अब ६ दिन घुम्ने, १ दिन बस्ने ! भाते तालिका बन्दै !!

 भदौ २७, २०७७ शनिबार ७:५८:१८ | मिलन तिमिल्सिना
unn.prixa.net

कोरोनासँग लुकामारी खेल्दाखेल्दै आधा वर्ष बित्यो । कहिले कोरोना अघिअघि, सरकार पछिपछि । कहिले सरकार अघिअघि, कोरोना पछिपछि । कहिले कोरोना सडकमा, मान्छे घरमा । कहिले कोरोना घरमा, मान्छे सडकमा । कहिले सँगसँगै, कहिले एक्लाएक्लै । 

कोरोनाले ज्यानजाला नछाड्ने भएपछि सरकारले नयाँ जुक्ति निकालेको छ । तालिका बनाएर मान्छेलाई सडक र बजारमा पठाउने, अनि कोरोनालाई तर्साउने । 

जतिसुकै लुकामारी गरे पनि न कोरानाको केही लाग्यो, न नेपाल सरकारको । कोरोनाले ज्यानजाला नछाड्ने भएपछि सरकारले नयाँ जुक्ति निकालेको छ । तालिका बनाएर मान्छेलाई सडक र बजारमा पठाउने, अनि कोरोनालाई तर्साउने । 

अब काठमाण्डौमा मान्छे र कोरोनाले तालिकाअनुसार सडक बजारमा डुल्नुपर्ने भएको छ । मान्छे हिँड्ने बेला कोरोना चुप लाग्ने, कोरोना हिँड्ने बेला मान्छे चुप लाग्ने ।

देशमै सबैभन्दा धेरै मान्छे बसोबास गर्ने काठमाण्डौमा किनमेल र हिँडडुलका लागि बनाइएको तालिका अनुसार अब भोको मान्छे पनि अघाउने भएको छ, नांगो मान्छे पनि सजिने भएको छ । हप्तामा ६ दिन बजार घुमेपछि एकदिन घरमै बसेर आराम गर्न पाइने भएको छ । सरकारले प्रष्ट्याउन नभ्याएको, तर सार्वजनिक भैसकेको नयाँ तालिकाबारे अब चर्चा गरौं ।​

मान्छे भोकै नबसून् भनेर सरकारले भात खाने बेला पारेर यस्ता पसल हरेक दिन बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिएको छ ।

​दालचामल, नूनतेल, दहीदूध, मरमसला, फलफुल, तरकारी र माछामासुको लागि अब चिन्ता गर्न नपर्ने भएको छ । मान्छे भोकै नबसून् भनेर सरकारले भात खाने बेला पारेर यस्ता पसल हरेक दिन बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिएको छ ।

बिहान उठ्नेबित्तिकै बजार जाने, मन पर्ने खानेकुरा धित मर्नेगरी हेर्ने, घर फर्कने, फेरि बेलुका ५ बजेपछि उसैगरी बजार गएर रोजीरोजी खानेकुरा हेर्ने, घर फर्कने र सुत्ने । 

यतिबेला बजार जाँदा फुटपाथ र ठेलाका सामान, स्टेशनरी, बिजुली र डिर्पाटमेन्टल पसल पनि हेर्न पाइनेछ । किनकी सरकारले फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी र बिजुलीका पसल तथा डिपार्टमेन्टल स्टोरहरु पनि बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न दिएको छ । हरेक दिन बिहान र बेलुकी बजार डुलेमा आफूलाई मन पर्ने थरीथरीका खानेकुरा र सरसामानको नियास्रो मेटिने भएको छ । 

आधा वर्षदेखि नयाँ लुगा, भाँडाकुँडा र अरु नयाँ सामान देख्न नपाएका नागरिकको हितमा सरकारले अरु व्यवस्था पनि गरेको छ । नयाँ तालिकाअनुसार साप्ताहिक रुपमा नयाँ नयाँ सरसामान अवलोकन गर्न पाइनेछ । 
आइतबार, मंगलबार र शुक्रबार बजारमा भाँडाकुँडा र भान्साका नयाँ सरसामान हेर्न र छुन पाइनेछ । हरेक दिन बिहान र बेलुका दाल, चामल र तरकारी हेर्न पाइने, हप्ताको तीन दिन भात तरकारी पकाउने र खाने भाँडा देख्न पाइने । छैन त मज्जा ? 

हरेक दिन बिहान र बेलुका दाल, चामल र तरकारी हेर्न पाइने, हप्ताको तीन दिन भात तरकारी पकाउने र खाने भाँडा देख्न पाइने । छैन त मज्जा ?

दशैँ आउन लाग्यो । परिवारसँग बसेर दशैँ मनाउन पाइने, नपाइने अन्योल भए पनि नयाँ लुगा लगाउने रहर त सबैलाई होला । नागरिकको यही रहर पूरा गर्न सरकारले हप्तामा एक दिन हैन, तीन दिनको लागि कपडा पसल खुलाइदिएको छ । 

तालिका अनुसार सोमबार, बुधबार र शनिबार सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता र  कस्मेटिक पसल खुल्छ । तीनै दिन बजार डुल्ने । आफूलाई मन पर्ने लुगाकपडा, जुत्तामोजा धित मर्नेगरी हेर्ने । सपिङ मलमा गएर रोजीरोजी लगाउने । सोमबार एउटा पसलमा गएर लगाउने, फुकाल्ने, फर्कने । फेरि बुधबार यसैगरी अर्को पसलमा जाने धित मर्नेगरी लगाउने, फर्कने । फेरि शनिबार अर्को पसलमा गएर यसै गर्ने ।

हप्ताको तीन दिन पसलमै बसेर आफूलाई मन पर्ने थरीथरीका लुगाकपडा लगाउन पाइने दिन फेरि नआउन सक्छ । मौकाको सदुपयोग गर्न जान्नुपर्छ ।

हप्ताको तीन दिन भान्साका सरसामान र अर्को तीन दिन लुगाफाटा हेर्दै, छाम्दै, लगाउँदै, राख्दै गर्दा थकाई पनि लाग्छ । त्यसैले एक दिन त आराम पनि गर्नुपर्यो । नागरिकको हितमा मात्रै काम गर्ने सरकारले आराम गर्ने व्यवस्था पनि मिलाएको छ । तालिकाअनुसार बिहीबार घरमै बस्न पाइन्छ । लुगाफाटा र भान्साका सरसामान हेर्न जान पर्दैन । 

नागरिकको हितमा मात्रै काम गर्ने सरकारले आराम गर्ने व्यवस्था पनि मिलाएको छ । तालिकाअनुसार बिहीबार घरमै बस्न पाइन्छ । लुगाफाटा र भान्साका सरसामान हेर्न जान पर्दैन । 

आधा वर्षपछि बल्लबल्ल तालिकाअनुसार खुलेका यी पसलमा सरसामान हेर्न र छुन मात्र पाइन्छ । लैजान चाहिँ पाईंदैन । घरमै लैजानको लागि पसलेले त्यसै दिंदैनन्, किन्नुपर्छ । किन्नलाई पैसा पनि हुनुपर्यो । चैतअघि जे जे किनियो, त्यसैले पुर्याउने हो ।

त्यसमाथि अहिलेसम्म घरभित्रै बसिरहने मान्छेलाई किन चाहियो नयाँ लुगाफाटा र भाँडाकुँडा ? चैतअघि जे जे थिए, ती सबै नयाँ । अहिलेलाई तालिकाअनुसार बजार डुल्ने, हेर्ने, छाम्ने, फर्कने । अहिलेको लागि बजार डुल्नु, हेर्नु र छाम्नु नै ठूलो कुरा हो । धन्न सरकारले यही पनि गर्न दिएको छ । 

कोरोनाले यसैगरी लुकामारी खेलिरहने हो । कोरोनासित लुकामारी खेल्न सरकारले पनि अर्को तालिका सार्वजनिक गर्ला नै । खाने तालिका । काम न कमाइसँग हरेक दिन हरेक छाक पेटपरी खान सकिंदैन । खुवाउने स्वयंसेवीहरुले पनि कति दिन धान्न सक्छन् र ? त्यसमाथि काम गर्न नपरेपछि किन हरेक दिन खानु पर्यो ? 

आइतबार बिहान भात खाने, सोमबार दिउँसो खाजा खाने, मंगलबार बेलुका भात खाने । अनि बुधबार दिउँसो खाजा, बिहीबार बिहान भात, शुक्रबार दिउँसो खाजा खाने । शनिबार बिदा, नखाने ।

आइतबार बिहान भात खाने, सोमबार दिउँसो खाजा खाने, मंगलबार बेलुका भात खाने । अनि बुधबार दिउँसो खाजा, बिहीबार बिहान भात, शुक्रबार दिउँसो खाजा खाने । शनिबार बिदा, नखाने । कोरोनाले नछोड्दासम्म सरकारले यस्तो तालिका पनि बनाउला भनेर पर्खनु र सरकारले नबनाए पनि आफैंले यो तालिकाअनुसार जिन्दगी चलाउनुबाहेक अर्को उपाय होला र !
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Yashu Shrestha

    Sept. 12, 2020, 10:18 a.m.

    एकदम राम्रो व्यंग्य लाग्यो , धन्यवाद / अझै यस्तै लेखहरु लेख्दैजानुहोस ...सरकार नकचरो भएपछि कसको के लाग्छ ...

  •  0 Reply

तपाईको प्रतिक्रिया