डोटीमा स्वाब नहुँदा कोरोना परीक्षण गर्नमा समस्या हुँदै

 भदौ २३, २०७७ मंगलबार १३:२८:२५ | विमल बिष्ट
unn.prixa.net

डोटी - कोरोना जाँचका लागि डोटीमा पर्याप्त मात्रामा स्वाबको नमुना नभएका कारण कोरोना परीक्षणमा ढिलाइ हुनुका साथै समस्या हुन थालेको छ । 

डोटीमा प्रयोगशाला स्थापना भएदेखि नै स्वाबको अभाव हुँदै आएको स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्लामा रहेकाे पीसीआर मेसिनको दैनिक परीक्षण क्षमता एक हजार २०० भए पनि स्वाब अभावमा यहाँ औसतमा दैनिक १०० जनाको मात्रै स्वाब परीक्षण हुँदै आएको जिल्ला अस्पताल डोटीका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ' हामीसँग  पर्याप्त स्वाब नै छैन, स्वाब नहुँदा कोरोना परीक्षणका ढिलाइसहित समस्या हुँदै आएको छ ।' कोरोना परीक्षण गर्ने ल्याबमा थ्रोट स्वाबको नमुना सकिएपछि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा दुई दिन कोरोना परीक्षण गर्ने कार्य रोकिएको ल्याब इन्चार्ज शौरभ श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, 'थप स्वाब आएन, हामीसँग भएका स्वाब परीक्षण गरी सकिएपछि आइतबार साँझ र सोमबार बिहान त परीक्षण कार्य नै बन्द गर्नु पर्यो ।'

 यहाँका गाउँघरमा स्वाब सङ्कलन गर्नमा ढिलाइ भएका कारण प्रयोगशालामा पनि स्वाब अभाव भएको जिल्ला अस्पताल डोटीले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि स्वाब सङ्कलन गर्नमा ढिलाइ भएका कारण समस्या हुँदै आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीका अनुसार पछिल्लो समय जिल्लामा कुल ९५५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

प्रयोगशालामा स्वाब अभाव हुन नदिन अब समुदाय स्तरमा कोरोना परीक्षण गर्ने कार्य अघि बढाइएको स्वास्थ्य प्रमुख मलासीले जानकारी दिनुभयो । जिल्लामा मात्रै नभएर छिमेकी जिल्ला अछाम तथा बाजुराबाट पनि पर्याप्त मात्रामा स्वाब नआएका कारण यहाँको प्रयोगशालामा स्वाब अभाव भएर परीक्षण कार्य नै रोकिन थालेको बताइएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया