सँगैका साथी काेही जागिरे छन्, काेही विदेशमा छन् तर जनुपलाई आफ्नै माटाेमा केही गर्नुपर्छ भन्ने लाग्याे

 असोज १, २०७७ बिहिबार १९:३०:५१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – उहाँका दुई दाजुहरु बैंक/वित्तीय क्षेत्रमा काम गर्नुहुन्छ । सँगैका कैयाैँ साथी विदेशमा छन् । तर उहाँलाई जागिर खाने, विदेश जाने कुनै चाह भएन । बरु गाउँघरकै माटोमा केही उद्यम गर्नुपर्छ भन्ने सोच पलायो, उहाँमा ।

त्यसैले गाउँघरमै खेर गएको पाखो, बाँझो जमिनमा सम्भावना खोज्दै, जमिनको उपयोग गर्दै व्यावसायिक बोयर जातको बाख्रापालनमा लाग्नुभएको छ, दोर्दी गाउँपालिका १ काे सिरुबारीका २२ वर्षीय जनुप अधिकारी ।

‘युवाहरु विदेश गएका छन् । गाउँघर रित्तिँदै गएका छन् । दुई/चार पैसा कमाउनकै लागि विदेश किन जानु ?’, उहाँले भन्नुभयो, ‘गाउँघरकै माटोमा श्रम–पसिना बगाउन सके यहीँ राम्रो कमाइ गर्न सकिन्छ । त्यसैले बाख्रा पालनमा लागेको छु ।’

घाम उदाएदेखि नअस्ताएसम्म उहाँको समय बाख्राकै रेखदेखमै बित्छ । बाख्रा पालनबाटै उहाँले राम्राे कमाउँदै आउनुभएको छ । यसैमा उहाँको मन रमेको छ ।

बुवा–आमाका साथै दुई दाजु (अनुप अधिकारी, बिनुप अधिकारी) को साथ र सहयोग लिएर उहाँले बाख्रा पालन गर्नुभएको हो ।

बाख्रा पालनमा घरपरिवारको पनि उतिक्कै साथ सहयोग मिलिरहेको छ, उहाँलाई । ‘घरपरिवारको साथ, सहयोगले बाख्रा पालन गरेको हुँ’, उहाँले भन्नुभयो ।

२०७६ चैतदेखि उहाँले १० लाख रुपैयाँको लगानीमा ‘अधिकारी बोेयर बाख्रा फर्म’ दर्ता गरी व्यावसायिक बाख्रा पालन सुरु गर्नुभएको हो ।

सुधारिएको खोर निर्माण र बाख्रा खरिदमा गरी झण्डै १० लाख रुपैयाँको लगानीमा उहाँले बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो ।

तनहुँबाट २० वटा बोयर बाख्रा (५० प्रतिशत) र प्रजननका लागि एउटा बोयर जातको बोका ल्याएर बोयर जातको बाख्रापालन सुरु गर्नुभएको, उहाँले ।

बाख्रा पालनबाट उहाँले आम्दानी लिन पनि सुरु गरिसक्नुभएको छ । अहिलेसम्म फर्मबाट २२ वटा बोयर जातका बाख्रा बेचिसक्नुभएको छ, उहाँले । अहिलेसम्म फर्मबाट १६ लाख रुपैयाँ बराबरको कारोबार भइसकेको उहाँले बताउनुभयो ।

पाल्न सजिलो हुनुका साथै या जातको बाख्राको मासुको माग र मूल्य दुवै राम्रो रहेकाले आफूले बोयर जातको बाख्रापालनलाई अघि बढाएको उहाँ बताउनुहुन्छ ।

‘बजारमा बोयर जातको बाख्रा, मासुको माग र मूल्य एकदमै राम्रो छ,’ उहाँले भन्नुभयो, ‘तर मेरो फर्मबाट विशेषगरी बाख्रापालनका लागि बोयर बाख्रा लैजाने गरेका छन् ।’

उहाँका अनुसार अधिकारी बाख्रा फर्मबाट ५० प्रतिशत बोयर जातको बाख्रा प्रतिकेजी आठ सय रुपैयाँ र ६२ प्रतिशत बोयर जातको बाख्रा प्रतिकेजी एक हजार रुपैयाँका दरले बिक्री हुँदै आएको छ ।

अहिले उहाँको फर्ममा २२ वटा माउ बाख्रा, आठ वटा बोका र दुई वटा पाठी रहेका छन् ।

आफ्नाे तीन रोपनीसहित भाडामा ६ रोपनी जग्गा भाडामा लिएर नाै रोपनी जग्गामा विभिन्न प्रजातिका घाँस लगाउनुभएको छ । बोयर जातको बाख्रापालनबाट वार्षिक पाँच लाख आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ ।

विदेश जान लाग्ने खर्च स्वदेशमै कुनै उद्यममा खर्चने सके स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उहाँ बताउनुहुन्छ ।

‘पैसाकै लागि बिदेसिनुभन्दा विदेश जाने पैसा बरु स्वदेशमै कुनै उद्यममा खर्च गरौँ । गाउँघरमै बसेर कृषि, पशुपालन गरी मनग्य कमाउन सकिन्छ’, उहाँले युवालाई आग्रह गर्नुभयो ।

बिस्तारै एक सयको हाराहारीमा बोयर जातको बाख्रा पालन गरी व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया