भूकम्पले क्षतविक्षत अर्चले गाउँ एकीकृत नमूना बस्तीमा स्थानान्तरण हुँदै

 भदौ १९, २०७७ शुक्रबार २०:३४:३७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – विसं. २०७२ को महाभूकम्पका कारण क्षतविक्षत बनेको पर्वतको अर्चले गाउँ एकीकृत नमूना बस्तीका रुपमा स्थानान्तरण हुने तयारीमा रहेको छ । महाभूकम्पको पाँच वर्षपछि घर निर्माण सम्पन्न भएसँगै बस्ती स्थानान्तरण हुने भएको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई पर्वतले पर्वतको फलेवास नगरपालिका ८ ठानामौलाको अर्चले बस्ती स्थानान्तरणका लागि २०७५ साउन देखि काम शुरु गरेको हो । कामको शुरुवात सँगै भूकम्पबाट बस्नै नमिल्ने अवस्थामा पुगेका अर्चले गाउँका २० परिवार स्थानान्तरण गर्ने काम अघि बढेको थियो ।

भूकम्पबाट पूर्ण क्षति व्यहोरेका २० परिवारहरु अहिले अर्चले गाउँबाट स्थानान्तरण भइसकेका छन् । भूकम्प गइसकेपछि पनि निरन्तर जमिन फाट्ने र पटक पटक पराकम्पन आउने समस्या भएपछि त्यही समयमा भूगर्भविद्को टोलीले बस्ती स्थानान्तरणको सुझाव दिएको थियो । पुनर्निर्माण प्राधिकरणले काम शुरु गरेपछि बस्ती स्थानान्तरणको काम अघि बढेको हो ।

जस अनुसार पीडित २० परिवार मध्ये १२ परिवार एकीकृत आवास निर्माण गरी बसोबास गर्न थालेका छन् भने तीन परिवार गाउँबाटै अन्यत्र सुरक्षित स्थानमा जग्गा खरिद गरेर बसोबास गर्दै आएका छन् । अन्य ५ परिवार आफनै सुरक्षित बासस्थानमा बसोबास गर्दै आएका छन् ।

प्राधिकरणले १२ परिवारका लागि बस्ती विकास कार्यक्रम अन्तर्गत जग्गा खरिदका लागि २४ लाख रुपैयाँ, आवास निर्माणका लागि ३६ लाख र स्थानीय पूर्वाधार विकासका लागि ४८ लाख रुपैयाँ विनियोजन गरी काम गरिरहेको छ । 

जिल्ला पुनर्निर्माण प्राधिकरणका कर्मचारी बालकृष्ण शर्माका अनुसार अहिले १२ परिवार बसोबासका लागि ३४ रोपनी जग्गा खरिद गरी आवास निर्माण कार्य सम्पन्न भइसकेको छ । 

‘हामीले २०७५ साउन देखि जग्गा खरिद प्रक्रिया सकेर बस्ती निर्माणमा जुटेका हौँ, अहिले आवास निर्माण तर्फको काम सबै सकिएर बसोबास गर्न शुरु भएको छ’ उहाँले भन्नुभयो, ‘स्थानीय पूर्वाधार अन्तर्गतका मोटरबाटो, गोरेटो बाटो, सामुदायिक भवन लगायतका काम गर्न बाँकी छन् र बन्ने चरणमा रहेका छन्’

आवास निर्माणका लागि ३६ लाख रुपैयाँ र स्थानीय पूर्वाधार विकासका लागि ४८ लाख रुपैयाँ विनियोजन गरी काम अगाडि बढीरहेको उहाँले बताउनुभयो ।

शर्माका अनुसार अहिले मोटरबाटो र सामुदायिक भवन निर्माण कार्य भइरहेको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइबाट भूकम्पपीडित सम्बन्धि भएको कार्य अन्तर्गत एकीकृत बस्ती निर्माण कार्य नमूना कार्यका रुपमा स्थापित गर्न सकिएको उहाँले बताउनुभयो । 

जीवन फेरिने आशामा अर्चलेबासी 

फलेवास नगरपालिका ८ ठानामौलाको अर्चले बस्ती दलित समुदायको बाहुल्यता भएको बस्ती हो । २०७२ को भूकम्पले घरहरु पूर्ण रुपमा क्षति भएपछि समस्यामा परेका यहाँका बासिन्दा अहिले भूकम्पकै कारण जीवन फेरिने आशामा रहेका छन् । 

भूकम्पकै कारण सिङ्गो बस्ती नै घरबार विहीन भएपछि भूगर्भविदको टोलिले अनुगमन तथा मूल्याङ्कन गर्दा बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको थियो । त्यसै अनुरुप १५ चैत ०७४ को भूकम्पपीडितको समस्या समाधानका लागि बनेको केन्द्रीय कार्यसमितिले बस्ती स्थानान्तरणका लागि निर्णय गरेपश्चात् अर्चले बस्तीका बासिन्दाहरु जोखिममुक्त हुने आशामा रहेका हुन् । 

अहिले अर्चले बस्तीका १२ परिवार पहिला बस्दै आएको स्थानबाट पाँच किलोमिटर तल टारी भन्ने स्थानमा स्थानान्तरण भएका छन् । स्थानान्तरण सँगै घरहरु समेत निर्माण भएपछि जीवन फेरिने आशा जागेको स्थानीय युवा डिलबहादुर बिकले बताउनुभयो । ‘पहिला गाउँमा बस्दा पनि परम्परागत पेशा गरेर जिविकोपार्जन गरिरहेका परिवारहरु अहिले अझै बढी आशावादी छन्’ उहाँले भन्नुभयो, ‘पुरानो बस्ती र परम्परागत काम गरेर जिविकोपार्जन गरिरहेका परिवार अहिले आधुनिकतातर्फ अघि बढेका छन् ।’ 

अहिले १२ जनाको नाममा सामुहिक जग्गाधनी लालपुर्जा रहेको र निर्माणकार्य सम्पन्न भएपश्चात् व्यक्तिगत रुपमा जग्गा छुट्ट्याउने तयारी भइरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइका सूचना अधिकृत पोषनाथ शर्माले जानकारी दिनुभयो । 

बिहादीका दुई परिवार पनि स्थानान्तरण

त्यसै कार्यक्रम अन्तर्गत पर्वतको बिहादी गाउँपालिका ६ बहाकीका रामबहादुर बिक र सोही गाउँपालिका ९ की रन्नता पाठकको स्थानान्तरण गर्नुपर्ने घरको काम पनि सम्पन्न भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ पर्वतले जनाएको छ ।

उनीहरुमध्ये रामबहादुर बिकले आफ्नै जग्गामा घर बनाएर तीन लाख रुपैँया प्राधिकरणबाट प्राप्त गरिसक्नुभएको छ भने पाठकले दुई लाख रुपैयाँ बराबरको जग्गा खरिद गरी घर निर्माण सम्पन्न गरेर बसोबास स्थानान्तरण गरिसक्नुभएको छ । 

मापदण्ड अनुसार १० परिवार भन्दा बढी स्थानान्तरण गर्नुपर्ने भएका स्थानमा मात्रै एकीकृत बस्ती विकासका लागि थप स्थानीय पूर्वाधारका कार्यक्रम सञ्चालन भएको र त्यसै अनुरुप पर्वतको अर्चले बस्तीमा मात्रै उक्त कार्यक्रम सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया