बल्कोट–यूएई सम्पर्क समाजद्वारा कोरोना कहरकाबीच पौवामा बेन्च निर्माण

 भदौ २२, २०७७ सोमबार १७:२:२४ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – बल्कोट, अर्घाखाँची – यूएई सम्पर्क समाजले बल्कोटको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल बल्कोट पौवामा फलाम र काठबाट निर्मित पाँच वटा बेन्च निर्माण गरेको छ ।

रोजगारीका लागि दुबई आएका बल्कोटे युवाहरुले पौवाको पार्कमा २५ जना बस्न मिल्ने लामा बेन्चको निर्माण गरेका हुन् । समाजले आफ्नै सदस्यहरुबाट सहयोग स्वरुप रकम सङ्कलन गरेर एक लाख २५ हजार रुपैयाँ रकम जम्मा गरी बेन्च निर्माण गरेको संस्थाका अध्यक्ष टुमलाल पाण्डेले बताउनुभयो ।

दुबईमा रकम सङ्कलन गरी बुटवलमा बेन्चको निर्माण गरिएको हो । बेन्चको निर्माण घाम, पानीबाट रुझे पनि नबिग्रिने गरी गरिएको छ । समाजले सहयोग स्वरुप निर्माण गरेका बेन्चको शनिबार एक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले गाउँपालिकाको विकासको लागि युवाहरुको प्रमुख भूमिका रहने बताउनुभयो । युवाहरुमा इच्छाशक्ति भएमा गाउँ टोलको विकासमा जुन ठाउँबाट पनि सहयोग गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएको उहाँले बताउनुभयो ।

यस्तै उहाँले खाडी देशमा भएर पनि कोरोनाको महामारीकै बीच सामाजिक कार्य गरेकोमा आभार व्यक्त गर्नुभयो । समाजका सदस्यका परिवारको उपस्थितिमा बेन्चहरु पौवा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा छत्रदेव गाउँपालिकाका विभिन्न वडाध्यक्ष सहित जनप्रतिनिधि, पौवा संरक्षक समितिका पदाधिकारीहरु, स्थानीय ज्येष्ठ, विभिन्न सामाजिक तथा राजनीतिक अगुवाहरुको उपस्थिति थियो ।

कार्यक्रममा बेन्च निर्माणमा प्रति परिवार २५ हजार रुपैयाँ सहयोग गरेकोमा छत्रदेव ३ साजबोटकी रुन्नतादेवी पाण्डे र फएडाँडाका गिरिबहादुर रायमाझीलाई प्रमाणपत्रसहित फूलमाला लगाएर सम्मान गरिएको छ । त्यस्तै समाजलाई स्थानीय रुपमा समन्वय गर्ने राजु घिमिरे, दामोदर पाण्डेलाई पनि समाजले सम्मान गरेको छ ।

स्थापना भएको दुई वर्ष नपुग्दै समाजले आफ्नो गाउँपालिकामा झण्डै १० लाख रुपैयाँ सहयोग प्रदान गरेको समाजका सचिव अमितप्रकाश पाण्डेले बताउनुभयो

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया