नेपालमा काेराेना सङ्क्रमणबाट पहिलाे पटक स्वास्थ्यकर्मीकाे ज्यान गयाे

 भदौ १५, २०७७ सोमबार १९:५८:७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा शिसवा नगरपालिका ४ का ४० वर्षीय हेल्थ असिस्टेन्टको तीन दिनअघि ज्यान गएकाे थियाे । 

कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई उपचारकाे लागि महोत्तरीबाट काठमाण्डाै ल्याउँदै गर्दा काभ्रेकाे भकुण्डेबेसीमा ज्यान गएकाे हाे । गाउँमै औषधि पसल सञ्चालन गरिरहनुभएका उहाँ बिरामीको सेवामा सक्रिय हुनुहुन्थ्याे । 

गएकाे भदौ ७ मा बिरामी परेपछि उहाँको महाेत्तरीमै उपचार भइरहेकाे थियो । तर अवस्था झन् गम्भीर भएपछि थप उपचारकाे लागि उहाँलाई काठमाण्डाै ल्याइँदै थियो । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नगेन्द्रप्रसाद चौधरीले ती स्वास्थ्कर्मीकाे ज्यान गइसकेपछि काठमाण्डाैमै गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको बताउनुभयाे । 

ज्यान गुमाउनुभएका स्वास्थ्यकर्मीमा मधुमेहसँगै पत्थरीकाे पनि समस्या थियो ।   

यसैबीच महोत्तरी प्रशासनले जिल्लाभर आउँदाे भदौ २२ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएकाे छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको समय सोमबार राति १२ बजे समाप्त हुने भएकोले भदौ २२ गते राति १२ बजेसम्मको लागि फेरि निषेधाज्ञा थपिएकाे महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयाे । 
महाेत्तरीमा अहिलेसम्म एक हजार दुई सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने आठ जनाको ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया