कोरोना र लकडाउनले रोकेन काम र कमाइ

 भदौ ३१, २०७७ बुधबार ११:४५:५१ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – कोरोनाको जोखिमसँगै भएको लकडाउनले धेरैको रोजगारी गुमेको छ । काम र कमाइको स्रोत घटेको छ । तर कतिपयले भने लकडाउनको समयमा पनि विभिन्न व्यवसाय गरेर राम्रै आयआर्जन गरिरहेका छन् । यस्तै मध्येमा पर्नुहुन्छ, संखुवासभाका प्रकाश राई ।

प्रकाशले ९ वर्षदेखि काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा तरकारी खेती गर्दै आउनुभएको छ । यसअघि भएका लकडाउन र निषेधाज्ञाले उहाँको व्यवसायमा खासै असर परेको छैन ।  १२ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएको छ । श्रीमतीले पनि काममा सघाउनुहुन्छ । काम र कमाइ भैरहेको छ ।  

पहिले उहाँले पानीको कम्पनीमा काम गर्नुहुन्थ्यो । तरकारी खेती गर्दा राम्रो हुने भन्ने थाहा पाएपछि त्यो काम छाडेर कृषिमा लाग्नुभएको हो । धेरैलाई गाह्रो बनाएको लकडाउनले उहाँको व्यवसायमा भने खासै असर गरेको छैन । ‘सुरुसुरुमा अलिअलि साह्रो गाह्रो त भयो, तर काम भने रोकिएन’ उहाँले भन्नुभयो । 

कोरोनाका कारण बजार पसल बन्द भए पनि तरकारी बिक्री वितरणमा भने कुनै समस्या भएन ।  पहिला उहाँले काठमाण्डौको विभिन्न हाट बजारमार्फत् तरकारीको व्यापार गर्दै आउनुभएको थियो । हिजोआज भने उहाँका नियमित ग्राहकले फार्ममै आएर पनि तरकारी किनेर लैजाने गरेका छन ।   

‘पहिला धेरै नै ग्राहक भएकाले तरकारी बिक्री र उत्पादनमा पनि खासै असर गरेन’ उहाँले भन्नुभयो । कृषि ज्ञान केन्द्रले सवारी पास बनाइदिएकाले उहाँलाई त्यति असहज भएन । 

तरकारी खेतीबाट ६ जनाको परिवार राम्रै चलिरहेको छ । विषादीरहित तरकारी खेतीबाट सिजनमा महिनामै ५÷६ लाख  र अरु सामान्य समयमा २ देखि ४ लाख रुपैँयासम्म आम्दानी हुने उहाँ बताउनुहुन्छ । विदेशमा गएर कमाउनुभन्दा यहीँ केही गर्नपर्छ भन्ने लागेर तरकारी खेतीतिर लागेको उहाँले बताउनुभयो । 

कमलामाई नगरपालिका सिन्धुलीकी सुशिला ढकालको अचार बनाउने ब्यवसायलाई पनि कोरोनाले रोकेको छैन । उहाँले अकबरे खुर्सानी, मेथीको लेदो, कटर, आँप, मिक्स र कागतीको अचार बनाउँदै आउनुभएको छ । उहाँले २०७० सालदेखि नियमित अचार बनाउँदै आउनुभएको हो । उहाँको अचार सिन्धुलीसहित काठमाण्डौ लगायतका जिल्लामा बिक्री हुन्छ । लकडाउनको समयमा पनि उहाँको अचार राम्रै बिक्री भयो । 

अचार बनाएरै उहाँले महिनामा ५० देखि ६० हजार रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । सुशिलाले लकडाउनको समयमा जिल्ला बाहिर त्यति धेरै अचार पठाउनुभएन । सिन्धुलीकै विभिन्न पसलमा बेच्नुभयो भने पुराना ग्राहकलाई पनि वितरण गर्नुभयो । 

लकडाउनपछि पनि अचारको राम्रै माग भइरहेको उहाँ बताउनुहुन्छ । २०७३ सालदेखि अचार बनाउन थाल्नुभएकी सुशिलासँगै अरु ६ जनाले पनि काम गर्नुहुन्छ । 

दिनमा ३/४ घण्टा अचार बनाउने कामलाई समय दिनुहुन्छ भने बाँकी समय घरको काममा दिनुहुन्छ । अचार बनाउने कामसँगै बाख्रा पालन पनि गर्नुभएको छ । अचार बनाउने काममा लकडाउने कुनै अवरोध पुर्याएको छैन । अचारलाई चाहिने सामान पनि बजारमा अभाव नभएको उहाँ बताउनुहुन्छ ।

अचार बनाउन चाहिने केही सामान बजारमा किन्नुहुन्छ भने मुला, काउली, आफैँ उत्पादन गर्नुहुन्छ । आफैँले उत्पादन गरेको सामग्रीले अचार बनाउँदा अरु किन्नुपर्ने सामानको बचत हुने गर्छ । उहाँले एक बट्टा तयारी अचारको १ सय ५५ रुपैयाँ लिनुहुन्छ । 

ज्वालामुखी गाउँपालिका धादिङका कृष्णबहादुर श्रेष्ठले २०५२ सालदेखि ललितपुरको सानेपामा नर्सरीको बिरुवा उत्पादन गर्दै आउनुभएको छ । १ रोपनी क्षेत्रफलमा फलफुल र तरकारीको बेर्ना उत्पादन गर्दै आउनुभएका उहाँ लकडाउनको समयमा तरकारीको बेर्नाको माग झनै अरु समयभन्दा बढेको बताउनुहुन्छ । लकडाउनको समयमा  सबै मानिस घरमै बसेको र कौसी खेती सुरु गरेकोले तरकारीको बेर्नाको माग बढेको हो । 

अहिले पनि दैनिक २ देखि ४ हजार रुपैयाँको व्यापार भइरहेको छ ।  अहिले उहाँको नर्सरीमा खुर्सानी, घिरौँला, भ्यान्टे खुर्सानी र काउलीका ३ हजारदेखि ३५ सय बिरुवा छन । त्यस्तै २५ सय  सयपत्रीको बिरुवा छ । 

प्याकेट बिउ ल्याएर राम्रो बिरुवा उत्पादन गर्न समय र मेहनेत लाग्ने भए पनि  अहिलेसम्म उहाँले घाटा बेहोर्नुपरेको छैन । 

‘बजारमा अहिले बीउ किन्नका लागि सहज नै छ । कृषिको लागि सरकारले पनि छुट पनि दिएको छ’ कृष्ण बहादुर श्रेष्ठ भन्नुहुन्छ ‘फ्लोरिकल्चर एशोसियसन नेपालले पनि कार्ड बनाएर दिए्को छ । त्यसले गर्दा हिँड्न गाह्रो भएन ।’ 

उहाँले लकडाउनकै समयमा धादिङ लगायतका विभिन्न ठाउँमा विरुवाहरु पुर्याउने काम गर्नुभयो । कोरोनाको कारण अनावश्यक डराउन नहुने तर मास्क, पञ्जा  लगाउने, भौतिक दूरी कायम गर्ने लगायत सावधानी अपनाई व्यवसायलाई निरन्तरता दिन सकिने उहाँको भनाई छ ।  

काभ्रेका मोहन श्रेष्ठले पनि घरमै कुखुरा पालनलाई समय दिई लकडाउनको सदुपयोग गर्नुभएको छ । पेशाले पत्रकार श्रेष्ठले पहिलेदेखि नै अलिअलि कुखुरा  पाल्दै आउनुभएको हो । लकडाउनमा कार्यालय जान नपाएपछि उहाँले कुखुरापालनलाई बढी जोड दिनुभयो । लकडाउनपछि  हरेक महिना, एक सयवटा चल्ला थप्ने गर्नुभएको छ ।

कुखुरा पालनबाट राम्रो आम्दानी भैरहेको र घरखर्च चलाउन पुगिरहेको उहाँ बताउनुहुन्छ । भन्नुहुन्छ, ‘लकडाउनको समयमा घरमै बस्नुपर्ने भयो त्यसपछि कुखुरा ल्याएर थपेको हो ।’ अब  कार्यालयमा काम सुरु भएपछि पनि उहाँले कुखुरा पालन व्यवसायलाई निरन्तरता दिने सोचमा हुनुहुन्छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया