भरतपुर अस्पतालमा बढ्दै गएको ‘असुहाउँदो’ राजनीति !

 असोज ९, २०७७ शुक्रबार ६:४६:२२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनमा रहेको भरतपुर अस्पताल सङ्घीय स्तरको अस्पताल हो । पछिल्लो समय यस अस्पतालमा असुहाउँदो राजनीति हावी हुँदै गएको छ । महत्वपूर्ण विभागमा ठाडो हस्तक्षेपले कर्मचारीको मनोबल कमजोर बन्दै गएको छ भने सेरेमोनियल पदमा रहेका अध्यक्षको कार्यकारी प्रस्तुति देखिएको भन्दै अस्पतालका डाक्टरहरु असन्तुष्ट छन् ।

अस्पतालमा एक वर्षमा तीन लाखभन्दा बढी बिरामीले उपचार पाउँछन् । काठमाण्डौको प्रसूति गृहपछिको नेपालमै सबैभन्दा बढी प्रसूति गराउने अस्पताल यही हो । यो अस्पतालमा एक वर्षमा १३ हजारभन्दा बढी गर्भवतीले बच्चा जन्माएको तथ्याङ्क छ । 

दुई वर्षअघि मात्र सङ्घीय अस्पताल भएको भरतपुर अस्पतालमा ६ सय शैय्या रहेका छन् । चितवनलगायत आसपासका १८ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको यो महत्त्वपूर्ण अस्पतालमा एक पक्षीय राजनीति हावी हुँदै जानुले अस्पतालप्रतिको साझा अपनत्व गुम्दै गएको छ । 

अध्यक्ष सेरेमोनियल कि कार्यकारी ?

पेशागत हिसाबले व्यावसायिक र क्षमतावान चिकित्सक डा. भोजराज अधिकारी अहिले अस्पताल विकास समितिका अध्यक्ष हुनुहुन्छ । उहाँको नियुक्तिसँगै ‘राइट प्लेस राइट म्यान’को रुपमा लिएर खुशी हुनेहरु धेरै थिए । डा. अधिकारी अस्पताल विकास समितिका तर्फबाट कार्यरत हुनुहुन्थ्यो । 

अघिल्लो दिनसम्म सँगै काम गरेका आफूभन्दा तीन तहमाथिका चिकित्सकहरुलाई पछाडि पारेर अध्यक्ष भएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुका बीचमा त्यतिबेलादेखि नै असमन्जस्यता पैदा हुनु स्वभाविक थियो । डा. अधिकारी  आठौँ तहको चिकित्सक हुनुहन्छ, तर उहाँसँगै काम गर्ने  ११ औँ तहसम्मका सिनियर चिकित्सक त्यहीँ काम गर्छन् । 

अध्यक्ष हुनका लागि योग्यता नपुगेको होइन । लामो समय सँगै काम गरेर बसेका चिकित्सकमध्येबाटै एकै पटक अध्यक्ष बनाइनुले केही असहजता देखिएको थियो । समितिका अध्यक्ष हुनुसम्मका लागि स्वभाविक मानेका अस्पतालका अन्य चिकित्सकले जब अध्यक्ष डा. अधिकारीको कार्यकारी प्रस्तुति देखिन थाल्यो, तब अस्पतालमा अध्यक्ष सेरेमोनियल हुने कि कार्यकारी हुने भनेर प्रश्न गर्न थाले । 

कोरोना अस्थायी अस्पतालका कारण भरतपुर अस्पतालका लागि अध्यक्ष हुन योग्य सावित भएर उदाएका डा. अधिकारी अस्पतालमा नीति निर्माण गर्ने र सहजीकरण गर्नका लागि सेरेमोनियल मात्र बन्नु भएन, कार्यकारी रुपमा नै प्रस्तुत हुन थालेको अस्पतालमै कार्यरत चिकित्सकहरु बताउँछन् । पेशागत रुपमा सम्मानयोग्य चिकित्सक भए पनि आवश्यकताभन्दा बढी राजनीति केन्द्रीत हुन थालेपछि डा. अधिकारीप्रतिको धारणा फेरिँदै गएको छ ।

त्यसो त डा. अधिकारी आफैं पनि बाध्यतामा हुनुहुन्छ । केन्द्रीय स्तरको अस्पताल बनेपछिको गठन आदेशमा अस्पताल विकास समितिको काम कर्तव्य र अधिकार परिवर्तन भएको अध्यक्ष डा. अधिकारी बताउनुहुन्छ । त्यही गठन आदेशअनुसार नै आफूले काम गरिरहेको उहाँको भनाइ छ । आफू प्राविधिक पनि भएकोले कतिपय विषयमा आफू मिडियामा धेरै देखिएकाले पनि कार्यकारी भए जस्तो बुझाइ हुन सक्ने उहाँले बताउनुभयो । 

संकटको समयमा अप्रत्याशित मेसु परिवर्तन 

कोरोना कहरको समयमा अस्पतालमा अप्रत्याशित रुपमा मेसु परिवर्तन भए । डा. तिवारीलाई हटाइयो र नयाँ मेसु डा. राजन पाण्डेलाई ल्याइयो । यो संकटको समयमा पनि हतार गरेर आफू अनुकूलको मेसु खोजेरै ल्याउनु र योग्य मेसुलाई बीचमै बिदा गरिनुले मेसु नियुक्तिमा पनि असुहाउँदो राजनीति प्रष्ट देखिन्छ ।

स्वास्थ्य मन्त्रालयको अस्पतालसम्बन्धी गठन आदेशमा भरतपुर अस्पताल सङ्घीय अस्पताल भएकोले मेसु होइन निर्देशक रहने व्यवस्था रहेको छ । तर निर्देशकको रुपमा नभएर मेसुकै रुपमा डा. पाण्डेलाई ल्याइएको छ । डा. पाण्डेको प्रशासनिक कामको यो पहिलो अनुभव र नियुक्ति हो । 

यसअघि भरतपुर (अस्थायी) कोरोना अस्पताल भरतपुर महानगरपालिकाले सञ्चालन गर्न नसकेर भरतपुर अस्पताललाई जिम्मा लगाउँदै गर्दा सहज रुपमा स्वीकार नगरेको आरोप पनि उहाँलाई छ । महानगरकै नेतृत्वमा स्थापना भएको भरतपुर कोभिड प्रयोगशालाको स्थापनाका बेलाको खर्च भएको बिल भरतपुर अस्पतालका तर्फबाट तिर्न अस्वीकार गरेपछि डा. तिवारीको डा. अधिकारीसँगको दूरी बढेको थियो । डा. तिवारीले ल्याब स्थापना गर्दा राजनीतिक व्यक्ति र महानगरका कर्मचारीले आफूखुसी खरिद गरेका सामान अस्पतालको नियम विपरीत हुने भन्दै बिल तिर्न अस्वीकार गर्नुभएको थियो । 

जब मेसु डा. तिवारीलाई हटाएर नयाँ मेसुको खोजी भयो तब अस्पतालभित्र नै काम गर्ने पूर्व मेसु डा. कृष्णप्रसाद पौडेलको नाम एउटा पक्षले मन्त्रालयसम्म लगेको थियो । पौडेल कांग्रेस निकट भएका कारण त्यो सफल हुन नसकेपछि नेपालगञ्जमा रहेका डा. पाण्डेलाई मेसुको रुपमा अस्पताल ल्याइएको छ ।

डा. पाण्डे नेकपा निकट, त्यसमाथि पूर्व माओवादी नजिकका भएकै कारण उहाँलाई रोजिएको हो । उहाँलाई अहिलेका अध्यक्ष डा. अधिकारीसँगको विचार मिल्ने र कुनै समय एउटै कोठामा बसेर अध्ययन गरेका साथीको रुपमा चिनिन्छ । भरतपुर अस्पतालमा सबैभन्दा लामो समय काम गर्ने मेसु डा. तिवारी दोश्रो रहेको र नेपाल सरकारको निर्णय भएका कारण यसमा आफूलाई जोडिरहन आवश्यक नभएको अध्यक्ष डा. अधिकारीले बताउनुभयो । 

विभागीय प्रमुख समेत आफू अनुकूल खोजिँदै

​अस्पतालमा विभिन्न विभाग रहेका छन् । भर्खरै अस्पतालको लेखा विभागमा समेत आफ्नो विचार मिल्ने व्यक्तिलाई ल्याउनका लागि अहिले भइरहेका व्यक्तिलाई सरुवा गरिएको भन्ने विषय अस्पतालमा चर्चा छ । अन्य विभागमा समेत सम्भव भएसम्म आफू निकटका व्यक्तिहरुलाई ल्याउने तयारी भइरहेको छ । 

अस्पतालमा अनावश्यक रुपमा कर्मचारी राख्नका लागि डा. तिवारीलाई ‘प्रेसर’ हुने गरेको र राख्न नमिल्ने अवस्था देखिएकाले उहाँले अडान लिएकै कारण सरुवा हुनुपरेको जानकारहरु बताउँछन् । डा. तिवारीलाई अध्यक्ष लगायतको टिमलाई नटेरेको भन्ने आरोप छ । स्टोर, फार्मेसीलगायत महत्वपूर्ण शाखामा ‘आफ्ना’ मान्छे राख्नका लागि लबिङ भइरहेको स्रोतले बतायो । यसले अस्पतालमा काम गरिरहेका कर्मचारीहरुको मनोबल कमजोर बन्दै गएको छ । 

अस्पतालमा भएका विभिन्न विभागमा समेत अनुकूलता हेरी व्यक्ति परिवर्तन गर्न मेसुलाई ‘प्रेसर’ परेको र त्यही प्रेसरलाई नमानेका कारण उहाँलाई हटाइएको श्रोत बताउँछ । अ-प्राविधिक व्यक्तिहरुलाई अस्पतालमा कर्मचारीको रुपमा राख्नका लागि तत्कालिन मेसु तिवारीलाई ठूलै ‘प्रेसर’ थियो ।

अस्पतालमा विभागीय प्रमुख परिवर्तन हुने विषयको निर्णय अधिकार मेसुलाई हुने बताउँदै अध्यक्ष डा. अधिकारीले हरेक दुई वर्षमा लेखा प्रमुख परिवर्तन हुने प्रणाली नै रहेको दाबी गर्नुभयो । अन्य विभागमा योग्यता क्षमताका आधारमा व्यक्ति परिवर्तन हुनुलाई राजनीतिक विषय बनाउन नहुने उहाँको तर्क छ । 

कोभिड प्रयोगशाला प्रमुख समेत फेर्ने कसरत 

भरतपुर अस्पतालले सञ्चालन गरेको कोराेना प्रयोगशालाका प्रमुख समेत आफू अनुकूलको राख्ने कसरत भइरहेको छ । प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीलाई हटाएर अरु कोही पात्रलाई त्यहाँ जिम्मेवारी दिनका लागि प्रयास भइरहेको छ । 

डा. नितुलाई फरक आस्था राख्ने व्यक्तिको रुपमा लिएर हटाउन खोजिएको हो । प्रयोगशालाबाट आउने सूचना आफूलाई नदिएको भन्ने आरोप उहाँलाई लगाइएको छ । अस्पतालका अध्यक्ष, मेसु र सूचना अधिकारीले पटक-पटक आफूलाई सूचना पहिला दिनुपर्ने भन्ने प्रेसर आएपछि डा. नितुले आफ्नै हस्ताक्षरमा सिधै प्रयोगशालाबाट सूचना जारी गर्दै आउनुभएको थियो । 

प्रयोगशाला निर्माणदेखि अहिलेसम्म भएगरेका आर्थिक कारोबारका विषयलाई आफू अनुकूल बनाउनका लागि प्रयोगशाला प्रमुख परिवर्तन गर्न खोजिएको स्रोतले बताएको छ । डा. नितुको कार्यकाल जम्मा दुई महिना मात्र बाँकी रहेको छ । डा. नितुसँगै प्रयोगशालामा कारारमा नियुक्ति पाएका अर्का व्यक्तिलाई डा. नितुको स्थानमा जान दबाब दिइएको भए पनि ती व्यक्तिले अस्विकार गरेको अस्पताल स्रोतले बताएको छ । 

प्रयोगशाला प्रमुखका विषयमा गुनासाहरु आएको  त्यो आन्तरिक विषय भएको बताउँदै अस्पतालका अध्यक्ष डा. अधिकारीले अहिले प्रयोगशाला प्रमुखमा व्यक्ति परिवर्तन गर्ने विषयमा आफूले नसोचेको बताउनुभएको छ । 

सबै नयाँ काममा अलमल

अस्पतालको महत्वपूर्ण पदमा  अहिले प्रायः नयाँ व्यक्ति छन् । अध्यक्ष डा. अधिकारी, मेसु डा. पाण्डे, लेखा प्रमुख सबै नयाँ छन् । आर्थिक वर्षको सुरुवातसँगै अस्पतालमा बजेट आउने क्रम जारी छ । तर आएका योजनाका प्रक्रिया र अन्य प्रशासनिक काम कसरी अगाडि बढाउने भन्ने विषयमा अन्यौल देखिएको छ । 

नयाँ स्थानमा नयाँ व्यक्ति आउँदा केही कुरा बुझ्न समय लाग्नुलाई अन्यथा लिन नहुने भन्दै अध्यक्ष डा. अधिकारीले अस्पतालको विकास निर्माण र प्रशासनिक कामका लागि कुनै अलमल नहुने दावी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया