देशभर लगातार झरी : इलाम, झापा, नवलपुर र रुपन्देहीमा सबैभन्दा धेरै वर्षा

 असोज ७, २०७७ बुधबार १७:३७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभर लगातार झरी परिरहेको छ । गएको २४ घण्टामा इलाम, झापा, नवलपुर र रुपन्देहीमा सबैभन्दा धेरै वर्षा भएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको २४ घण्टामा इलाममा १५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । यस्तै झापामा १५४ मिलिमिटर, नवलपुरमा १४७ दशमलव २ र रुपन्देहीमा १३४ दशमलव २ मिलिमिटर पानी परेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेको र त्यो उत्तर पश्चिमतिर सरिरहेकाले नेपालमा मनसुन झन् सक्रिय हुँदा लगातार झरी परिरहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आउँदाे शनिबारसम्म नै लगातार जसो झरी पर्ने सम्भावना छ । सुदूरपश्चिमका केही ठाउँमा पानी पर्न रोकिए पनि अन्य ठाउँमा लगातार पानी पर्ने अनुमान छ ।

लगातार झरी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन्  । सामान्यतया सेप्टेम्बर २३ तारिख आज नेपालबाट मनसुन बाहिरिने भए पनि यो वर्ष मनसुन सकिने बेला झन् सक्रिय भएको छ । यसपालिको मनसुन एक हप्ता ढिलो गरी बाहिरिने मौसमविद्ले बताएका छन् ।

यसपालि दुई दिन ढिला गरी मनसुन नेपाल भित्रिएको थियो । यो वर्षको मनसुनमा धेरै ठाउँमा औसतभन्दा बढी पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया