ग्यारेजमा गाडी थन्किएपछि आम्दानीको बाटो रोकियो, रोगको भन्दा भोकको चिन्ता

 भदौ १७, २०७७ बुधबार ७:१०:५६ | जानुका दुवाडी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सिन्धुपाल्चोकका श्रीकृष्ण खत्री १८ वर्षदेखि बस चलाउनुहुन्छ । काठमाण्डौबाट रामेछाप, जिरी लगायतका ठाउँमा उहाँका बस गुड्छन् । खत्रीले लकडाउन अगाडिसम्म गाडी चलाएर राम्रैसँग कमाइ गर्दै आउनुभएको थियो । तर लकडाउनपछि भने बस नचल्दा कमाई पूरै ठप्प छ । पूर्व अरनिको यातायातको बस चलाउँदै आउनुभएका उहाँलाई अहिले बस ग्यारेजमा थन्किएपछि गुजारा चलाउनै गाह्रो भएको छ । 

लामो दूरीका बस नचलेको ६ महिना भयो । ६ महिनासम्म बस नचल्दा श्रीकृष्णलाई छटपटी भएको छ । ‘अलिअलि बचत भएको पैसा सकियो । अब कसरी गुजारा गर्ने ?’ उहाँले विकल्पै भेट्नुभएको छैन । १८ वर्षको अवधिमा यति ठूलो संकट उहाँलाई कहिल्यै आएको थिएन । भूकम्पको बेलामासमेत यस्तो अवस्था महसुस नगरेका उहाँ अहिले निकै निराश हुनुभएको छ । 

भक्तपुरको गठ्ठाघरमा उहाँसहित ४ जनाको परिवार कोठा भाडामा लिएर बस्छ ।  तर परिवारमा कमाई उहाँको मात्रै हो । अझै यो महिना सार्वजनिक यातायात चलाउन नपाउने सरकारले घोषणा गरिसक्यो । अर्को महिना पनि गाडी चल्छ नै भन्ने छैन । 

१५ वर्षदेखि टेम्पो चलाउँदै आएकी धादिङकी कुमारी लामा पनि लकडाउन भएदेखि नै बेरोजगार हुनुहुन्छ । काठमाण्डौको च्यासलमा भाडामा बस्ने उहाँलाई दैनिकी चलाउन समस्या हुन थालेको छ । श्रीमान वैदेशिक रोजगारीमा हुनुहुन्छ । विदेशमा पनि कोरोनाका कारण राम्रो काम र कमाई छैन । 

कोरोना कहर सुरु हुनु पहिले कमाइ ठिकै भइरहेकै थियो । तर अहिले टेम्पो नचल्दा भने उहाँलाई रातमा निद्रासमेत लाग्न छोडेको छ ।

‘सुरुमा नै यही काम गरे ।  त्यही भएर अरु काम गर्न पनि आउँदैन । फेरि यस्तो बेलामा के काम खोजेर गर्नु ?’ उहाँ भन्नुहुन्छ ‘पछिल्लो समय धेरै टेम्पो चलाउने महिलाहरु छन् । रहरभन्दा पनि बाध्यताले चलाउनेहरु धेरै छन्  । यति लामो समय सार्वजनिक गाडी नचल्दा उनीहरुलाई झन् कति समस्या भएको होला ?’ 

वर्षौंसम्म अर्काको टेम्पो चलाउँदै आउनुभएकी उहाँले ऋण काडेर टेम्पो किन्नुभयो । तर किनेको टेम्पो थन्क्याएर राख्नुपरेपछि भने उहाँ निराश हुनुहुन्छ । नयाँ टेम्पोको पाटपुर्र्जा बिग्रिन लागिसके । टेम्पोको ब्याट्री भर्खरै मात्रै ९ लाख रुपैयाँ खर्च गरेर किन्नुभएको थियो । चलाउन नपाउँदै थन्क्याउनु परेपछि बिग्रने पो हो कि भनेर उहाँलाई चिन्ता लागिरहन्छ । नयाँ ब्याट्री किनेको १५ दिनमै लकडाउन भयो । 

कुमारीको ५ जनाको परिवार छ । छोराछोरी ११ र १२ कक्षामा पढ्छन् । कलेजले लकडाउनको समयको पनि शुल्क मागेको उहाँ बताउनुहुन्छ ।

‘कसरी तिर्ने ? एक रुपैयाँ आम्दानी छैन ।’ भन्नुहुन्छ,‘रोगलेभन्दा भोकले मर्नुपर्ने अवस्था आयो’

६ महिनाभन्दा बढी समयसम्म गाडी नचल्दा यातायात मजदुर भोकले मर्ने अवस्था आएको अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसी बताउनुहुन्छ । रोग, भोक, अभाव र ऋणको जालोमा यातायात मजदुर परेका छन् । धेरैलाई मानसिक समस्या बढेको छ ।

कोरोनाका कारण अरु क्षेत्र पनि प्रभावित त भएको छ, तर यातायात मजदुर जति समस्यामा कोही नपरेका उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘सरकारले अहिलेसम्म एक दाना चामलसमेत सहयोग गरेको छैन ।’ 

काम गर्न नपाएपछि ऋणमा गाडी लिएका व्यवसायीलाई ब्याज र किस्ता तिर्न मुश्किल भएको उहाँले बताउनुभयो । आफ्नै गाडी भएकामध्ये ९० प्रतिशत व्यवसायीले बैंकबाट कर्जा लिएका छन् । अहिले गाडी ठप्प भएपछि दैनिक मजदुरी गरेर खाने व्यवसायीहरुको रोजीरोटी नै गुमेको र दैनिक जीवन चलाउन नै समस्या परिरहेको बेला बैंकको किस्ता र ब्याज चलाउन नसक्ने अवस्था आएको छ ।

यातायात मजदुरको स्वास्थ्य बीमासमेत भएको छैन । बीचमा केही दिन सार्वजनिक गाडी खुल्यो । त्यसमा पालिकासँग समन्वय गरेर स्यानिटाइजर लगायतका सुरक्षाका उपायमा सहयोग गर्ने भनियो, तर त्यो हुन सकेन । तत्काल सुरक्षाका उपाय अपनाउँदै सार्वजनिक गाडी सञ्चालन गर्न दिनुपर्ने केसीको भनाई छ । यात्रुलाई दूरी कायम गराउने, हात धुने, मास्क पञ्जासहित सुरक्षा सावधानी अपनाएर व्यवस्थित बनाएर गाडी चलाउन सकिने उहाँ बताउनुहुन्छ । भिडभाड नगर्ने, सतर्कता अपनाउने, सिटमा गएर अलग्गै बस्ने लगायतका सुरक्षा उपाय अपनाउन सकिने उहाँको भनाइ छ । 

यातायात मजदुर पलायन हुने अवस्थामा 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला  अहिले यातायात मजदुर एकदमै समस्यामा परेको बताउनुहुन्छ ।  सार्वजनिक गाडी नचल्दा १० लाख यातायात मजदुर समस्यामा परेका उहाँले बताउनुभयो । ‘चालक, सहचालक र काउन्टर कर्मचारी गरेर झण्डै १० लाख यातायात मजदुर र उनीहरुसँग आश्रित झण्डै ४० लाख जना समस्यामा परेका छन् । बीचमा  घर गएकाहरु प्नि यातायात सञ्चालन हुन्छ भनेर फर्किए । अहिले उनीहरु झन् अलपत्र परेका छन्’ उहाँले भन्नुभयो ।

यातायात क्षेत्रमा झण्डै ८ खर्ब बैंकको लगानी छ । यातायात व्यवसायी उठ्न सकेनन् भने, यातायात मजदुर पलायन हुनुको साथै बैंकहरु पनि थला पर्ने सिटौलाले बताउनुभयो । खाद्यान्न, निर्माण सामग्री लगायत सामान बोक्ने गाडी केही चलेका छन् ।  यात्रुबाहक गाडी अझै केही महिना नचल्ने हो भने यो क्षेत्र नै धरासायी बन्ने सिटौलाले बताउनुभयो । गाडीका पाटपुर्जा सबै जीर्ण भइसकेका छन् । ब्याट्री ड्यामेज भएका छन् । इञ्जिन बिग्रिएका छन् । 

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा व्यवसायीको अपेक्षा अनुसार सरकारले कोरोनाको प्रभावका कारण रोकिएका सार्वजनिक यातायातलाई राहत दिने घोषणा गर्यो । तर व्यवसायीले भने चित्त बुझाएका छैनन् । बजेटमा यातायात क्षेत्रमा परेका प्रभाव कम  गरी पुनः सञ्चालनका लागि बैंक कर्जामा सहुलियत, रुट परमिट र नवीकरणमा छुट दिने व्यवस्था मिलाइएको छ । तर अरु क्षेत्रमा जसरी प्रतिशतमा सहुलियतको घोषणा गरियो त्यसरी यातायातको क्षेत्रमा नगरिएको व्यवसायीको आरोप छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया