कोरोनाले रोजगारी गुमेको पीडा, त्यसैमाथि मल अभाव हुँदा किसान चिन्तित

 भदौ २०, २०७७ शनिबार १०:४२:७ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि रासायनिक युरिया मल अभाव भएको छ । मल अभाव भएसँगै यहाँका किसानहरु खेती नसप्रिने भन्दै चिन्तित बनेका छन् । 

मल अभावका कारण सुदूरपश्चिमा २५ देखि ३० प्रतिशत खाद्यान्न उत्पादन घट्ने अनुमान गरिएको छ । यहाँका नौ वटै जिल्लामा गोठे मल प्रयोग गरिने चलन भए पनि धानबालीको बाला लाग्ने अर्थात पसाउने समयमा रासायनिक मल हाल्ने चलन भएका कारण मल नपाउँदा किसानहरु चिन्तित बनेका हुन् ।

धान, तथा तरकारीमा युरिया मल हाल्नुपर्ने भए पनि मल वितरण गर्ने निकायमा युरिया मल अभाव भएपछि जिल्लामा मलको समस्या भएको बताइएको छ । देश कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त भएको बेला यहाँका किसान भने रासायनिक मल नपाएकोमा चिन्तित बनेका छन् । 

‘रोपाइँ सकेर धानको बाला पसाउने बेला हुँन थालिसक्यो मल छैन अब के खेती सप्रिन्छ होला त’, शिखर नगरपालि–१० बानीडुग्रीसैनका किसान हर्कबहादुर बलायरले दुखेसाे पाेख्नुभयाे ।

यस्तै सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले रसायनिक मल अभावका कारण यहाँका किसानलाई समस्या भएको बताउनुभयो । 

‘रासायनिक मल सात समुन्द्र पारीबाट आउँछ, अहिलेको समय परिस्थितिले आउन केही कठिनाइ भएको छ’, उहाँले भन्नुभयो, ‘जसले गर्दा खेतीबाली तथा तरकारी खेतीमा उत्पादन घट्ने छ ।’

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा कूल एकलाख मेट्रिक टन रासायनिक मल युरिया आवश्यक पर्ने भए पनि मल आपूर्ति गर्ने जिम्मा पाएको साल्ट्रेडिङ कम्पनीमा जम्मा २५ देखि ३० हजार मेट्रिक टन मात्रै मल आएका कारण यहाँ समस्या भएको बताइएको छ । 

उता मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामाग्री कम्पनी दिपायलले कोरोनाको कहरका कारण कैलालीमा रहेको क्षेत्रीय कृषि सामाग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको बताउँदै आएको छ । 

कोरोना भाइरसको कारण सबैतिर रोजगार गुम्दै गएको अवस्थामा उब्जनी क्षेत्रलाई प्रमुख प्राथमिकता दिई मल आपूर्ति गर्नुपर्ने बेलामा झन मल नपाउनु दुःखद कुरो भएको दिपायल सिलगढी नगरपालिका–१ तिखा गाउँका स्थानीयबासी देबेन्द्र खड्काले बताउनुभयो । 

‘कोरोनाका कारण हजारौँको रोजगारी गुमेको छ, यस्तो बेलामा उनीहरुलाई कृषि क्षेत्रमा जागरुक गराइ, मल तथा बिउँको सहज आपूर्ति गर्नु पर्ने हो तर केही गरेकाे छैन, के गरी खाने होला’, उहाँले भन्नुभयो ।

जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीले युरिया मलको विकल्पमा कुखुराको मल पनि प्रयोग गर्न सकिने जानकारी दिएको छ । अहिले बजारमा युरिया मलको अभाव भएपछि ज्ञान केन्दले बैकल्पिक मल प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया