डलर सस्ताेमा साटिदिने भन्दै शृङ्खलाबद्ध लुटपाट, पाँच जना पक्राउ

 असोज ९, २०७७ शुक्रबार १९:२७:० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै शृङ्खलाबद्ध लुटपाटका घटनामा संलग्न भएको अभियोगमा पाँच जना पक्राउ परेको छन् । पछिल्लाे पटक असाेज ८ गते बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने एक जना व्यक्तिलाई अमेरिकन डलर देखाएर सस्तोमा साटिदिने गरिदिने बहानामा पाँच लाख रुपैयाँ लुटपाट भएसँगै प्रहरीले सक्रियता देखाएकाे थियाे ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ३ घर भइ काठमाण्डौको गोकर्णेश्वर नगरपालिका १ का खेलबहादुर तामाङ र रेलबहादुर तामाङ, बाह्रबीसे ६ घर भइ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ बस्ने श्यामबहादुर तामाङ, रामकृष्ण तामाङ र कान्छी तामाङ रहेका छन् । 

उनीहरु मध्यपुर ठीमी नगरपालिका ९ काे बोडेबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट दुई लाख ४२ हजार नाै सय ३५ रुपैयाँसहित पाँच थान मोबाइल, दुई वटा मोटरसाइकल र डलर भनेर झुक्याउन तयार पारिएका दुई बण्डल कागजको बिटोसमेत बरामद गरिएको छ ।

यस्तो छ लुटपाटको घटनाक्रम

प्रहरीका अनुसार यसअघि गएको साउन ८ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ काे बोडेमा डलर साटिदिने बहानामा तीन लाख रुपैयाँ लुटपाट भएको थियो । 

यस्तै साउन १९ गते मध्यपुर ठिमी नगरपालिका ५ काे बोडेमा चार लाख रुपैयाँ लुटिएको थियो भने वडा नम्बर २ बोडेमा भदौ ३१ गते पाँच लाख रुपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ । 

यस्तै वडा नम्बर ९ बोडेमा यही असोज ६ गते नाै लाख ८० हजार रुपैयाँ र ८ गते बिहीबार पाँच लाख रुपैयाँ लुटिएको थियो । 

निरन्तर लुटपाटको घटना भएसँगै उनीहरुको खोजीमा आफूहरुले सक्रियता देखाएको र शुक्रबार उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी सुवास बुढाथोकीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया