सडक बजारमा चहलपहल बढ्यो : कोरोनाबाट बच्न विज्ञका १२ सुझाव

 असोज १, २०७७ बिहिबार १२:५६:६ | सजना तिमल्सिना
unn.prixa.net

कोरोनाको जोखिम बढेपछि ६ महिनादेखि बन्द रहेका विभिन्न क्षेत्र र सेवा खुल्न थालेका छन् । सडक बजारमा चहलपहल बढेको छ । कोरोनाको जोखिम कम नभए पनि जनजीवन र आर्थिक गतिबिधि सामान्य बनाउन भन्दै सरकारले बजार, पसल, सार्वजनिक गाडी खुलाएको हो ।

विद्यालय, मनोरञ्जनस्थल, धार्मिक र सांस्कृतिक गतिबिधि, भोजभतेर र जमघटबाहेक धेरै क्षेत्र खुला भएका छन् । यसबाट संक्रमण झनै बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने भएको छ । निषेधाज्ञा गर्नुअघिको अवस्था भन्दा अहिले कोरोना संक्रमण दोब्बर बढेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार भदौ पहिलो हप्ता दिनहुँ औसत ७ सय ५३ हाराहारीमा संक्रमित थपिने गरेकामा अन्तिम हप्ता यो संख्या बढेर दैनिक १ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भदौको अन्तिम दिन बुधबार देशभर अहिलेसम्मकै धेरै १ हजार ५ सय ३९ जनामा कोरोना पुष्टि हुँदा काठमाण्डौ उपत्यकामा मात्रै ७ सय ३७ जना थपिएका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४१ हजार ७ सय ६ जना निको भएका छन् भने १६ हजार २ सय ४२ जना आइसोलेशनमा छन् । यस्तै ७ हजार ८ सय २० जना क्वरेण्टीनमा छन् ।  

जोखिम कम नभए पनि धेरै क्षेत्र खुला भएपछि व्यक्ति आफैंले कोरोनाबाट बच्ने उपाय खोज्नुपर्ने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम, सहप्रवक्ता डा. समिरकुमार अधिकारी र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजभण्डारीले दिनुभएका १२ सुझाव  :

सकेसम्म घर बाहिर ननिस्कने 

धेरै मानिसमा घर बाहिर निस्केको बेलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैले सकेसम्म घर बाहिर ननिस्कनु नै संक्रमणबाट बच्ने राम्रो उपाय हो । बाहिर निस्कँदा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । सकेसम्म भिडभाडमा जानु हुँदैन । बाहिर निस्कँदा पनि सबैलाई शंकाको भावले हेर्दा व्यक्तिगत दूरीलगायतका सावधानी अपनाइने हुँदा कोरोना सङ्क्रमणबाट जोगिन सकिन्छ । 

अनिवार्य मास्क लगाउने 

कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिँदै गर्दा सरकारले अनिवार्य मास्क लगाउन सबैसँग अनुरोध गरेको छ । नाक र मुख छोपिने गरी मास्क लगाउँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने जोखिम कम हुन्छ । संक्रमित व्यक्तिको थुकका छिटा अर्को व्यक्तिमा पर्दा संक्रमण सर्ने जोखिम हुन्छ । त्यसैले भिडभाडमा जाँदा आफू सङ्क्रमित नहुन र अरु व्यक्तिलाई पनि संक्रमणको जोखिमबाट बचाउन मास्कले केही हदसम्म सहयोग पुर्याउँछ । 

तर अहिले बजारमा कमसल किसिमको मास्क पनि आउन थालेको छ । सर्जिकल मास्कको प्रयोग गर्दा संक्रमणबाट जोगिन सकिन्छ । कपडाको मास्कले प्रदुषण मात्रै रोक्छ । यस्तै कोरोनाको बिरामी भेट्न जान लागेको हो भने एन–९५ मास्क नै लगाउनुपर्छ ।

दूरी कायम गर्ने 

जुनसुकै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको हुन सक्छ । बाहिरबाट हेरेर संक्रमित व्यक्ति थाहा हुँदैन । लक्षण नदेखिएका व्यक्ति पनि हुन सक्छन् । त्यसैले दूरी कायम गर्दा संक्रमण हुनबाट जोगिन सकिन्छ । यस्तै कोही पनि व्यक्तिसँग हात मिलाउन र अंकमाल पनि गर्न हुँदैन । उसँगको दूरी कम्तिमा दुई मिटर कायम गर्नुपर्छ र परैबाट बोल्नुपर्छ ।

सकेसम्म मुखामुख गरेर कुरा गर्न हुँदैन । आमनेसामने नै हुँदा पनि दूरी कायम गरेर बोल्दा संक्रमण सर्ने जोखिम कम हुन्छ । संक्रमित व्यक्ति नजिकै छ भने उसँग १५ मिनेटभन्दा लामो समय बस्दा कोरोना सर्ने जोखिम हुन्छ । त्यसैले लामो समय गफ गर्न हुँदैन । 

जहाँ पायो त्यही नछुने, नथुक्ने 

सामान्यतया व्यक्तिको स्वभाव जता पनि छुने र थुक्ने हुन्छ । तर अब कतै छुँदा कोरोना भाइरस पनि हुन सक्छ भनेर ख्याल गर्नुपर्छ । यस्तै आफूमा संक्रमण भए थुकको माध्यमबाट पनि सर्न सक्ने भएकाले जहाँ पायो त्यहीँ थुक्नु हुँदैन । कतै छोइसकेपछि सिधै नाक, कान र मुखमा नछोएको राम्रो हो । छुनै परे साबुनपानीले राम्ररी हात धोएपछि मात्रै छुनुपर्छ । 

कार्यालय र घर प्रवेश अघि र पछि हात धुने 

कोरोना भाइरस जता पनि हुन सक्ने भएकाले बेलाबेला साबुनपानीले हात धुने गर्नुपर्छ । हात धुन सम्भव छैन भने स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । यसरी हात धोइरहँदा हातमा आएको भाइरस बगेर जान्छ । घरमा वा कार्यालयमै बस्दा पनि साबुनपानीले हात धुँदा अर्को व्यक्तिमा संक्रमण सर्ने खतरा कम हुन्छ । 

सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्ड पालना गर्ने

सार्वजनिक गाडीमा जोकोही पनि चढ्न सक्छ । त्यही भएर गाडीमा चढ्दा, भित्र बस्दा र निस्कँदा व्यक्तिगत दूरी लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन जरुरी छ । गाडीमा चढ्दा सकेसम्म पैसा साट्न नपर्नेगरी भाडा दिनुपर्छ । गाडीमा भएका फलामका पाटपुर्जा नछुँदा राम्रो हुन्छ । 

कार्यालयमा बस्दा टेबुल कुर्सी सफा गर्ने

आफूभन्दा अगाडि बसेको व्यक्तिमा कोरोना संक्रमण भएको हुन सक्छ भन्ने सोचेर टेबुल वा कुर्सी सफा गरेर बसेको राम्रो हुन्छ । यसबाट कोरोना सर्ने जोखिम मात्र नभएर सफा ठाउँमा बसेर काम गर्दा छुट्टै आनन्द पनि मिल्छ ।

शौचालय डिस्इन्फेक्सन गर्ने 

कोरोना भाइरस शौचालयबाट पनि सर्ने जोखिम धेरै हुन्छ । घर तथा कार्यालयमा शौचालय साझा हुने भएकाले आफू पस्नु अघि र निस्कने बेला सफा गर्नु अनिवार्य हुन्छ । आफूलाई अरुबाट संक्रमण नसरोस् र अरुबाट पनि आफूलाई नसरोस् भन्नका लागि शौचालय अनिवार्य सफा गर्नुपर्छ । 

कामबाट फर्किएपछि नुहाएर मात्र बस्ने 

कामका कारण घर बाहिर निस्कँदा ख्याल नगरे संक्रमित व्यक्तिबाट घरसम्म कोरोना आइपुग्न सक्छ । धेरै व्यक्तिलाई लक्षण नदेखिन सक्छ । तर पहिलेदेखि नै स्वास्थ्य समस्या भएका व्यक्तिलाई संक्रमण भए गाह्रो हुन्छ । दीर्घरोगी, बुढाबुढी, गर्भवती, सुत्केरी र बालबालिका भएका घरका सदस्यले बाहिरबाट घर पुगिसकेपछि नुहाएर मात्रै उनीहरुको सम्पर्कमा जानुपर्छ । नुहाउँदा भाइरस भए पनि मर्ने भएकाले तातोपानी प्रयोग गर्दा राम्रो हुन्छ । 

कोठामा बस्दा झ्याल खोल्ने

झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना बस्दा संक्रमण तीब्र गतिमा फैलने जोखिम हुन्छ । झ्याल ढोका खोलेर बस्दा कोठा गुम्म हुँदैन । यसले मानिसमा सकारात्मक भाव र काममा उर्जा मिल्ने भएकाले झ्याल ढोका खोलेर बस्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । 

घरमा बुढाबुढीलाई बचाउने 

विश्वका विभिन्न देशमा कोरोना संक्रमण पुष्टि भएका दीर्घरोगी, बालबालिका र पाका उमेरका धेरैको ज्यान गएको पाइएकाले उनीहरुलाई सकेसम्म जोगाउनुपर्छ । त्यसको लागि घरका अरु उमेर समूहका व्यक्तिले ख्याल गर्नुपर्छ । 

बिरामीको हेरचाहमा सावधानी अपनाउने

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएपछि घरमै आइसोलेशनमा बस्ने संक्रमितको संख्या पनि धेरै छ । यो अवस्थामा घरका सदस्यले नै बिरामीको ख्याल गर्नुपर्ने हुन्छ । आइसोलेशनमा बसेका व्यक्ति र संक्रमण नभएका व्यक्तिले छुट्टै शौचालय प्रयोग गर्नुपर्छ ।

संक्रमितसँगै उनीहरुको हेरचाहमा रहेका परिवारका सदस्यले अनिवार्य मास्क, पन्जा लगाउनुपर्छ । खानेकुरा दिँदा पनि दूरी कायम गर्नुपर्छ । यो बेलामा तातो झोलिलो र पोषणयुक्त खानेकुरा आवश्यक पर्छ । संक्रमितको अनुहार देख्दैमा र उनीहरुसँग बोल्दैमा कोरोना सर्ने भन्ने हुँदैन । त्यही भएर हेर्नै नहुने, बोल्नै नहुने संक्रमितलाई माया, स्नेह र ढाडस पनि आवश्यक पर्छ

कोरोना संक्रमणको दर दैनिक बढिरहेको अवस्थामा दैनिकी पहिलेजस्तै भयो भनेर हेलचेक्राईँ गर्नु व्यक्ति स्वयमसँगै उसको परिवार, छिमेकी र आफन्तको लागि घातक भएकाले व्यक्ति आफैं सचेत हुनुपर्छ । 


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया