यो वर्ष पनि पूरा नहुने भयो गौतमबुद्ध विमानस्थल, पोखरालाई पनि हम्मेहम्मे

 असोज ७, २०७७ बुधबार ९:१३:० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये तोकिएको समयमा नै सम्पन्न हुने ठानिएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको काम पनि थला पर्दै गएका छन् । राष्ट्रिय गौरवका आयोजनाका सफल उदाहरण दिँदा सरकारले यी दुई आयोजनाकै नाम लिने गर्छ ।

तर विभिन्न कारणले यी दुई आयोजना पनि समस्यामा पर्दै गएका छन् । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्नको मिति कयौं पटक सरिसकेको छ । सन् २०२० अर्थात यो वर्षभित्र पनि आयोजनाको काम नसकिने पक्का छ । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण सम्पन्न गर्ने मिति २०२१ को जुनमा सक्न हम्मेहम्मे पर्ने देखिएको छ । 

गौतमबुद्ध विमानस्थल यो वर्ष पनि सम्पन्न नहुने

सन् २०१५ मा निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०१७ मै सक्ने लक्ष्य थियो । तर ठेकेदारको लापरबाहीका कारण आयोजना थलियो । ऋण लगानी गरेको एसियाली विकास बैंकले पनि ऋण दिन नसक्ने जनाएको थियो । तर नेपाल सरकारले निकै पहल गर्यो र आयोजना सन् २०१७ मा सक्नेगरी चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनसँग सम्झौता भयो । एसियाली विकास बैंक पनि सहुलियतपूर्ण  ऋण नरोक्ने निर्णयमा पुग्यो ।

सन् २०१७ मा आयोजना सम्पन्न भएन, आयोजनामा विभिन्न अवरोध आएपछि सन् २०१९ को मा सम्पन्न गर्ने नयाँ मिति तोकियो । सन् २०१९ मै दुई पटक म्याद थप गरे पनि विमानस्थलको काम सकिएन । सन् २०२० अर्थात् यसै अंग्रेजी वर्षको मार्चको नयाँ भाका पनि टरिसकेको छ ।  अब यो वर्षभित्र सक्ने नयाँ मिति तोकिएको छ तर यो वर्षभित्र पनि आयोजनाको काम नसकिने पक्का भएको छ । 

भैरहवा विमानस्थलका प्राविधिकहरु नेपाल आउन पाएनन्

कोरोना भाइरस नियन्त्रणको लागि सरकारले गएको चैतदेखि गरेको लकडाउन र विभिन्न प्रतिबन्धका कारण गौतमबुद्ध विमानस्थल आयोजनाले पूर्ण क्षमतामा काम गर्न पाएन । विदेशी प्राविधिक र इन्जिनियर उतै रोकिए, उपकरण पनि समयमा ल्याउन सकिएन ।

विमानस्थलको काम आइसीबी जेरो वन र जेरो टू गरी दुई भागमा बाँडेर भइरहेका छन् । आइसीबी जेरो वन अन्तर्गत रन वे, ट्याक्सी वे, पार्किङ, एप्रोन लगायतका भौतिक पूर्वाधार निर्माणदेखि ब्यागेज गेज ह्यान्डलिङ, रनवे लाइट जडान, यान्त्रिक अवतरण प्रणाली, एक्सरेलगायतका उपकरण जडान र फिनिसिङ अन्तर्गतका काम पर्छन् ।

आइसीबी जेरो टू अन्तर्गत सञ्चार उपकरण र जहाजलाई बाटो देखाउने उपकरण जडानको काम पर्छन् । यो कामको जिम्मेवारी थाइल्याण्डको एरो थाई कम्पनीले लिएको छ । ‘आईसीबी जेरो वन अन्तर्गतका उपकरण लगभग आइसकेका छन्, तर जडान गर्ने प्राविधिक आइसकेका छैनन्, चिनियाँ प्राविधिकहरुलाई नेपाल प्रवेशको लागि भिसा अनुमति दिएको एक हप्ता भएको छ, तर भिसा अनुमति पाए पनि अन्य प्रक्रिया पूरा गर्नुपर्ने रहेछ, अबको दुई/तीन हप्तामा उहाँहरु आउन सक्नुहुन्छ’ विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

अहिले ३५ जना चिनियाँ नेपाल आउनुपर्ने भए पनि आउन पाएका छैनन् । नेपाल आउने प्राविधिक चीनका पनि विभिन्न स्थानमा रहेकाले एकै ठाउँ जम्मा भएर नेपाल आउन समय लाग्ने उहाँको भनाइ छ । चिनियाँ प्राविधिक आइसकेपछि उपकरण जडानको लागि दुई महिना लाग्नेछ ।     

‘प्राविधिक नै आएका छैनन्, उनीहरु आएर उपकरण जडान सुरु भएपछि पूरा हुन कम्तीमा दुई महिना लाग्नेछ, त्यसपछि परीक्षणका काम हुनेछन्’ आयोजना प्रमुख अधिकारीले भन्नुभयो । यस्तै आईसीबी जेरो टू अन्तर्गत सीएनएम (कम्युनिकेसन, नेभिगेसन, मेट्रोलोजी) का उपकरण जडानको लागि अष्ट्रिया, अमेरिका र थाइल्याण्डबाट प्राविधिक आउनुपर्नेछ ।

कोरोना भाइरसका कारण उनीहरु आउने टुंगो छैन । उनीहरु आए भने दुई महिना जडानको काम र एक महिना परीक्षणको लागि समय लाग्नेछ । तर उनीहरु आउनको लागि विमानस्थल आयोजनाले परराष्ट्र मन्त्रालय र सम्बन्धित देशमा रहेका दूतावासमा पहल गरे पनि आउने टुंगो लागेको छैन  । 

‘जहाजमार्फत उपकरण आइसकेका छन्, तर अष्ट्रिया, अमेरिका र थाइल्याण्डबाट आउनुपर्ने प्राविधिक आउन पाएका छैनन्, हाम्रो काम ठप्प जस्तै छ’ आइसीबी जेरो टू अन्तर्गतको काम हेर्ने जिम्मा पाएका प्रविन न्यौपानेले भन्नुभयो । 

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड रुपैयाँ हाराहारी खर्च हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत रहेको छ । ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने छ । 

पोखरा विमानस्थल ६ महिनाअघि होइन, तोकिएकै समयमा सक्न पनि हम्मेहम्मे

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सन २०२१ को जनवरी अर्थात् सम्झौता अवधिभन्दा ६ महिनाअघि नै सक्ने आयोजनाको दावी  थियो । त्यसैअनुसार तीव्र गतिमा काम भइरहेको थियो । तर कोरोना भाइरसको महामारीका कारण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकोभन्दा ६ महिनाअघि होइन, तोकिएकै समयमा पनि पूरा नहुने देखिएको छ । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले चिनियाँ कामदार तथा प्राविधिक र निर्माण सामग्री तथा उपकरणको अभाव भएको छ । विमानस्थलमा काम गर्ने झण्डै दुई सय कामदार चीनमै रोकिएका छन् । ३० जना प्राविधिक तथा कामदार नेपाल ल्याउनका लागि कूटनीतिक पहल भएको र भिसा प्रक्रियामा गएको विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

‘चीनबाट कामदार र प्राविधिक आएका छैनन्, केरुङमा दुई ठूला उपकरण रोकिएका छन्, हामीले पूर्ण क्षमतामा काम गर्न पाएका छैनौं’ आयोजना प्रमुख मुनकर्मीले भन्नुभयो । सन् २०२१ को जुन महिनामा निर्माण कार्य सकिन्छ त ?  उज्यालो अनलाइनको प्रश्नमा मुनकर्मीले भन्नुभयो, ‘तोकिएको समयभन्दा ६ महिनाअघि सकिने सम्भावना सकियो, तोकिएको समय अवधिभित्र सक्न पनि मुश्किल हुने देखिएको छ ।’

झण्डै २३ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि काठमाण्डौ विमानस्थलको चाप कम हुने र पर्यटक बढ्ने अपेक्षा लिइएको छ । अहिलेसम्म विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगती र ४७ प्रतिशत वित्तीय प्रगती रहेको छ । 

कयौं आयोजना ढिलासुस्ती भइरहेको बेला पोखरा विमानस्थलले भने तोकिएको समयभन्दा चाँडो काम सक्ने लक्ष्यका साथ काम गरेपछि धेरैतिर उत्साह थपिएको थियो । तर कोरोना भाइरसको महामारीका कारण सरकारले लगाएको लकडाउन र अन्य देशले लगाएका नयाँ-नयाँ प्रावधानका कारण यो आयोजना ६ महिनाअघि होइन, सम्झौता गरिएको अवधिमा पनि सम्पन्न नहुने अवस्थामा पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया