चरन क्षेत्रको अभाव, पुस्तैनीदेखिकाे चौरी पालन व्यवसाय सङ्कटमा

 असोज १, २०७७ बिहिबार १८:८:२० | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको दोरम्बा गाउँपालिकाको शैलुङ्ग क्षेत्रमा चौरी पालन गर्दै आएका किसानहरु चरन क्षेत्र नहुँदा पुस्तैनी पेसा नै सङ्कटमा पर्ने अवस्थामा छन् । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ्ग क्षेत्रमा पुर्खादेखि चौरी पालन गर्दै आएका किसानहरु अहिले समस्यामा परेका हुन् । 

विगतमा चौरी पालन गर्ने किसानहरुको सङ्ख्या कम थियो । तर केही वर्षयता चौरीबाट उत्पादित दूध, घ्यू, छुर्पी, चिज बिक्री गरेर किसानहरुले मनग्य आम्दानी गर्न थालेपछि लेकाली क्षेत्रका अन्य किसानहरुले पनि चौरी पाल्न सुरु गरेपछि चरन क्षेत्रको अभाव भएको दोरम्बा गाउँपालिका १ को  डडुवा गुफाका लालबहादुर योञ्जनले बताउनुभयो ।   

उहाँले भन्नुभयो, ‘शैलुङ्ग क्षेत्र उच्च लेकाली भूभागमा पर्ने भएकाले यस क्षेत्रमा आलु बाहेक अरु बाली नहुने हुँदा किसानहरु अन्य बाली लगाउन छाडेर चौरी पालनतर्फ आर्कषित भएका हुन् ।’ चौरी पालन गर्दै आएका किसानहरुका लागि पालिकाले चरन क्षेत्रको व्यवस्थापन लगायतमा सहयोग नगर्दा साह्रै समस्यामा परेको योञ्जनको गुनासो छ ।   

अहिले शैलुङ्गका १७ घरधुरीले तीन सयको सङ्ख्यामा चौरी पालन गर्दै आएका छन् । वर्षाको समयमा घाँस उम्रने र खुवाउन सहज भए पनि प्रयाप्त घाँस नहुँदा यो समयमा पनि किसानहरुले समस्या झेल्दै आएका छन् । हिउँदमा त झन् समस्या हुने गरेको किसानको गुनासो छ । 

चौरी पाल्दै आएका किसानहरुले पहिला स्थानीय गोदावरी र कालिञ्चोक सामुदायिक वनलाई चरन क्षेत्रको रुपमा प्रयोग गर्दै आएको डडुवा राजभिरका किसान फुर्वा शेर्पाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले सामुदायिक वनहरुले चरन क्षेत्र रोकेपछि किसानहरुलाई समस्या भएको हो । अहिले किसानहरुले आफ्नै खरबारीमा चरन क्षेत्र बनाएर त्यहीँ चौरी चराउने गरेका छन् ।’   

चौरी पाल्ने किसान बढेसँगै चौरीको गोठ निमार्ण र चरन क्षेत्रको समस्या भएको दोरम्बा गाउँपलिकाका उपाध्यक्ष कृशला घिसिङले जानकारी दिनुभयो ।  ‘गएको आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त केही बजेटबाट किसानहरुलाई केही सहयोग गरेका छौँ । गाउँपालिकाले यस आर्थिक वर्षमा चौरी चरन क्षेत्र व्यवस्थापन र गोठ सुधारको लागि बजेट विनियोजन गरेको छ । विनियोजित बजेट चाँडै कार्यान्वयनमा ल्याएर किसानहरुको समस्या समाधान गरिनेछ ।’ 

अन्तिम अपडेट: चैत ११, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया