कोरोनासँगै फेरियो पढाउने शैली, परीक्षा लिने तरिका नै व्यावहारिक बनाइने

 भदौ २९, २०७७ सोमबार ११:५७:३७ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै - कोरोना संक्रमणका कारण शैक्षिक सत्रको सुरु भए पनि शिक्षण संस्था खुलेनन् । तर कतिपय विद्यालयले वैकल्पिक विधिबाट शिक्षण सिकाइ सुरु गरे ।

सुरुमा मान्यता नदिए पनि यो शैक्षिक सत्र नै खेर जाने डर बढेपछि सरकारले वैकल्पिक शिक्षण सिकाइलाई मान्यता दिने निर्णय गरेको छ । जसअनुसार सरकारले होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षा आदि वैकल्पिक पद्धतिबाट सिकेको सिकाइलाई मान्यता दिने भएको छ । त्यसको लागि विद्यार्थीलाई पाँच समूहमा वर्गीकरण गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका’ जारी गरेको छ । 

निर्देशिकामा विद्यार्थी वर्गीकरण

क. सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूह,

ख. रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थी समूह,

ग. टेलिभिजन पहुँच भएका विद्यार्थी समूह,

घ. कम्प्युटर भएका तर इन्टरनेट कनेक्टीभिटी नभएका विद्यार्थी समूह,

ङ. इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूह ।

यसरी पाँच समूहमा वर्गीकरण गरेर आवश्यक पाठ्यपुस्तक लगायत सामग्री सबै विद्यार्थीलाई उपलब्ध गराइएको सरकारको दाबी छ । 

प्रविधि बाहिरको सिकाइ

सरकारले पाँच महिनासम्म पनि विद्यालय खोल्न सक्ने आधार नदेखेपछि वैकल्पिक सिकाइको निर्णय गरेको हो । जसअनुसार रेडियो मात्रै भएकाले रेडियोबाट, टेलिभिजन भएकाले हेरेर, इन्टरनेट भएकाले अनलाइनबाट र सबै प्रविधिको पहुँचमा रहेका विद्यार्थीले आफ्नो अनुकूल पढ्न आधार बनेको छ । तर यी सबै प्रविधिको पहुँचबाट बाहिर रहेका विद्यार्थीका लागि पनि सरकारले व्यवस्था गरेको छ ।

यो समूहका लागि सरकारले पाठ्यपुस्तक, सिकाइ क्रियाकलाप पुस्तिका लगायतका सामग्री पठाउने निर्देशिकामा उल्लेख छ । त्यसरी पठाइएका सामग्री विद्यार्थीले आफैँ अध्ययन गरेर नबुझेका विषय शिक्षकलाई सोध्न सक्छन् । फोनबाट पनि सोध्न सकिने, दूरी कायम गरेर शिक्षकले पढाउने वा शिक्षक नै टोलमा जाने तथा सिकाइ सहजीकरणका लागि नजिकैको विद्यालय, सामुदायिक भवन लगायतका ठाउँमा बोलाउन पनि सक्ने व्यवस्था रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताउनुभयो । 

‘विद्यार्थीसँग अनलाइन पनि छैन, रेडियो पनि छैन, टेलिभिजन पनि छैन, केही पनि छैन भने छपाइ गरेका सामग्री, किताब, अभ्यास पुस्तिका, क्रियाकलाप पुस्तिकाले सहयोग गर्छ’, उहाँले भन्नुभयो, ‘विद्यार्थीले यसबाट नियमित सिकाइ हासिल गर्छ । त्यसमा केही प्रश्न भए शिक्षकसँग फोनबाट सोध्ने तरिका, दूरी कायम गरेर शिक्षकले पढाउने वा शिक्षक नै टोलमा जाने तथा सिकाई सहजीकरणका लागि नजिकैको विद्यालय, सामुदायिक भवन लगायतका ठाउँमा बोलाउन पनि सक्ने व्यवस्था छ । तर यो सबैको लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ।’ 

प्रविधिको पहुँचमा भएकाले पनि स्वअध्ययन गरेर आफ्ना जिज्ञासा नजिकैका शिक्षकलाई सोध्न सक्नेछन् । 

इन्टरनेटको समस्या 

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गएको चैत ११ गतेदेखि लकडाउन गर्यो । लकडाउनका कारण विद्यालयसहित अरु सबै क्षेत्र झण्डै ४ महिना ठप्प भयो । यो बेलामा पनि वैशाख दोस्रो हप्तापछि नै केही निजी विद्यालयले अनलाइनमा पढाउन थाले । तर सरकारले शुल्क नलिन निर्देशन दिएपछि केही दिन अनलाइन सिकाइ बन्द पनि गरे । त्यसपछि सरकारले नै रेडियो, टेलिभिजन र इन्टरनेटबाट पढाउने भनेपछि फेरि पढाइले निरन्तरता पायो । 

इन्टरनेट र फोनको नेटवर्क टिप्नको लागि विद्यार्थी रुखमाथि चढेका, घरको धुरीमा पुगेका जस्ता तस्बिर र सामाजिक संजालमा सार्वजनिक पनि भएको थियो ।  यिनै समस्या समाधानको लागि सरकारले अहिले इन्टरनेट प्रदायक कम्पनीका पदाधिकारीसँग छलफल गरिरहेको शिक्षा मन्त्रालयका प्रवक्ता शर्माको भनाइ छ ।

‘पढाई भैरहेका बेला इन्टरनेट अवरुद्ध हुनेलगायतका समस्या परेको धेरैले गुनासो गरेका छन्’, उहाँले थप्नुभयो, ‘यही गुनासो सामाधानको लागि हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र इन्टरनेट प्रदायक कम्पनीसँग छलफल गरिरहेका छौं । इन्टरनेटको क्षमता सुधार गर्ने, विद्यार्थीलाई सहुलियत दिने लगायतका विषयमा छलफल केन्द्रित छ । मन्त्रालयले के गर्न सक्छ, त्यो गर्छ ।’ 

परीक्षा कसरी संचालन गर्ने ? 

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नै कोभिड-१९ संक्रमणको अवधिभर वैकल्पिक शिक्षा प्रणालीलाई मूल प्रणालीको रुपमा विकास गर्न लागिएको बताइसक्नुभएको छ । यसले पनि कोरोना संक्रमणका कारण अबको शिक्षण पद्धति नै परिवर्तन हुने भएको छ । अबका दिनमा शिक्षक र विद्यालयको स्वमूल्याङ्कनमा विद्यार्थी पर्नेछन् । 

‘कोरोनाको संक्रमण अघिसम्म पनि गोप्य तरिकाले प्रश्न बनाइन्थ्यो, परीक्षा हलभित्र मात्र सार्वजनिक गरिन्थ्यो’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्मा भन्नुहुन्छ, ‘तर अब पढाइको तरिका परिवर्तन भएजस्तै विद्यार्थीलाई दिइने प्रश्न पनि व्यवहारिक बनाउनुपर्छ । आफ्नै वरिपरिका विषयलाई प्रश्न बनाएर दिनुपर्छ, यसले विद्यार्थीको आलोचनात्मक चिन्तन बढाउँछ । यो आवश्यक छ ।’   

परम्परागत तरिकाले परीक्षा लिनेभन्दा पनि व्यवहारिक प्रश्न सोधेर परीक्षा लिँदा विद्यार्थीको क्षमता विकासमा थप वृद्धि हुनेमा उहाँको जोड छ । ‘परम्परागत तरिकाले लिइने परीक्षा प्रणाली परिवर्तन नगरी त जान सकिँदैन त्यही भएर पढाउने तरिका र परीक्षा लिने तरिका परिवर्तन गर्न आवश्यक छ’, शर्मा भन्नुहुन्छ । 

सरकारको यो तयारी र निर्णयले कोरोना संकटसँगै वैकल्पिक शिक्षा पद्धतिले समेत मान्यता पाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • Bikash Shrestha

    Sept. 15, 2020, 10:48 a.m.

    हो

  •  0 Reply

तपाईको प्रतिक्रिया