प्रदेश १ मा एक लाख बढीको पीसीआर परीक्षण

 भदौ २२, २०७७ सोमबार १८:३०:३ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश १ मा एक लाख बढीको पीसीआर परीक्षण भएको छ । साेमबारसम्म काेराेना सङ्क्रमण छ कि छैन भनेर जाँच गर्नका लागि एक लाख तीन सय ४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोमबार मात्रै एक हजार आठ सय ६० जनाको पीसीआर परीक्षण भएको छ । अहिलेसम्म परीक्षण गरिएकामध्ये ९६ हजार एक सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार एक सय ७७ जनाको रिपाेर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६ सय ४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार तीन सय ४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार चार सय ३६, मेची अस्पताल झापाबाट दुई हजार आठ सय ९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रदेश १ मा मोरङमा सबैभन्दा बढी ३१ हजार दुई सय ६७ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४५ जनामा सङ्क्रमण देखिएको छ । सुनसरीमा २३ हजार ६ सय ७९ र झापामा २३ हजार पाँच सय ८५ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा अहिले चार वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुँदै आएको छ । वीपीमा गएकाे चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वैशाख १९ र मेची अस्पतालले साउन ३० गतेदेखि पीसीआर परीक्षण सुरु गरेको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया