दक्षिण भारतीय तथा बलिवुडका चर्चित गायक एसपी बालासुब्रमण्यम रहेनन्

 असोज ९, २०७७ शुक्रबार १४:५१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमको चेन्नईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

हिन्दी चलचित्र हेर्ने नयाँ पिढीका केही व्यक्तिहरुले बालासुब्रमण्यमको नाम नसुनेको पनि हुन सक्छ तर अभिनेता सलमान खान हिन्दी चलचित्रमा आएको केही वर्षसम्म एसपी बालासुब्रमण्यमलाई सलमान खानको आवाज बुझिन्थ्यो । 

'मैंने प्यार किया', को गीत होस् वा 'साजन' वा 'हम आपके हैं कौन' यी सबै चलचित्रमा सलमानलाई एसपीले नै आवाज दिएका थिए । यो कुरा पनि पुरानो लाग्छ भने केही वर्षअघि आएको 'चेन्नई एक्सप्रेस' चलचित्रको टाइटल गीत एसपी बालासुब्रमण्यमले नै गाएका थिए । 

८० को दशकदेखि लिएर नयाँ शताब्दीको सुरुवातसम्म बालासुब्रमण्यमले हिन्दी चलचित्रमा गीत गाइरहे । 

दक्षिण भारतमा पहिचान बनाइसकेका एसपी बालासुब्रमण्यमले सन् १९८१ मा आएको चलचित्र एक दूजे के लिए पहिलो हिन्दी चलचित्रमा कमल हसनको लागि गीत गाए र राष्ट्रिय पुरस्कार जितेका थिए । 

एसपीले ६ पटक राष्ट्रिय पुरस्कार जितेका छन्, त्यो पनि चार फरक–फरक भाषमा– हिन्दी, तमिल, तेलुगु र कन्नड । 

एसपी बालासुब्रमण्यमले एकैदिन २१ कन्नड भाषाको गीता गाएर कीर्तिमान बनाएका छन् । साथै उनले सबैभन्दा धेरै गीत गाएको गिनिज रेकर्ड (४० हजार) पनि उनकै नाममा भएको दाबी गरिएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया