सेती अस्पतालकी कर्मचारी भन्छिन्, ‘श्रीमानकाे जागिर गुम्याे, म सङ्क्रमित भएँ, छोरी कसरी पाल्ने ?’

 भदौ १६, २०७७ मंगलबार १४:२७:४१ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिका १४ की २७ वर्षीया महिलाले कोरोना महामारीपछि सेती अस्पतालमा काम गर्न थालेकी हुन् । अस्पतालले आइसोलेशन वार्डमा आठ जना सरसफाइ कर्मचारी भर्ना गर्दा उनले पनि गएको वैशाखमा जागिर पाइन् ।  

‘सात वर्षीया छोरीलाई घरमै छोडेर उनको पालन पोषणका लागि खर्चको जोहो गर्न महामारीका बेला सरसफाइको काम गर्नु रहर नभएर बाध्यता थियो’, उनले भनिन्, ‘सबैतिर महामारी फैलिएका बेला कोरोनाका बिरामी भर्ना हुने आइसोलेशनमा सरसफाइको काम थाल्दा मनमा भय भए पनि विपन्नता मेरो ठूलो बाध्यता थियो ।’

वैशाखदेखि एक महिना आइसोलेशन र एक महिना अन्य वार्डको सरसफाइ गर्ने कार्यतालिका निर्धारण गरेर उनीहरुलाई अस्पतालले काममा खटाएको थियो । आइसोलेशनको सरसफाइ गर्ने एक महिने ड्युटी सकेर कोरोना परीक्षणपछि मात्र उनीहरुले अन्य वार्डको सरसफाइ गर्न पाउँछन् । 

तर कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि ती महिला पनि अन्य सङ्क्रमित राखिएको आइसोलेशनमा भर्ना भइन् । अस्पतालले कोरोना पोजेटिभ देखिएको रिर्पोट थमाए पनि उनमा स्वास्थ्य समस्या भने छैन । ‘स्वास्थ्यमा त्यस्तो समस्या त केही छैन । तर मन आत्तिँदो रहेछ’, उनले भनिन्, ‘रिर्पोट पोजेटिभ आयो भन्दा मन आत्तियो तर मसँगै काम गर्ने दिदी पनि सङ्क्रमित भएकाले खासै पीर लागेन । अहिले हामी छुट्टै बसेका छौँ ।’

ती महिलाका श्रीमान् कोरोना महामारीपछि मात्र भारतबाट फर्किएका थिए । श्रीमानको रोजगारी गुमेपछि घर खर्च धान्न ती महिलाले सेती अस्पतालमा सरसफाइ कर्मचारीको रुपमा काम गर्न थालेकी थिइन् ।अहिले श्रीमान् र छोरी घरमै रहेको उनले बताइन् ।  

‘श्रीमानको रोजगारी गुमेपछि खर्चको जोहो गर्न सरसफाइको काममा लागेकी थिएँ तर म आफै सङ्क्रमित भएँ । अब कसरी दैनिकी चलाउने ? छोरीलाई कसरी पाल्ने ?’ उनले भनिन् । 

तर स्वास्थ्यमा कुनै खालको समस्या नभएकाले कोरोनालाई जितेर फेरि काममा फर्किने विश्वास उनमा छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया