यूएईबाट दैनिक ५ उडानको माग गर्दै ४४ संघसंस्थाले बुझाए प्रधानमन्त्रीलाई सामूहिक पत्र

 भदौ १९, २०७७ शुक्रबार १०:३५:८ | उमाकान्त पाण्डे

यूएई – संयुक्त अरब एमिरेट्स (यूएई)मा क्रियाशिल ४४ वटा सामाजिक संघसंस्थाहरुले सामूहिक रुपमा प्रधानमन्त्रीलाई पत्र लेखेका छन् ।

उनीहरुले यूएईबाट नियमित रुपमा दैनिक ५ वटा उडान हुनुपर्ने माग राख्दै प्रधानमन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीलाई सम्बोधन गरेर पत्र लेखेका हुन् ।

नेपाली दूतावास अबुधावीमार्फत सरकारलाई पठाइएको पत्रमा चार लाखभन्दा बढी नेपालीहरु कार्यरत रहेको यूएईमा ५० हजारभन्दा बढीले नेपाल फर्कन चाहेको उल्लेख गरिएको छ । १५ हजारभन्दा बढी नेपाल फर्किएको र अझै ३५ हजारभन्दा धेरै नेपाली देश फर्किन नपाएर अलपत्र परेको उल्लेख गरिएको छ ।

यूएईको सबैभन्दा पुरानो संस्था नेपाली समाजको नेतृत्वमा ४४ संघसस्थाले संयुक्त रुपमा हस्ताक्षरसमेत पठाएका छन् । नेपाली समाजका अध्यक्ष गोबिन्द ढकाल र महासचिव बेदप्रसाद अर्यालद्वारा हस्ताक्षर गरी प्रेषित पत्रमा सामान्य अवस्थामा महिनाको ४ सय उडान हुने देशबाट नियमित उडानको नाममा १८ वटा मात्रै उडान अपुग भएको भन्दै दैनिक कम्तिमा ५ उडान हुनुपर्ने माग गरिएको छ ।

साथै पत्रमा आममाफीको समय पनि सकिन लागेकाले तत्काल केही समयका लागि कम्तिमा मासिक डेढ सय उडान हुनुपर्ने समाजका महासचिव वेदप्रसाद अर्यालले बताउनुभयो । समाजका अध्यक्ष गोविन्द ढकालले सरकारलाई दबाब स्वरुप सघंसस्थाले सामूहिक रुपमा ऐक्यबद्धता जनाएर संयुक्त पत्र लेखेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया