रेसुङ्गा विमानस्थल : टर्मिनल भवन र कन्ट्रोल टावरको शिलान्यास

 भदौ १७, २०७७ बुधबार १९:२१:३१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकामा निर्माणधीन रेसुङ्गा विमानस्थल आउँदाे वर्ष पूरा हुने भएको छ । अहिले विमानस्थलमा भौतिक संरचनाका कामहरु सुरु गर्न थालिएपछि स्थानीयमा आउँदाे वर्ष विमानस्थलकाे निर्माण सम्पन्न हुने आशा जागेको हो । 

विमानस्थल निर्माण सम्पन्न गर्न धावन मार्गको कामसँगै आवश्यक पर्ने टर्मिनल भवन, यात्रु प्रतिक्षालय, कन्ट्रोल टावर, टिकट काउन्टर लगायतका भौतिक संरचना निर्माणको काम सुरु गर्न लागिएको हो । जस अन्तर्गत विमानस्थलको महत्त्वपूर्ण संरचना निर्माणका लागि बुधवार रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा भवन र टावरको शिलान्यास गर्नुभएको हो  ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि चार करोड ५२ लाख नौ हजार ६ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको श्रेष्ठ कन्सट्रक्शनका प्रोप्राइटर हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इन्जिनियरिङ विभागमार्फत बिकोई श्रेष्ठ कन्सट्रक्शन जेभीले निर्माणको जिम्मा पाएको छ ।  

निर्माण सम्पन्न गर्ने जिम्मा लिएको कन्सट्रक्शनले भवन र टावरको काम २०७८ असोज ३ गते सम्पन्न गर्नुपर्ने छ । कोभिडको सङ्क्रमण नबढेमा सम्झौताको सम्पन्न मिति अगाडि नै काम सम्पन्न गर्ने कन्सट्रक्शनका सञचालक हरिकुमार श्रेष्ठले बताउनुभएको छ । 

टर्मिनल भवन र कन्ट्रोल टावरको शिलान्यास गर्दै रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । भुसाल र शर्माले अहिले पनि कोभिडको कारण निर्माणको काम र ढुवानीमा जिल्लामा कुनै अवरोध नभएको भन्दै व्यवसायीलाई काममा कुनै समस्या नहुने बताउनुभयो । 

रेसुङ्गा विमानस्थल निर्माणको काम २०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नुभएको थियो । विगतमा विमानस्थल निर्माणको कामले उल्लेखनीय रुपमा गति लिन नसके पनि पछिल्लो समय ज्ञवालीले विमानस्थल निर्माणको काममा विशेष चासो देखाएको कारण आउँदाे वर्षसम्म सबै काम सम्पन्न गर्ने विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनुभयो । 

विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार अहिलेसम्म जग्गा अधिग्रहण, कटिङ, फिलिङ, टेवा पर्खाल र बाह्य ढल निर्माणको काम गरेर विमानस्थल निर्माणको काममा २१ करोड रुपैयाँ खर्च भइसकेको छ । अहिलेसम्मको खर्च हिसाबले आर्थिक तथा भौतिक रुपमा विमानस्थलको ४५ प्रतिशत काम सम्पन्न भएको परियारले बताउनुभएको छ । 

कोरोना कहरका बीच पनि गुल्मीमा निर्माणाधीन रेसुङ्गा विमानस्थलको निर्माण कार्य अगाडि बढेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावका कारण मजदुर र निर्माण सामग्रीलगायतको अभावका बीच पनि निर्माण व्यवसायीले विमानस्थल निर्माणको कामलाई तीव्रता दिएका छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया