यस्ताे हाेस् पालिकाकाे काम : एउटै ढोकाबाट सबै सेवा

 भदौ २८, २०७७ आइतबार १४:५७:५६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – सिस्ने गाउँपालिका वडा नं. २ का पशुपति केसी गएकाे वर्ष गाउँपालिकाको कार्यालय आउँदा यो र त्यो फाँट खोज्नै हैरान हुनुभयो । 

आफूले लिन चाहेको सेवाका लागि फाँट र कोठा धाउँदा दिक्दार भएका केसी आइतबार गाउँपालिका आउँदा भने सेवा प्रवाह प्रक्रिया देखेर दंग पर्नुभयो । गाउँपालिकाको एक ढोकाबाट छिरेका के.सी.ले त्यसै ढोकाभित्र व्यवस्थित गरिएका फाँटबाट सहजै सबै सेवा पाउँदा खुसी हुनुभयो । 

गाउँपालिकाको सहयोगमा कृषि कार्यमा जुटेका उहाँले कृषि शाखादेखि लिएर प्राविधिक, आर्थिक, प्रशासनिक लगायतका फाँटका काम एकएक गर्दै लिनुभयो । 'आज त एउटै ढोकाबाट सबै सेवा पाए' केसीले गाउँपालिकाबाट निस्कँदै गर्दा भन्नुभयो, 'छिटो पनि भयो, सजिलो पनि भयो ।' गाउँपालिकामा उपभोक्ता समितिको कामको लागि आउनुभएकी वडा नं. १ की कमला बुढा पनि गाउँपालिकाले एउटै ढोकाबाट सेवा प्रवाह गर्न थालेकोमा खुसी हुनुभयो ।

सर्वसाधारण जनताहरु गाउँबाट गाउँपालिकामा सेवा लिन आउँदा हुने अन्यौल र असहजतालाई हटाउन पालिकाले थालेको यस्तो सेवा प्रवाह कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । एउटै ठाउँबाट समयमै काम हुने यो कार्यले उहाँजस्तै गाउँपालिकामा दिनहुँ सेवा लिन आउने सेवाग्राहीलाई सहज र सरल बनाएको छ । सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले जनताको सेवालाई प्राथमिकतामा राखेर यस्तो अवधारणा अनुरुप सेवा प्रवाह कार्य थालिएको बताउनुभयो । 

‘टाढाबाट आएका सेवाग्राहीहरुले यताउता गरेर दु:ख नपाउन् भनेर हामीले एकीकृत सेवा प्रवाहको सोच बनाएका थियौँ’, अध्यक्ष बरालले भन्नुभयो, ‘एउटै ढोकाबाट सबै सेवा दिँदा प्रभावकारी देखिएको छ ।’ गाउँपालिकाले नियमित जसो बस्तीस्तरमै पुगेर घुम्ती सेवा दिइरहेको उहाँको भनाइ छ । 

गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधालाई सेवाग्राहीमैत्री, सरल र चुस्त बनाउन एउटै ढोकाबाट सबै सेवा दिन थालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताउनुभयो । पालिकाको एकीकृत सेवा प्रवाहको सोच अनुरुप एउटै ढोकाबाट सबै सेवा दिन थालिएको निमित्त प्रशासकीय अधिकृत दाहालले जनाउनुभयो । 

'गाउँबाट आउने सेवाग्राहीहरुले आफ्नै कार्यालय सम्झेर काम सम्पन्न गरुन्,' निमित्त प्रशासकीय अधिकृत दाहालले भन्नुभयो, 'यो वा त्यो, यता वा त्यता भनेर सेवाग्राहीलाई अल्मल्याउने गरेको गुनासो अब छैन, कर्मचारीको कार्यशैली र कार्यालयको काम सेवाग्राहीमैत्री बनाएका छौँ ।'

सिस्ने गाउँपालिकाको वडा नं. ५ मा रहेको आफ्नै कार्यालय भवनबाट सेवा सञ्चालन गरेको गाउँपालिकाले एउटै ढोकाबाट गाउँपालिकाले सेवा प्रवाह गर्ने सबै शाखाका फाँटहरु लहरै बनाइएको छ । कार्यालयको सेवा प्रवाहको प्रवेश ढोका नजिकै निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालको कार्यकक्ष रहेको छ । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको सामुन्नेमा आर्थिक प्रशासन शाखा रहेको छ भने यसको छेउमा सामाजिक विकास शाखा रहेको छ । 

जहाँबाट सूचना, प्रविधि र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसँग सम्बन्धित सेवा लिन सकिन्छ । सामाजिक विकास शाखाको ठिक अगाडि प्रशासन, योजना तथा अनुगमन शाखा रहेको छ । यसको छेउमा शिक्षा, खेलकुद तथा युवा इकाइले सेवा प्रवाह गरिरहेको छ । यस इकाईको सामुन्नेमा स्वास्थ्य इकाई रहेको छ, त्यही फाँटबाट महिला, बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित सेवा दिइन्छ । यसको छेउमा जिन्सी शाखा राखिएको छ । 

जिन्सी शाखाको नजिकैबाट पशु तथा कृषि इकाइले सेवा दिने गरेको छ । यसैको छेउबाट पूर्वाधार विकास शाखाले सेवा प्रवाह गर्ने गरेको छ । प्रवेशद्वारको देब्रेतिरबाट पञ्जीकरण सम्बन्धीको सेवा प्रवाह हुन्छ । यसरी सेवा प्रवाह गरिरहेको कार्यालयको यस भवनसँग अपाङ्गतामैत्री शौचालय र धारा पनि जोडिएको छ ।

एउटै ढोकाबाट छिरेर काम सम्पन्न भएपछि निस्कने ढोका भने अलग रहेको छ । प्रभावकारी, सहज पहुँचयोग्य, सरल तरिकाले सेवाग्राहीमैत्री कार्यालयको सेवा प्रवाह शैली प्रशंसायोग्य रहेको छ ।

गाउँपालिकाका विभिन्न ८ ओटा वडाबाट आउने सर्वसाधारणहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु, कार्यालयसँग सम्बन्धित कामको लागि आउने व्यक्तिहरु सिस्ने गाउँपालिकाको एकीकृत सेवा प्रवाह शैलीबाट प्रभावित भएका छन् । 

सिस्ने गाउँपालिकाका प्रवक्ता जीवन केसीले कर्मचारी प्रशासनसँग सम्बन्धित कामको लागि एउटै ढोकाबाट सेवा प्रवाहको शैली अपनाइएको छ भने जनप्रतिनिधिहरुको लागि छेउमै अर्को भवन रहेको जनाउनुभयो । जहाँबाट नीति तथा योजना निर्माण, योजना अनुगमन तथा कार्यान्वयन, गुनासो सुनुवाइलगायतका सेवा प्रवाह भइरहेको छ प्रवक्ता केसीले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १३, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया