कारागारमा कोरोना : कैदीलाई अदालत र अस्पताल ओहोरदोहोर गराउँदा जोखिम

 भदौ २९, २०७७ सोमबार ११:५३:७ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – जेलभित्र रहेका कैदीलाई समेत कोरोना सङ्क्रमण भएको सुनेपछि धेरैले सामाजिक सञ्जालमा लेखे, ‘घरभित्र बसेर कोरोना लाग्दैन भने जेलमा बसेको कैदीलाई कसरी कोरोना लाग्यो ?’

जेल बाहिर निस्कनै नपाउने कैदीलाई कोरोना कसरी लाग्यो भन्ने धेरैको जिज्ञासा छ ।  तर कैदी सधैं जेलभित्र मात्र हुँदैनन् । बेलाबेला उनीहरुमध्ये कतिलाई अदालत र कतिलाई अस्पताल लैजानुपर्छ । अदालत र अस्पताल ओहोरदोहोर गराउने क्रममा कारागारभित्र कोरोना फैलिएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले बताउनुभयो ।

कसैको मुद्दाको सुनुवाइ, कसैको तारिखी जस्ता विभिन्न कारण अदालत धाइरहनुपर्ने भएकाले कोरोना सङ्क्रमणको जोखिम रहेको सापकोटाको भनाइ छ । 

‘कैदीहरुलाई अदालत लगिरहनुपर्ने काम हुन्छ, यस्तोबेला कहाँबाट कसरी कोरोना सङ्क्रमण भयो पत्तै हुँदैन’, उहाँले भन्नुभयो ।

यस्तै कतिपय कैदीबन्दी दीर्घरोगी तथा अरु स्वास्थ्य समस्या भएका हुन्छन् । उनीहरुलाई  उपचारको लागि अस्पतालमा लगिरहनुपर्ने तथा डाक्टरहरुसँग सम्पर्कमा गैरहनुपर्ने भएकाले त्यहाँबाट पनि सङ्क्रमणको जोखिम रहने उहाँको भनाइ छ ।

कैदीमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य सतर्कतामा एकदमै ध्यान दिइएको पनि सापकोटाले बताउनुभयो ।

‘मुद्दाको लागि अदालत लैजानुपर्दा कैदीलाई पीपीई लगाइदिने गरेका छौं, यस्तै कारागारभित्र मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गराएका छौं’ उहाँले भन्नुभयो, ‘कसैलाई रुघा तथा ज्वरो आएको देखिनेबित्तिकै क्वरेण्टीनमा राखेर पीसीआर परीक्षण गर्ने गरेका छौं ।’

दुई सय ३१ कैदी सङ्क्रमित, पाँचजनाको ज्यान गयो

कारागार व्यवस्था विभागका अनुसार भदौ २८ गतेसम्म ११ जिल्लाका दुईसय ३१ जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पर्सा, सिरहा, सुनसरी, काठमाण्डौ, पाँचथर, जुम्ला, सप्तरी, बाँके, स्याङ्जा, सिन्धुपाल्चोक र ललितपुरका कारागारमा रहेका ८ सय ५७ जना कैदीको पीसीआर भएकोमा २ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । 

यस्तै ८९ जना सङ्क्रमणबाट मुक्त भइसकेका छन् भने एक सय ३१ जनाको उपचार भइरहेको छ । कोरोनाका कारण पाँच जना कैदीले ज्यान गुमाएका छन् । कारागार व्यवस्था विभागका अनुसार ज्यान गुमाउने सबै केन्द्रीय कारागारका कैदीहरु हुन् । यस्तै बाँके, स्याङ्जा, सिन्धुपाल्चोक र ललितपुरका कारागारमा रहेका कैदी सङक्रमणमुक्त भइसकेका छन् । 

सिरहामा सबैभन्दा धेरै कैदीमा कोरोना देखिएको छ । सिरहामा ८६ जना कैदीमा कोरोना देखिएकोमा ३ जना निको भइसकेका छन् । केन्द्रीय कारागार सुनधारामा ६५ जना कोरोना सङ्क्रमित कैदीमध्ये ३१ जना निको भइसकेका छन् । 

यस्तै सप्तरीमा १६ कैदी, पाँचथरका तीन कैदी र जुम्लामा चार कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ र सबैको उपचार भइरहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । सुनसरीमा ८ जना कैदीमध्ये तीन जना निको भइसकेका छन् भने पाँच जनाको उपचार भइरहेको छ । नेपालगञ्जमा सङ्क्रमित ८ जना कैदी सबै निको भएका छन् ।

ज्यान गुमाउनेहरु सबै दीर्घरोगी

कोरोनाबाट ज्यान गुमाएका पाँचैजना कैदी दीर्घ रोगी भएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

गएको भदौ १६ गते साँझ काठमाण्डौको सुनधारामा रहेको केन्द्रीय कारागार (सेन्ट्रल जेल)का एकजना कैदीको कोरोनाका कारण ज्यान गयो । ४१ वर्षीय ती पुरुषमा १४ गते नै कोरोना सङक्रमण पुष्टि भइसकेको थियो । 

भदौ १६ गते नै केन्द्रीय कारागारका तीनजना अरु कैदीले उपचारकै क्रममा वीर अस्पतालमा ज्यान गुमाएका थिए । ज्यान गुमाएका तीन जना कैदीमध्ये दुई जनाको मृत्युपछि भोलिपल्ट कोरोना पुष्टि भयो । भदौ १६ देखि भदौ २० गतेसम्म पाँच दिनको बीचमा केन्द्रीय कारागारका कोरोना सङ्क्रमण पुष्टि भएका पाँच जना कैदीको  ज्यान गएको सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार उनीहरु सबै विभिन्न स्वास्थ्य समस्या भएपछि लामो समयदेखि केन्द्रीय कारागारको अस्पतालमा उपचाररत थिए र समस्या झन् बढेपछि बाहिरका अस्पतालमा उपचार गर्न लगिएको थियो ।
‘क्षयरोग, मृगौला सम्बन्धी रोग तथा मानसिक रोगीहरुले नै ज्यान गुमाउनुभएको छ’, सापकोटाले भन्नुभयो, ‘ज्यान गुमाउने सबै ४० देखि ६० उमेर समूहका रहेका छन् ।’

ठाउँ अभावका कारण सङ्क्रमणको जोखिम

नेपालमा ७१ वटा कारागार रहेका छन् र ती कारागारको कैदी क्षमता १८ हजार मात्र हो । तर अहिले ती कारागारमा २४ हजार कैदी रहेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले बताउनुभयो । 
विशेषगरी तराईका कारागारमा कैदीहरुको सङ्ख्या बढी रहेको र उनीहरुलाई भौतिक दूरी कायम गरेर राख्न असम्भव नै भएको उहाँको भनाइ छ ।

कारगारमा कोरोना संक्रमण फैलिएपछि कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

आयोगले कारागारभित्र रहेका कैदी–बन्दीको स्वास्थ्य सम्बन्धी हक र बाँच्न पाउने अधिकार संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया