यस्तो देखियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (फाेटाे फिचर)

 भदौ १८, २०७७ बिहिबार १८:५२:१ | सुमन गुरुङ
unn.prixa.net

कास्की – राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६३ प्रतिशत निर्माण कार्य सकिएको छ । 

अहिलेसम्म विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मर, ह्याङ्गर, लाइटिङका काम सकिएको हो । गाडी गुड्ने रोड, एक्सेस रोड र टर्मिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ । 

कार पार्किङको काम पनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले बताउनुभयो । माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ । 

अहिले दुई सय ३० चिनियाँ र एक सय २० जना नेपाली कामदारले दैनिक काम गरिरहेका छन् ।  विमानस्थलको काम तोकिएको समयभन्दा अगाडि नै सक्ने योजना भए पनि कोरोना महामारीका कारण असर परेको प्रमुख मुनाकर्मीको भनाइ छ । 

केही समय अगाडिसम्म सामान आउनै समस्या रहेको थियो । तर पछिल्लो समय सामान आइरहेको उहाँले बताउनुभयो । कोरोना महामारीको कारण चिनियाँ कामदार नेपाल आउन समस्या भएको उहाँको भनाइ छ । ‘अन्तर्राष्ट्रिय उडान मात्र खुलेर भएन, उताको भिसाको पक्रिया पनि मिलाउनुपर्ने हुन्छ’, उहाँले भन्नुभयो, ‘यसको लागि पनि हामीले प्रक्रिया अगाडि बढाएका छौँ ।’ 

चिनियाँ कामदार समयमै आउन पाउने हो भने तोकिएकै समयमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख मुनाकर्मीको भनाइ छ । ‘कामदार आउन ढिलाइ भयो भने केही पछाडि धकेलिन्छ, ढिलो नहोस् भनेर हामीले अहिले देखि नै प्रक्रिया अगाडि बढाएका छौँ’, उहाँले भन्नुभयो । 

चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर यो विमानस्थल बनाउन सुरु गरिएको हो । विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० वा त्यो सरहका जहाज आउजाउ गर्न सक्ने बताइएको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा बनिरहेको विमानस्थलको सन् २०२१ भित्र निर्माण सकेर उडान सुरु गर्ने लक्ष्य लिइएको छ । 

विमान अवतरणमा समस्या देखिने भएपछि विमानस्थलको दक्षिण–पूर्वी भागमा रहेको रिठ्ठेपानी डाँडा पनि कटानको काम चलिरहेको अवस्थामा वर्षाले गर्दा त्यो काम रोकिएको मुनाकर्मीको भनाइ छ । त्यो डाँडामा सरकारी वनको रुखमा टाँचा लगाउने काम भइरहेकोले केही समयपछि त्यो काम पनि अगाडि बढ्ने मुनाकर्मीले जानकारी दिनुभयो । 

तस्बिर : सुमन गुरुङ 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया