अस्पतालमा उपचार पाउनै मुश्किल : स्वास्थ्य मन्त्रालय भन्छ-‘सकेसम्म अस्पताल नजाऔँ’

 भदौ १६, २०७७ मंगलबार ७:१६:२४ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - नवलपरासी पूर्वको कावासोती‍-३ गुम्बाचोकका ५४ वर्षका होमबहादुर गुरुङको आइतबार बिहान ज्यान गयो । 

शनिबार राति ११ बजे कालीगण्डकी अस्पताल कावासोतीमा उपचारका क्रममा समस्या थप जटिल भएपछि उहाँलाई आफन्तले चितवनको भरतपुरमा उपचारका लागि लगे । तर सुविधासम्पन्न मेडिकल कलेज, भरतपुर सरकारी अस्पतालजस्ता अरु धेरै अस्पताल भएको भरतपुरमा उहाँले उपचार पाउनु भएन। 

उपचारमा रहनुपर्ने समयमा होमबहादुरले एम्बुलेन्समा नै अस्पताल चाहार्नु पर्यो । कोरोनाका कारण अस्पताल भरिभराउ भएको भन्दै उहाँलाई भर्ना लिइएन् । उपचारका लागि रातभर डुल्दाडुल्दै आइतबार बिहान होमबहादुरको ज्यान गयो । आफन्तले होमबहादुर जन्डिसको बिरामी रहेका बताएका छन् ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि उपचार नै नपाई ज्यान गुमाउने होमबहादुर एक्ला व्यक्ति भने होइन । यसअघि पनि धेरैले अस्पतालको फन्को मार्दामार्दैै अन्तिम श्वास फेरे । तर उपचार पाएनन् । कोरोना सङ्क्रमण फैलिएपछि यो क्रम अझ बढ्दो छ । 

नुवाकोटकी २८ वर्षकी सुनिता सुवेदी पाँच महिनाको गर्भवती हुनुहुन्छ । काठमाण्डौको थानकोट बसपार्कमा बस्ने उहाँको नियमित स्वास्थ्य जाँच गर्नुपर्ने भए पनि जाँच हुन पाएको छैन । नजिकैको अस्पतालले पहिला जहाँ देखाएको त्यहीँ देखाउन भनेको र पहिले देखाएको अस्पताल टाढा रहेकाले उहाँले गर्भको जाँच गराउन नपाउनुभएको हो । 

सुवेदी भन्नुहुन्छ- ‘पहिले महाराजगञ्जको शिक्षण अस्पतालमा जँचाएको, अहिले थानकोटदेखि कसरी उति टाढा जानु, नजिकैका अस्पतालले हेर्नै मान्दैन ।’

कोरोनामा मात्रै ध्यान केन्द्रीत हुँदा अरु बिरामी समस्यामा

कोभिड-१९ बाहेक अरु पनि यस्ता स्वास्थ्य समस्या छन् जसले जनस्वास्थ्यमा पार्ने प्रभाव धेरै हुन्छ । तर अहिले कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिएकाले पहिलो प्राथमिकतामा कोरोना परेको छ । 

अहिले दीर्घरोग, नसर्ने रोग र भाइरल ज्वरोसँगै निमोनियाका बिरामी बढी समस्यामा परेका छन् । नियमित मिर्गौला डायलासिस गर्नुपर्नेलाई अस्पताल जान आउन नै समस्या छ । अस्पताल पुगिहाले पनि अस्पतालले उपचारमा ध्यान दिँदैन । 

निमोनिया र ज्वरोका बिरामीको लक्षण कोरोनासँग मिल्दोजुल्दो भएकाले झन् उनीहरुको उपचारमा ढिला हुने गरेको छ । कोरोनाको आशंकामा उनीहरु एक अस्पतालबाट अर्कोमा पठाइन्छ । यसले एकबाट अर्को अस्पताल घुमाउँदा घुमाउँदै बिरामीको  ज्यान जाने गरेको घटना बढ्न थालेका छन् । कोरोनाको महामारीमा यस बाहेकका बिरामीको उपचार के कसरी गर्ने भन्नेमा सरकारले व्यवस्थापन गर्न नसक्दा उपचार नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था आएको बिरामीको गुनासो छ  । 

सरकारको फितलो व्यवस्थापन र लापरबाहीका कारण अहिले अन्य रोगका बिरामीमा मानसिक समस्या समेत बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालय भन्छ, ‘सकेसम्म अस्पताल नजाऔँ, केही परे हटलाइनमा फोन गरौँ।’ उपचारविना कोरोना बाहेकका बिरामीको ज्यान जाने घटना बढ्यो नि भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारी भन्नुहुन्छ, ‘हामी बिरामीको स्वास्थ्यप्रति गम्भीर छौँ, तर त्यसो हुँदाहुँदै पनि हामी केही ठाउँमा चुकेका छौं, त्यसलाई सुधार गर्ने प्रयासमा छौँ ।’

उहाँले अस्पताल जानु पहिले आफ्नो स्वास्थ्य र उपचारबारे थाहा पाउन सकेमा बिरामीले बेलैमा उपचार पाउन सक्ने बताउनुभयो । आफूलाई भएको स्वास्थ्य समस्या र अस्पतालबारे इन्टरनेटबाट जानकारी लिन अधिकारीको आग्रह छ । 

‘अहिले सबैजसो सरकारी अस्पतालले आफ्नो वेबसाइटमा हटलाइन नम्बर राखेकाले बिरामीले समस्या पर्नासाथ अस्पतालको वेबसाइटमा गएर त्यहाँ राखिएको नम्बरमा फोन गरेर आवश्यक सल्लाह लिन सक्छन्’, अधिकारीले भन्नुभयो ।

समय र परिस्थिति अनुसार बिरामीले प्रविधिको प्रयोगमार्फत आफ्नो स्वास्थ्यको ख्याल गर्न सक्ने अधिकारीको भनाई छ । नियमित उपचार गराइरहेको अस्पतालका स्वास्थ्यकर्मीसित भिडियो च्याट वा भाइबरमा जोडिएर पनि उपचार लिन सकिने डाक्टर समिर अधिकारीले बताउनुभयो । 

तर सबै बिरामीको पहुँच प्रविधिमा छैन । प्रविधिमा पहुँच नभएकाहरुले परिवारका सदस्यलाई सुरक्षित तरिकाले विज्ञसँग सल्लाह र सुझावसँगै औषधि ल्याउन सक्छन् । विशेषगरी दीर्घरोगीले तीन चार महिनालाई पुग्ने औषधि एकै पटक किन्नुपर्ने डाक्टरको सुझाव छ ।

दीर्घ रोगीलाई अस्पतालमा कोरोना सङ्क्रमण हुन सक्ने जोखिम धेरै भएकाले सकेसम्म अस्पताल नजान र हट लाइन नम्बरमार्फत नै सेवा लिन स्वास्थ्यमन्त्रालयले आग्रह गरेको हो ।

औषधि र व्यायामलाई नियमित गरौँ 

कोरोनाबाहेकको स्वास्थ्य समस्या देखिएका बिरामीले औषधिसँगै खानपान र व्यायामलाई ध्यान दिनुपर्ने डाक्टरले बताएका छन् । डाक्टर शेनेन्द्रराज उप्रेतीकाअनुसार खानपान, औषधि र व्यायाममा ध्यान दिन सकियो भने रोगलाई नियन्त्रण गर्न सकिन्छ । 

डाक्टरले तोकेको समय तलमाथि नगरी औषधि खान र स्वस्थ्य आहार गर्न डाक्टर उप्रेतीको सुझाव छ । यस्तै, बिहान एक दुई गिलास मन तातोपानी पिएर कम्तीमा पनि आधा घण्टा शरीरलाई असर नपर्ने गरी व्यायाम गर्न उहाँको सल्लाह छ । दीर्घरोग भएका र ज्येष्ठ नागरिकलाई कोरोनाको सङक्रमण हुने जोखिम धेरै नै भएकाले सकेसम्म अस्पताल वा स्वास्थ्य संस्था नजान उहाँको पनि आग्रह छ ।  

बिरामीले मनोबल घटाउन नहुने र मानसिक रुपमा कुनै कुराले सताएको छ भने बेलैमा फोन, च्याट वा भाइबरबाट मनोपरामर्श लिनुपर्ने उहाँको भनाइ छ । 

कोरोनाको बहानामा उपचार नगर्नेलाई कारबाही हुन्छ

स्वास्थ्य मन्त्रालयले कोरोनाको बाहनामा उपचार नगर्ने अस्पताल र स्वास्थ्यकर्मीलाई कारबाही हुने जनाएको छ ।

बिरामीले उपचार नपाए मन्त्रालयको ११३३ र १११५  नम्बरमा फोन गर्न सक्ने र स्थानीय प्रशासनमा पनि फोन गरेर गुनासो टिपाउन सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारी बताउनुहुन्छ । 

अन्य रोगका बिरामीलाई कोरोनाको आशंका गर्दै धेरै अस्पतालले उपचार नगरी घर फर्काइदिएका गुनासो आएकाले स्वास्थ्य मन्त्रालयले निगरानी थालेको पनि उहाँको दाबी छ ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै सबै अस्पताल र स्वास्थ्य संस्थालाई उपचारलाई निरन्तरता दिन निर्देशन पनि दिएको थियो । तर यो निर्देशनको धेरैले पालना गरेका छैनन् । जसले गर्दा कोरोना भाइरसको सङ्क्रमितबाहेकका बिरामीले उपचार पाउन नै सकेका छैनन् । अस्पतालको चक्कर लगाउँदा-लगाउँदै ज्यान गुमाउनुपर्ने अवस्था छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया