सागमा पदक जित्ने खेलाडीलाई सरकारकाे पदकले देखेन !

 असोज ४, २०७७ आइतबार १७:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धेरै विधाका व्यक्तिलाई सरकारले संविधान दिवसको अवसर पारेर विभूषित गर्‍याे । खेलकुद क्षेत्रलाई योगदान पुर्‍याएका पनि विभूषित भए । तर नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक दिलाउने खेलाडीलाई भने सरकारले दिने पदकले समेटेन ।

त्यही प्रतियोगिता आयोजना गर्न नेतृत्व भूमिका खेलेका केही पदाधिकारी भने विभूषित भए । नेतृत्व तहका व्यक्तिहरु विभूषित हुँदा खेलाडीलाई उपेक्षा गरेको भन्दै आलोचना भइरहेको छ ।

संविधान सभाबाट जारी भएको संविधानले आइतबार पाँचौ वर्ष पूरा गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका बाबजुद पनि सरकारले आइतबार संविधान दिवस भव्यताका साथ मनायो । दिवसको अवसरमा राष्ट्रलाई योगदान पुर्‍याएका केही मानिस विभूषित पनि भए । धेरै क्षेत्र समेटिएको मध्ये खेलकुद क्षेत्रका केही व्यक्ति पनि पदकका भागीदार भए । नेतृत्व तहका पदाधिकारी पदकबाट विभूषित हुँदा नेपालमा सम्पन्न १३ औँ सागमा पदक दिलाउने खेलाडी भने पदकबाट टाढा रहे ।

दक्षिण एसियाकै मेगा इभेन्टमध्येको सागबाट पदक दिलाउँदै देशको गरिमा उच्च बनाएका खेलाडीलाई पदकबाट सम्मान नगरिनु खेलाडीलाई उपेक्षा भएको कतिपयको टिप्पणी रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) का अध्यक्ष दीपक श्रेष्ठले गणतन्त्र आएपछि नेपाली खेलकुदलाई बेवास्ता गरेको दुःखेसो पोख्नुभयो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तिहरु पदक तथा विभूषणबाट विभूषित भएका छन् । तर खेललाई नै जीवन दिएर राष्ट्रका लागि पदक दिलाउन लक्ष्य राखेका खेलाडीलाई विभूषित नगरेको भन्दै आइतबार एनएनआईपीए नेपाली कांग्रेसले गम्भीर ध्यानकर्षण भएको विज्ञप्ति पनि जारी गरेको छ । नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले पदक वितरणमा खेलाडीलाई उपेक्षा गरेको भन्दै सरकारलाई सचेत गराएको बताउनुभयो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औँ सागका ५१ स्वर्ण पदक विजेता र १७ प्रशिक्षकलाई पदकका लागि सिफारिस गरेको थियो । तर एक जना पनि त्याे पदकका लागि राज्यले योग्य ठानेन । खेलाडीले दिलाएको त्यही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो । तर पदक दिलाउने सबै खेलाडी ओझेलमा परेका छन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया