कोरोनाबाहेकका अन्य सरुवा रोगको सङ्क्रमण कम

 भदौ २२, २०७७ सोमबार ७:१९:१८ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - केही वर्षयता वर्षातको समयमा विभिन्न सरुवा रोगका बिरामी उच्च संख्यामा देखिने गरेका थिए । वर्षात् सुरु भएपछि डेंगी, स्क्रब टाइफस, जण्डिस तथा झाडापखालाका बिरामीले अस्पताल भरिभराउ हुन्थे । 

गएको वर्ष महामारीकै रुपमा डेंगीको जोखिम बढेको थियो । डेंगीकै कारण ६ जनाको ज्यान गएको थियो भने १६ हजारको हाराहारीमा सङ्क्रमित भएका थिए । २ देखि ३ वर्षको अन्तरालमा महामारीको रुपमा नै देखिइसकेको थियो । ७ वर्षअगाडि मात्रै नेपालमा प्रमाणित भएको स्क्रब टाइफसका कारण गएको वर्ष ५ सय ५५ जना सङ्क्रमित भएका थिए भने १६ जनाको ज्यान गएको थियो । 

यो वर्ष पनि स्क्रब टाइफस, डेंगीलगायतका बिरामी देखिन थालेका छन् । तर यो संख्या गएका वर्षको तुलनामा निक्कै कम भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म देशभर डेंगीका २ सय ४० जना सङ्क्रमित भेटिएका छन् । अहिले सबैको ध्यान कोरोनामा मात्र केन्द्रीत हुँदा देशभर अरु रोगका बिरामीका उचित तथ्याङ्क राख्नसमेत कठिनाइ भएको डाक्टर पाण्डे बताउनुहुन्छ ।

यो वर्ष बैतडी, डडेल्धुरा, बझाङ र डोटीका केहीमा स्क्रब टाइफस तथा चितवनलगायत तराईका केही ठाउँमा मौसमी रुघाखोकीका बिरामी देखिएका छन् । यी रोगहरु संख्यात्मक रुपमा कम देखिए पनि सावधानी भने अपनाउनुपर्छ । 

केही ठाउँमा बिरामी भेटिए पनि  गएका वर्षहरुमा जस्तो प्रकोपकै रुपमा  नआउनुमा मान्छे भिडभाडमा कम गएकाले भएको उहाँ बताउनुहुन्छ । मान्छे भिडभाडमा कम मात्रै जाँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना पनि कम भएको  हुन सक्ने उहाँ बताउनुहुन्छ ।

हरेक रोग सरसफाइ र खानपानसँग जोडिएर आउने भएकाले पछिल्लो समय मानिसले सरसफाइ र खानपानमा ध्यान दिएकाले पनि यस्ता रोगको जोखिम कम भएको हुन सक्ने उहाँ बताउनुहुन्छ । यस्तै अन्य कारणहरुमा मास्क लगाउने, बाहिर ननिस्कने गरेकाले पनि गएका वर्षको तुलनामा कम भएका हुन सक्ने उहाँको भनाइ छ । 

‘यस्तै परीक्षण गराउन जानेको सङ्ख्या कम भएर पनि बिरामी कम भएका हुन सक्छन्’ उहाँ भन्नुहुन्छ ‘अहिले एकाध रोगकाबाहेक अन्य रोगका कारण मानिसहरु अस्पताल जाँदैनन् । एकदमै जटिल अवस्थाका बिरामी मात्रै अस्पताल जाने गरेका छन् ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन भने स्क्रब टाइफस तथा मौसमी फूलुका बिरामीको लक्षण पनि कोरोना सङ्क्रमितसँग मिल्दोजुल्दो देखिने भएकाले कोरोना भएको भनेर कतिपय अस्पताल नगएका हुन सक्ने बताउनुहुन्छ । 

कतिपयले भने कोरोना ठानेर रोग लुकाएको हुन सक्ने उहाँको तर्क छ । सरुवा रोगका धेरै बिरामी जाने भनेर चिनिने सरुवा रोग अस्पताल टेकुलाई यो वर्ष कोरोना अस्पताल बनाइएकाले अरु रोग लागेर त्यहाँ जानेलाई अरु अस्पतालमा पठाउने गरिएको छ । सरुवा रोग मात्र नभएर कोरोनाका कारण अरु प्राथमिकतामा नपरेका शारीरिक तथा मानसिक रोगको समयमै उपचार नहुँदा दीर्घकालीन समस्या निम्तिन सक्ने खतरा भने हुन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् । 

अझै सरुवा रोगका बिरामी बढ्न सक्ने समय  बाँकी भएकाले सावधानी भने अपनाउन डाक्टर पुनको सल्लाह छ । उहाँ भन्नुहुन्छ ‘यस वर्ष कोरोनाबाहेक अरु रोगको जोखिम धेरै छैन भनेर ढुक्क भएर बस्न चाहिँ हुँदैन । सम्भावित सङ्क्रमणबाट जोगिन सावधानी अपनाउनुपर्छ ।’ व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान नदिँदा तथा लामखुट्टेलगायतका जीवाणुको टोकाइबाट बच्न नसकिएमा अझै पनि रोगको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । 

कतिपय मानिस कोरोनाको डरका कारण अस्पताल जाने गरेका छैनन् भने कतिपय मानिस अनावश्यक रुपमा अस्पताल जाने गरेकाले समस्या भएको छ । सरकारले अति आवश्यक नभई अस्पताल नजान भने पनि कतिपय मानिसहरु सामान्य समस्या लिएर पनि अस्पताल जाने गरेको पाइएको डा. पुनले बताउनुभयो । सामान्य समस्या मात्रै भएमा डाक्टरसँग फोनमार्फत् जानकारी लिन सकिन्छ भने कतिपय सामान्य समस्याको घरेलु उपचार पनि गर्न सकिन्छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया