हुलाकी राजमार्ग अन्तर्गतको कञ्चनपुर क्षेत्रमा भारतीय अवरोध कायमै

 भदौ २६, २०७७ शुक्रबार १६:१२:३५ | सीताराम ओझा
unn.prixa.net

कैलाली – हुलाकी सडकको कञ्चनपुर खण्डमा भारतीय पक्षले गरेको अवरोध कायमै रहेको छ । निर्माणाधिन हुलाकी सडकको क्षेत्र आफ्नो भूभाग भएको भन्दै भारतीय पक्षले विरोध गरेपछि उत्पन्न समस्या समाधान हुन नसकेको हो । 

बेलौरी क्षेत्रमा पर्ने १२ सय मिटरमा देखिएको विवाद कायमै छ । विगतको नक्सामा पनि क्षेत्र नेपालमै देखिएको र ग्रावेल सडक समेत निर्माण गरिएका कारण हुलाकी सडकको पनि डीपीआर तयार पारेर काम गर्न सुरु गरेको आयोजना कार्यालयका सूचना अधिकारी पदम बहादुर मडैले बताउनुभयो । 

भारतीय पक्षले बेलौरी क्षेत्रमा सडक निर्माण गर्दा पटक पटक अवरोध सिर्जना गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले तत्काल त्यस क्षेत्रमा काम नगर्न निर्देशन दिएको मडैले बताउनुभयो । उहाँका अनुसार अहिले त्यस विषयमा कुनै पनि जानकारी नआउँदा काम पनि ठप्प छ ।

कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला जिल्ला अधिकारी नुरहरि खतिवडाले सो विवाद दुई देशको उच्च स्तरीय टोलीले अध्ययन गरेर समाधान गर्नुपर्ने भएका कारण तत्काल काम नगर्न निर्देशन दिनुभएको थियो । अहिले उहाँको सरुवा भइसकेको छ । तर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीले अब नयाँ प्रमुख जिल्ला अधिकारीसँग यस विषयमा छलफल हुने बताउनुभयो ।

हुलाकी सडकमा भारतीय पक्षले अवरोध गरेपछि आयोजना कार्यालयले समेत सडक विभाग लगायत जिल्ला प्रशासनसंगै अन्य सरोकारवाला निकायलाई मौखिक तथा लिखित रुपमा नै जानकारी गराएको थियो । १२ सय मिटर क्षेत्रफलमा सडक निर्माणको काम ठप्प रहे पनि विवाद समाधानमा सम्बन्धित निकायले वेवास्ता गरिरहेका छन् ।

बेलौरीसंगै हुलाकी सडककै अन्य क्षेत्रमा समेत विभिन्न समस्याहरु देखा परेका छन् । यसले सडक निर्माणमा बाधा पुगिरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया