कोरोनाविरुद्धको लडाइँमा नागरिक अग्रमोर्चाका सिपाही हुन् : परराष्ट्रमन्त्री ज्ञवाली

 असोज १, २०७७ बिहिबार १७:११:९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाको सिपाही भएको बताउनुभएको छ ।

यो लडाइँ सरकारको मात्र नभएको भन्दै उहाँले सबै नागरिकलाई सतर्क र सचेत रहँदै सहयोग गर्न आग्रह गर्नुभएको छ । मन्त्री ज्ञवालीले यो लडाइँ हतियार, गोलाबारुद र पैसाले लड्न सक्ने लडाइँ नभएको पनि बताउनुभयो । 

गुल्मीको सदरमुकाम तम्घासमा बिहीबार कोभिड–१९ परीक्षण प्रयोगशाला ल्याबको उद्घाटन गर्दै उहँले यस्तो बताउनुभएको हो । वर्तमान सरकारले स्वास्थ्यको क्षेत्रमा पर्याप्त ध्यान दिँदै कोभिडका कारण बिग्रन लागेको अर्थतन्त्रलाई लयमा फर्काउन र विदेशबाट फर्केका बेरोजगारहरुलाई रोजगारी प्रदान गर्नतर्फ लागेको बताउनुभयो । 

परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले सरकारले ७ प्रतिशतको दरले आर्थिक वृद्धिदर र १ दशमलव ५ प्रतिशतका दरले गरिबी घटाउँदै लगेको भन्दै नेपालले सबै सूचकाङ्कमा महत्त्वपूर्ण सफलता हासिल गर्दै गएको दाबी गर्नुभयो । 

'घर झगडामै बित्यो महत्त्वपूर्ण समय' 

मन्त्री ज्ञवालीले कोरोना भाइरसकाे विरुद्धमा लगाउनु पर्ने मूल्यवान् समय घरझगडामा बितेको बताउनुभएको छ । सीमा व्यवस्थापन, आर्थिक रिकभरी र कोभिडलगायतका विषयहरुमा घरझगडाका कारण उल्लेखनीय गति लिन नसके पनि पार्टी एकताबद्ध भएसँगै अब मुख्य कुरामा फोकस गरिने बताउनुभयो । 

देशमा राजनीतिक पार्टीहरु सुदृढ हुनु आवश्यक रहेको भन्दै उहाँले पार्टीको कलहले सबै क्षेत्रलाई असर पुराउने तर्क गर्नुभयो । घरभित्र भाँडा बजेपछि बाहिर छिमेकीहरुले निकै खुसी मनाएको र धेरैले मुख मिठ्याएको भन्दै मन्त्री ज्ञवालीले नेकपा एकतावद्ध बनेर अघि आएको कारण यो सबैका निम्ति खुसीको विषय भएको बताउनुभयो । 

गएको दुई महिनाअघि मात्रै हिमालय एअरलाइन्सले गुल्मीमा निःशुल्क पीसीआर मेसिन उपलब्ध गराएको थियो । त्यो पीसीआर मेसिनमा समस्या आएका कारण गएको महिना फिर्ता पठाइएपछि हिमालय एअरलाइन्सले फेरि अर्को मेसिन उपलब्ध गराएको थियो । 

रेसुङ्गा नगरपालिकाको व्यवस्थापीय सहयोगमा सञ्चालनमा ल्याउन लागिएको पीसीआर ल्याबले यसै हप्तादेखि परीक्षण सुरु गर्ने गुल्मी अस्पतालका डाक्टर उत्तम पाच्यले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत २७, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया