रोगले थलिएकी असाणि धामी : खर्च अभावमा उपचारमा समस्या

 असोज ९, २०७७ शुक्रबार ७:२५:४० | डीबी बिष्ट
unn.prixa.net

बझाङ - धलौनकी ३० वर्षीया असाणि धामी रोगले थला परेको दुई महिना पुग्न थाल्यो । घरको आर्थिक अवस्था नाजुक छ । घरको कामधन्दा र छोराछोरीको जिम्मेवारी उहाँकै काँधमा छ । श्रीमान् बितेको ८ वर्ष भइसकेको छ । तीन छोरा र एउटी छोरीसहित चार सन्तान छन् । उनीहरुको लालनपालन गर्न धौधौ छ ।

दुई महिनाअघि गोठालो जाँदा उहाँ एक्कासी बिरामी पर्नुभएको हो । उठ्नै नसक्ने भएपछि त्यसबेला उहाँलाई गाउँलेहरुले बोकेर घर ल्याए । धामीको ढाडमा समस्या छ । राम्रोसँग हिँडडुल गर्न सक्नुहुन्न । तर पनि सकीनसकी घरको काम नगरि सुखै छैन । घर नजिकै रहेको स्वास्थ्य संस्थामा धेरै पटक उपचार गरे पनि ठिक नभएको उहाँ बताउनुहुन्छ ।

धलौनबाट सदरमुकाम चैनपुर पुग्न दुई दिन लाग्छ । बिरामी भएकै कारण उहाँ सदरमुकाम चैनपुरमा रहेको जिल्ला अस्पतालमा पुग्न सक्नुभएको छैन । उपचारमा लाग्ने खर्च जुटाउन आयस्रोतको माध्यम छैन । खेती किसानी गरेर वर्षभरि खान पुग्दैन । छाक टार्न पनि धौधौ हुने गरेको उहाँको गुनासो छ ।

गाउँमा भएको जडीबुटी खाए पनि रोग निको भएको छैन । उल्टै झनै बल्झिएको छ । उहाँले गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीलाई आफ्नो अवस्थाबारे जानकारी गराउनुभएको छ । उहाँले उपचारको लागि सदरमुकाम चैनपुर जान आग्रह गर्नुभएको छ ।

‘उहाँले सदरमुकाम जान आवश्यक पर्ने बाटो खर्च लिन आग्रह गर्नु भएको थियो’ धामीले भन्नुभयो, ‘तर बोकेर लैजान गाउँमा मान्छे छैनन्, छोराछोरी सानै छन्, हिँड्न म सक्दिनँ ।’ सानै उमेरमा विवाह गरेकी धामीलाई कहिलेकाहीँ सघाउन छिमेकी साउने धामीको परिवार पुग्छन् । साउने धामीकाअनुसार सामान्य सहयोग गर्न अप्ठ्यारो छैन । तर थलै परेको अवस्थामा आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन समस्या छ ।

उहाँले भन्नुभयो, ‘छिमेकमा धेरै खर्च लाग्ने बिरामीको उपचारका लागि खर्च जुटाउन सक्ने अवस्था छैन ।’ 

अन्तिम अपडेट: बैशाख १, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया