक सिकाइका लागि उपयुक्त सामग्री पुर्याउन कठिन भएकाले र सबै विद्यालयका शिक्षकहरुमा वैकल्पिक माध्यमबाट कसरी अगाडि बढ्ने भन्ने ज्ञान समेतनभएकाले यसको प्रभावकारितामा भने ढुक्क हुने अवस्था देखिँदैन ।  

पढाउने तरिका बदल्ने अवसर 

कोरोनाका कारण  पढाउने तौरतरिका बदल्ने अवसर आएको शिक्षाविद् डाक्टर विद्यानाथ कोइराला बताउनुहुन्छ । शैक्षिक सत्र लम्ब्याउने वा रद्द गर्नाले विद्यार्थीमाथि अपराध हुने भएकाले पढाउने तरिका फरक गर्नुपर्ने उहाँको भनाई छ । विषयवस्तु नपढाएर अवधारणा पढाएर न्याय गर्न सकिने उहाँ बताउनुुहुन्छ । 

वैकल्पिक शिक्षालाई नै प्रभावकारी बनाउनका लागि ठाउँ-ठाउँमा लाउडस्पिकरहरुसहितका प्रोजेक्टर वा टेलिभिजन राखेर पहुँच नपुगेकालाई पहुँचमा ल्याउनुपर्ने उहाँको सुझाव छ ।  एउटा शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने र १ सय ८० दिन पढाइ हुनुपर्ने भनिएको छ । 

स्कुल नै खुले पनि  त्यो अहिले सम्भव छैन ।  धेरैले वैकल्पिक शिक्षालाई नै आधार मानेर शैक्षिक सत्र पूरा गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा कक्षा १ देखि १२ सम्म झण्डै ७० लाख विद्यार्थीहरू छन् भने थप ७ देखि ८ लाख पूर्वकक्षामा रहेका छन्  ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • Sachin yadav

    Aug. 31, 2020, 1:47 p.m.

    मेरो भनाइमा ऑनलाइन क्लास चलिरहेको ठीक हो तर 12 को परीक्षा भने मूल्यांकनले हुदा ठीक हुन्थ्यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया