गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

 असोज ५, २०७७ सोमबार १९:१०:२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रेसुङ्गा नगरपालिका १२ मा रहेको रानीपोखरी निम्न माध्यमिक विद्यालयको भवन निर्माणकाे विषयलाई लिएर झडप भएको हो । केही दिनअघि रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच विवाद भएको थियो ।

विवादकै क्रममा नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि कुटपिट गरेर गम्भीर बनाएको नेपाली कांग्रेस गुल्मीले बताएको छ । आफ्ना कार्यकर्तालाई कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै जिल्ला प्रशासन कार्यलय अगाडि कांग्रेसका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए ।

कांग्रेसका कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीले प्रशासन कार्यालयभित्र छिर्न नदिएपछि प्रहरी र उनीहरुबीच झडप भएको हो ।

झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र प्रदेश नेता पूर्ण केसीलगायत व्यक्तिहरु घाइते भएका छन् । झडपमा चार जना प्रहरी पनि घाइते भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

घटनामा संलग्न व्यक्तिमाथि मुद्दा दर्ता भइसकेकोले कोही पनि व्यक्ति कानुनबाट उम्कन नसक्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया