'राम्रो व्यावसायिक योजना ल्याउनुहोस्, बैंकबाट ऋण लैजानुहोस्'

 असोज ८, २०७७ बिहिबार १०:२४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यतिबेला देश विदेशमा रहेका धेरै नेपालीको कोरोना महामारीका कारण रोजगारी गुमेको छ । विदेशमा रोजगारी गुमेपछि कतिपय नेपालमै केही गर्ने योजनासहित नेपाल फर्कनुभएको छ भने कतिजना फर्कने दिनको प्रतिक्षामा हुनुहुन्छ । 
धेरै जनाले भन्ने गर्छन्, पुँजी भए त देशमै केही गर्थें । तर देशभित्रै काम गर्ने जोश र जाँगर हुँदाहुँदै पनि धेरै युवा लगानीको अभावमा विदेशिन बाध्य भएका छन् । अहिले त सरकारले नै बैंक तथा बित्तीय संस्थामार्फत उद्यम गर्न चाहनेलाई सहुलियत ऋण दिन थालेको छ । तर अहिले अवस्था कस्तो छ भने एकातिर काम गर्न खोज्नेले ऋण पाउँदैन, अर्कोतिर बैंकले ऋण लिने मानिस पाउँदैन । बैंकमार्फत ऋण लिन के गर्नुपर्छ त ? ऋण लिन चाहनेले नपाउने कारण के हो त ? यसबारे सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको जवाफ उहाँकै शब्दमा :

बैंकमा ऋण लिन धेरै खाले मानिस आउनुहुन्छ । तर बैंकले ऋण लिन खोज्ने सबैलाई दिँदैन । जुन प्रयोजनका लागि ऋण लिए पनि भोलि त्यो ऋण त बैंकलाई तिर्नुपर्छ । त्यसैले बैंकले मुख्यतया ऋण लिन खोज्ने मानिस व्यवसाय गर्न सक्षम छ कि छैन भनेर हेर्छ ।

बैंकले व्यक्तिलाई प्रदान गर्ने ऋण पनि त नागरिककै पैसा हो, त्यो कुनै डोनेशन होइन । त्यसैले बैंकले त्यतिबेला ऋण दिन्छ, जतिबेला यो मानिसले व्यवसाय गरेर नाफा कमाएर लिएको ऋण तिर्छ भन्ने बैंकलाई विश्वास हुन्छ । 
ऋण लिनका लागि जुन व्यवसायिक योजना ल्याएको हुन्छ त्यसमा थुप्रै कुरा हेरिन्छ । 

सायद कुनै पनि बैंकले यो चाहँदैन कि कसैको घरजग्गा लिलाम गरेर पैसा उठाउन परोस् । त्यसैले राम्रो व्यवसायिक योजना ल्याउनुहोस्, प्रतिस्पर्धामा उत्रनुहोस् र ऋण लैजानुहोस् । 

तपाईँले गर्न खोजेको काम, त्यसमा संलग्न व्यक्ति, कच्चा पदार्थको पहुँच, यातायात, कर्मचारी व्यवस्थापन काममा अरु को को छन् लगायत एउटा व्यवसायको जुन चेन हुन्छ त्यो चेनको हरेक स्टेपलाई बैंकले विश्लेषण गरेर मात्र ऋण दिने हो ।

 अहिले व्यवसायमा पनि एकदमै प्रतिस्पर्धा छ । त्यो प्रतिस्पर्धामा जो खरो उत्रनुहुन्छ उहाँहरुले बैंकमार्फत ऋण पाउनुहुन्छ । तर बैंकलाई तपाईँ म तिम्रो ऋण भोलि तिर्छु भनेर विश्वस्त पार्नु पर्‍यो । 

बैंकहरु पनि यो चाहँदैनन् कि भोलिका दिनमा व्यक्तिले राखेको धितोबाट ऋण उठाउन परोस् । बैंकको चाहना भनेको त कमाएर त्यसबाट भएको नाफाबाट नै ऋण तिर्न सक्नुहोस् भन्नै हो ।  त्यसैले बैंकले जसलाई पनि ऋण दिँदैन, जो यी सबै कुरामा कडा रुपमा उत्रन सक्छन् उनीहरुले ऋण पाउँछन् । 

सायद कुनै पनि बैंकले यो चाहँदैन कि कसैको घरजग्गा लिलाम गरेर पैसा उठाउन परोस् । त्यसैले राम्रो व्यवसायिक योजना ल्याउनुहोस्, प्रतिस्पर्धामा उत्रनुहोस् र ऋण लैजानुहोस् । 

अहिले दुई सय अर्बजति बैंकसँग ऋण दिन मिल्ने आइडल पैसा छ । त्यो पैसा कहाँ लगानी गर्ने भनेर हामी लगानीको क्षेत्र खोज्दैछौं । भनेपछि त राम्रा व्यवसायी आउनुभयो भने त हामी ऋण दिन आतुर छौं । 

त्यसैले मेरो भनाइ के हो भने बैंकलाई ‘जस्टिफाइ’ हुने व्यसायिक योजना ल्याउनुहोस् । अहिलेको समय भनेको त बैंकमा धेरै रकम भएको बेला हो । यो बेलामा त झन ऋण पाउने सम्भावना बढी छ । किनभने बुवाआमाले पनि त धेरै पैसा छ भने छोराछोरीले मागे जति दिनुहुन्छ । तर कम पैसा छ भने प्रश्न पनि धेरै गर्नुहुन्छ । यो उदाहरण बैंकले दिने लोन सम्बन्धी व्यवस्थामा पनि मिल्छ । 

बैंकमा रकम टन्न भएको बेला तपाईँले ल्याएको प्रस्तावमा केही खुकुलो तबरले विश्लेषण गर्न सक्छन् । तर यदि पैसा कम भएको बेला भयो भने धेरै प्रश्न हुन सक्छ, केही टाइट गर्न सक्छन् । हुन त यो दुवै तरिका गलत हो । यसलाई म सहि भन्दिनँ । तर पनि यो बेलामा ऋण पाउने सम्भावना बढी छ । 

यो बेला कसैले ऋण पाउनुभएको छैन भने त्यसका लागि उहाँहरु नै पो सक्षम नभएर पो हो कि । यो समयमा त बैंकले जति पनि ऋण दिन चाहन्छ । अहिले बैंकमा राम्रो व्यवसायिक योजना लिएर आउनुभयो भने त बैंकहरुले तपाईँलाई हात जोडेर नमस्कार गरेर ऋण लैजानुस् भन्छ । 

ऋण लिन सक्नुभएन भने बैंकले त्यस्ता व्यक्तिलाई व्यवसाय गर्न सक्षम हुनुहुन्न भनेर नै हो नदिएको  । तर बैंकले सधै सही निर्णय गर्छ भन्ने होइन । बैंकको आफ्नो नीति हुन्छ । त्यसभित्र पर्नेलाई दिने हो । अहिले बैंकहरु त ऋण दिन आतुर छन् । ऋण दिन नसकेर पैसा आइडल बसेको अवस्था छ । 

सहुलियत ऋण

अहिले सहुलियत ऋणका विभिन्न स्किमहरु छन् । विदेशबाट फर्किएकालाई, महिला उद्यमशील कर्जादेखि शैक्षिक कर्जा लगायत छन् । धेरैको गुनासो सुनिन्छ यो ऋण लिन सकिएन । तर यसमा पनि ब्याजमा मात्र सहुलियत हो । यो ऋण लिन पनि अरु ऋण लिनजस्तै सबै क्षेत्रहरु पुग्नुपर्छ ।

यो कोरोना महामारीको समयमा बैंकहरुले विभिन्न स्किमहरु ल्याएका छन् । अहिले त बैंकसँग पैसा आइडल पनि छ । ऋण दिन आतुर पनि छौं । 

यो ऋण अहिले सबै बैंकका शाखाहरुमार्फत १० जनासम्मलाई प्रदान गर्ने भनिएको छ । त्यही अनुसार नै सबै बैंकले आफ्नो शाखाहरुलाई सर्कुलर जारी गर्नुभएको होला ।  सबै शाखाबाट यो ऋण प्रदान हुन्छ । सायद सबै बैंकले आफ्नो शाखाहरुलाई टार्गेट पनि दिइसक्नुभएको छ होला । 

यसबाहेक अर्को भनेको बैंकमार्फत कृषि कर्जा पनि पाइन्छ । जुन अन्तर्गत रकमको कुनै सीमा छैन । पाँच करोडसम्म हुनेलाई सरकारले सहुलियत दिने हो । दुई करोड हुनेलाई त्यही अनुसार सहुलियत दिने भन्ने हो । 

यो कोरोना महामारीको समयमा बैंकहरुले विभिन्न स्किमहरु ल्याएका छन् । अहिले त बैंकसँग पैसा आइडल पनि छ । ऋण दिन आतुर पनि छौं । 

त्यसैले तपाईँ ऋण लिन चाहनुहुन्छ भने राम्रो योजनासहित जानुहोस् । आफ्नो नजिकको शाखामा गएर बुझ्नुहोस् । बैंकलाई कन्भिन्स गर्नुहोस्, ऋण लैजानुहोस् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया