सकिने बेलामा मनसुन झन् सक्रिय, केही ठाउँमा शुक्रबारसम्मै ठूलो पानी पर्ने

 असोज ७, २०७७ बुधबार ७:४६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज सेप्टेम्बर २३ तारिख, सामान्यतया नेपालबाट मनसुन बाहिरिने दिन हो ।

तर यो वर्ष मनसुन सकिने बेला झन् सक्रिय भएको छ । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो उत्तर पश्चिमतिर सरिरहेकाले नेपालमा मनसुन झन् सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

सामान्यतया जुन १० तारिखमा भारतबाट पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गर्छ । अनि मध्यक्षेत्र हुँदै पश्चिम पुगेर सेम्टेम्बर २३ मा पश्चिमबाट मध्यक्षेत्र हुँदै फेरि पूर्वबाट नै बाहिरिन्छ । तर यो वर्ष भारतमा नै मनसुन नसकिएकाले नेपालमा अझै केही दिन लम्बिने देखिएको छ ।

यो वर्ष दुई दिन ढिला गरेर मनसुन नेपाल भित्रिएको हो । यस वर्षको मनसुनमा धेरै ठाउँमा औषतभन्दा बढी पानी परेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएकाले पर्सि शुक्रबारसम्म नै देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम छ ।

अहिले पनि देशभरिकै मौसम बद्ली रही धेरै ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् कँडेलकाअनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना छ ।

पर्सि शुक्रबारसम्म नै धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहेको भन्दै सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यसैबीच हिजो दिउँसोदेखि नै धेरै ठाउँमा पानी परेपछि देशका सबै नदीमा ठूलो बाढी आउँने भएकाले आउँदो आइतबारसम्म नै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया