विदेशबाट फर्केर दुई करोडको लगानीमा बाख्रापालन सुरु गरेका युवा भन्छन् - ‘सरकारी सहयोग पाउनै मुस्किल’

 भदौ २७, २०७७ शनिबार १४:५९:५७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – विदेशप्रतिको मोह । गाउँ छोड्नैपर्ने बाध्यता । गाउँका युवाहरु विदेश पुग्छन् ।

त्यहाँ युवाहरुको कमाइ पनि राम्रै हुन्छ । उनीहरु एकआपसमा सल्लाह गर्छन् र योजना बनाउँछन् । अनि स्वदेश फर्किन्छन् र विदेश बस्दा बनाएको योजना कार्यान्वयन गर्न अगाडि बढ्छन् । त्यही योजनाअनुसार उनीहरुको व्यवसायिक बाख्रापालन सुरु हुन्छ । 

व्यवसायिक पशुपालनको सम्भावना बोकेको हिमाली जिल्ला म्याग्दीका युवाहरुले अब स्वदेशमै केही गर्नुपर्छ भन्दै सामूहिक लगानी गरेरै बाख्रापालन व्यवसायलाई अगाडि बढाएका छन् । धन कमाउनका लागि विदेशको विभिन्न देशहरुमा पुगेका उनीहरुले त्यहाँ सिकेको सीप र आर्जेको कमाइलाई स्वदेश फर्किएर आफ्नै गाउँ ठाउँमा लगानी गरेका हुन् । विदेशमा मात्रै कति दुःख गर्ने भनेर स्वदेश फर्किएर युवाहरु पशुपालनमा आबद्ध छन् ।

 

सामूहिक लगानीमा व्यवसायिक बाख्रापालन गर्ने उनीहरु हुन् म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा डाँडाखेतका पाँचजना युवा । डाँडाखेतका महेन्द्र बानियाँ, देवबहादुर जिसी, ध्रुव कुँबर, रेशम कुँबर र रामजी कुँबरले दुई करोड रुपैयाँको लगानी गरेर बाख्राको फर्म स्थापना गरेका छन् ।

उहाँहरुमध्ये अहिले देव जिसी साउदीअरब र रेशम तथा रामजी कुँबर दक्षिण कोरियामै कार्यरत हुनुहुन्छ । यहाँ उहाँहरुको श्रीमतीहरु सीता खड्का, रेखा बानियाँ र रेखा खत्रीले बाख्रापालनमा सहयोग गरिरहनुभएको छ । 

एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालि नाम दर्ता गरी गएको वर्ष भदौ महिनादेखि युवाहरुले बाख्रापालन सुरु गरेका थिए । आंशिक र पूर्ण गरी कुल दुई करोड रुपैयाँभन्दा बढीको लगानीमा व्यवसायिक रुपमा बाख्रा फर्म तयार गरी सञ्चालनमा ल्याइएको छ । जिल्लामै सबैभन्दा ठूलो र फरक तरिकाले सञ्चालित फर्ममा अहिले कुल १ सय ३२ वटा बोयर तथा स्थानीय जातका बाख्राहरु पालिएको फर्मका सञ्चालक महेन्द्र बानियाँले बताउनुभयो । 

सुरुमा चितवनको जगतपुरबाट १६ वटा बाख्रा खरिद गरी सुरु गरेको फर्ममा अहिले ५० प्रतिशत शुद्ध बोयर तथा ५० प्रतिशत लोकल खरी, जमुनापारी, बारबारी जातका बाख्राहरु रहेको उहाँले बताउनुभयो । 

हाल उक्त फर्ममा ५२ वटा पाठापाठी, ४७ वटा बोका र बाँकी माउबाख्रा छन् । फर्ममा अहिले बोयर जातका ७ वटा बोका बिउँ पुँजीको रुपमा राखिएको छ । अहिलेसम्म फर्मबाट करिब २५ वटा बोका तथा खसी बिक्री गरिएको छ भने प्रतिकिलो जिउँदो बाख्राको मूल्य पाँचसय रुपैयाँ तोकिएको छ । यसपालीको तीज पर्वमा मात्रै ६ वटा बोका र खसी बिक्री गरिएकोमा नजिकिँदै गरेको दशैंका लागि १३ ओटा खसी–बोका बिक्री गर्ने तयारी गरिएको फर्मका सञ्चालक समेत रहनुभएका महेन्द्र बानियाँले बताउनुभयो । 

व्यवसायिक रुपमा स्थापना गरी सञ्चालन गरिएको उक्त फर्मका लागि जग्गा खरिदमा एक करोड र बाख्रा खरिद तथा संरचना निर्माण गर्न एक करोड रुपैयाँ लगानी भएको युवा बानियाँले बताउनुभयो । त्यस्तै फर्ममा पालिएका बाख्रालाई घाँस खुवाउनका लागि चारवटा साइलेज (घाँस राख्ने खाडल) निर्माण गरिएको छ । उक्त साइलेजमा वर्षात्को समयमा काटेको घाँस नुन छर्किएर हावा नजाने गरी राख्ने र जाडो याममा बाख्रालाई खुवाउने तयारी छ । यसरी खाडलमा राखिएको घाँस ४५ दिनपछि डेढ वर्षसम्म खुवाउन मिल्छ । 

८० रोपनीमा संरचना निर्माण तथा घाँस खेती

डाँडाखेतका युवाहरुले सुरु गरेको बाख्रापालन व्यवसायका लागि १० रोपनी जग्गा बन्धकीसहित ८० रोपनी जग्गा खरिद गरी ५ रोपनीमा संरचना मात्रै निर्माण गरिएको छ भने बाँकी जग्गामा घाँस लगाइएको छ । बाख्रालाई घाँस खुवाउन वर्षेघाँस अन्तर्गत सुडान, मकै, बोडी, स्याल्टुङ, बहुवर्षे घाँसतर्फ सुपर नेपियर, चुम्बा सेतोरिया, मलासो रोपिएको छ ।

यसैगरी डाले घाँसतर्फ कोइरालो, ईपिल–ईपिल, रायखन्यु, कुटमिरो, फोस्रो, अम्लिसो, खनिउ, बकाइनो, टमिलो, निमारो, टाँकीलगायत स्थानीय जातका घाँस खेती गरिएको बानियाँले जानकारी दिनुभयो ।

उत्पादन गर्नसके बजारको समस्या छैन

एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालिले उत्पादन गर्नसके बाख्रा, पाठापाठी तथा खसी–बोका बिक्री वितरणका लागि बजारको समस्या नभएको जनाएको छ । फर्मबाटै बाख्रा बिक्री हुने बताउँदै फर्मका अर्का सञ्चालक ध्रुब कुँबरले डाँडाखेत गाउँ, म्याग्दी सदरमुकाम बेनीबजार र तातोपानी बजारमा बिक्री हुँदै आएको बताउनुभयो ।

उहाँले गाउँमै पूजाआजाका लागि पनि खसी, बोका सजिलै बिक्री हुनेहुँदा उत्पादन गर्न सकेको खण्डमा बजारीकरणका लागि समस्या नभएको अनुभव सुनाउनुभयो । ‘बाख्रा, खसी तथा बोका चाहियो भन्दै व्यापारीहरु फर्ममै पुग्छन्’, उहाँले भन्नुभयो । 

मासु र डेरी पसल सञ्चालनको योजना

व्यवसायिक रुपमा सुरु गरिएको बाख्रापालन फर्ममा आगामी दिनमा झण्डै पाँच सयवटा बाख्रा पुर्याउने लक्ष्य राखिएको छ । बाख्रा फर्म सञ्चालन गरेका युवाहरुमध्ये अहिले तीनजना रोजगारको सिलसिलामा विदेशमै छन् ।

उनीहरु फर्किएपछि म्याग्दी सदरमुकाम बेनीमा आफ्नै एकएक वटा फ्रेस हाउस र डेरी पसल सञ्चालन गर्ने तयारी रहेको युवाहरु बताउँछन् । यसका साथै निकट भविष्यमै व्यवसायिक भैंसीपालन, माछापालन, मौरीपालन तथा रिसोर्ट समेत सञ्चालनमा ल्याउने योजना समेत बनाइएको छ । 

दुई जनालाई रोजगारीको अवसर

स्वदेशमै केही गर्ने योजनासहित स्थापना गरिएको एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालिले दुईजना महिलालाई रोजगारीको अवसर समेत दिलाएको छ । अहिले फर्ममा बाख्रालाई घाँसपात काट्ने, दानापानी खुवाउने र सरसफाइलगायत काम गर्नका लागि उनीहरुलाई रोजगारी दिइएको हो ।

गाउँमै रोजगारीको अवसर पाएपछि उनीहरु धेरै खुसी भएका छन् भने फर्मले मासिक रुपमा दश/दश हजार रुपैयाँ तलबभत्ता दिने व्यवस्था गरेको छ । आगामी दिनमा व्यवसायको क्षमता विस्तार गरी थप रोजगार समेत सिर्जना गर्ने प्रालिले जनाएको छ । 

अर्गानिक उत्पादनलाई जोड दिइने

अहिले विश्व समुदाय कोरोना भाइरसको संक्रमणका कारण थिचिएको छ । अहिलेको यस्तो अवस्थामा जो कोही पनि आफ्नै घर गाउँमा फर्कन चाहन्छ । अनि अर्गानिक उत्पादनको प्रयोग गर्न खोज्छ । त्यसैले पनि एकता एग्रो फर्मबाट स्थानीय र शुद्ध बोयर जातका बाख्रा उत्पादनमा जोड दिइएको छ ।

यसका साथै बाँझो रहेको खेतबारीमा बाख्राको मलमुत्र प्रयोग गरेर कृषि तथा तरकारी बालीनालीको समेत उत्पादन बढाउने योजनामा रहेको फर्मका सञ्चालक रेखा खत्रीले बताउनुभयो । पछिल्लो समय अर्गानिक उत्पादनको प्रयोगतर्फ आम सर्वसाधारणहरुको आकर्षण बढेको हुँदा त्यतातर्फ ध्यान दिइएको युवाहरु बताउँछन् । पछिल्लो समय कोरोना भाइरसका कारण देश तथा विदेशबाट मानिसहरु गाउँ फर्किएर गाउँकै अर्गानिक उत्पादन प्रयोगमा आकर्षित भएको हुँदा स्थानीय उत्पादनलाई जोड दिन थालिएको हो ।

सरकारी सहयोग पाउनै मुस्किल

व्यवसायिक बाख्रापालन व्यवसाय अगाडि बढाएका युवाहरुले राज्यका निकायबाट भने पर्याप्त सहयोग पाउन सकेका छैनन् । राष्ट्रिय वाणिज्य बैंकको म्याग्दी शाखामार्फत २२ लाख रुपैयाँ सहुलियत व्याज कृषि कर्जा स्वीकृत भए पनि जम्मा १० लाख रुपैयाँ मात्रै बैंकले दिइएको फर्मका प्रोप्राइटर महेन्द्र बानियाँले गुनासो गर्नुभयो ।

सरकारले विदेशबाट फर्किएका वा विदेश जान लागेका युवाहरुलाई लक्षित गरेर स्वरोजगारमूलक विभिन्न योजना र कार्यक्रमहरु ल्याएको भए पनि नीति कार्यक्रममा उल्लेख भएअनुसार सहयोग नपाउँदा व्यवसाय सञ्चालनमा समस्या भएको युवाहरुको भनाइ छ । बेनी नगरपालिकाको पशु सेवा शाखाबाट घाँसका बिरुवा र परामर्श एवं भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट घाँस काट्ने मेसिन (च्यापकटर)बाहेक अन्य सहयोग नभएको फर्मका सञ्चालक बानियाँले बताउनुभयो । 

युवा स्वरोजगारलाई जोड दिँदै स्थानीय तह

स्वदेशमा केही पनि काम पाइएन भन्दै विदेशतिर लाग्ने र विदेशबाट फर्किएर आएका युवाहरुलाई लक्षित गरेर म्याग्दीका स्थानीय तहले युवा स्वरोजगारलाई पनि जोड दिन थालेका छन् । स्वदेशमै व्यवसायिक क्षेत्रमा संलग्न भएर आर्थिक उपार्जनका क्षेत्रमा लागेका युवाहरुलाई आवश्यक अनुदान, बिउँमल तथा तालिम गोष्ठीमार्फत सहयोग गरिने बेनी नगरपालिकाले जनाएको छ । 

‘कृषि, पर्यटन र पूर्वाधार : स्वच्छ, समृद्ध बेनी नगरको आधार’ भन्ने मूल नारा बनाएको नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ का लागि कृषितर्फ कुल ६० लाख रुपैयाँभन्दा बढी र पशुपालनमा २९ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटमार्फत नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यावसायिक कृषि, पशुपालन तथा उद्योगका क्षेत्रमा सक्रिय युवाहरुलाई प्रोत्साहनसहित आर्थिक विकासका लागि आवश्यक सहयोग उपलब्ध गराइने बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले बताउनुभयो । 

‘विदेशमा जस्तो स्वदेशमा नहुने रहेछ’

कोरियामा १०, साउदीमा ७ र कतारमा ६ वर्ष बसेर २०७५ सालमा स्वदेश फर्किनुभएका युवा महेन्द्र बानियाँले आफू र ध्रुब कुँबरको विशेष योजनामा फर्म सञ्चालनका लागि अरु युवाहरुले पनि साथ दिएको बताउनुभयो । उहाँ कोरिया बस्दा सिकेको सीपलाई स्वदेश फर्किएर आफ्नै गाउँ ठाउँमा केही गरौं भन्ने उद्देश्यले कृषि र पशुपालनतर्फ लाग्नुभएको हो ।

विदेशमा खासै केही नहुनेले पनि ठूल्ठूलो कम्पनी चलाएर अन्य देशका सय दुईसय जना युवाहरुलाई रोजगारी दिएको देखेपछि हाम्रो त गाउँघरमै थुप्रै रोपनी जग्गाजमिन बाँझै बसेको हुँदा त्यसैलाई कमाएर खान बाख्रापालन थालेको उहाँले बताउनुभयो ।

लामो समयसम्म विदेश बसेर स्वदेश फर्किएपछि किन पशुपालनतर्फ लाग्नुभयो भन्ने प्रश्नमा युवा व्यवसायी बानियाँले भन्नुभयो– ‘विदेशमा अर्काको दास बनेर बस्नुभन्दा स्वदेश फर्किएर आफ्नै ठाउँमा केही गर्न बाख्रापालन सुरु गरेका हौं, तर विदेशमा जस्तो स्वदेशमा हुँदो रहेनछ ।’ 

कृषि, पशुपालन र उद्योगको क्षेत्रमा आबद्ध भएका युवाहरुको मेहनतलाई प्रोत्साहन गर्नका लागि राज्यले विशेष अनुदान, कृषि बिउँमल, औजार तथा उपकरणलगायत विभिन्न सहयोगहरु गर्नुपर्ने उनीहरुको माग छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया