कोरोनाका कारण मोरङमा दुईजना महिलाको ज्यान गयो

 भदौ २०, २०७७ शनिबार १०:५२:३८ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – विराटनगरमा कोरोना भाइरसबाट दुईजना महिलाको ज्यान गएको छ । एक जनाको विराटनगरमा रहेको कोशी अस्पतालमा र एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो ।

कोशी अस्पतालमा हिजो बेलुकी ज्यान गुमाएकी विराटनगर महानगरपालिका ४ की ६४ वर्षीया महिलाको आज बिहान पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल भर्ना गरिएको थियो । आइसोलेशनमा भर्ना गरेर उपचार भैरहेकोमा साँझ ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर ११ की ४३ वर्षीया कोरोना सङ्क्रमीत महिलाको पनि हिजो बेलुकी ज्यान गएको हो । पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रेफर भएकी महिलाको ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभएको छ ।

महिलामा चार वर्षदेखि मुटु र उच्च रक्तचापको समस्या रहेको बताइएको छ । प्रदेश १ मा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । जसमा १२ जना प्रदेश २ घर भएका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया