बलात्कारको उजुरी गर्न गाउँलेले रोकेपछि सप्तरीमा एक किशोरीले आत्महत्या गरिन्

 भदौ ३१, २०७७ बुधबार १२:४२:३२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – बलात्कारको उजुरी गर्न गाउँलेले रोक लगाएपछि सप्तरीमा एक किशोरीले आत्महत्या गरेकी छिन् ।

बलात्कार गर्नेहरु विरुद्ध उजुरी गर्न नदिएपछि डाकनेश्वरी नगरपालिकाकी १७ वर्षकी किशोरीले आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानी हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाको भनाई छ ।

आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा गाउँलेको भेला बसी रोकेपछि छोरी निकै तनावमा परेकी पनि उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार गाउँले भेलाको निर्णय चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् ।

गाउँका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक खड्काको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

किशोरीले आत्महत्या गरेपछि सामुहिक बलात्कारका चार आरोपित फरार भएका छन् । प्रहरीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउनेमध्ये जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई पक्राउ गरेको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Shyam gurung

    Sept. 16, 2020, 2:34 p.m.

    बलात्कार गर्ने ४ जना अपराधी र पुलिसकहाँ जान रोक्ने सबैलाई कारवाही गरियोस् /

  •  0 Reply

तपाईको प्रतिक्रिया