चलचित्र सुटिङ र रिलिज नहुँदा चिन्तामा चलचित्रकर्मी

 असोज १०, २०७७ शनिबार १३:९:० | जानुका दुवाडी
unn.prixa.net

कोरोनाका कारण गएको फागुन महिनायता कुनै पनि चलचित्र रिलिज भएको छैन । रिलिज मात्र होइन, चलचित्र छायाँकन र निर्माणको अवस्था पनि शून्य छ ।

विश्वमा देखिएको कोरोनाको त्रासले गएको माघ महिनादेखि नै नेपाली चलचित्र क्षेत्र केही प्रंभावित बनेको थियो । यही कारण २०७६ सालभित्र ७० वटाभन्दा धेरै चलचित्र प्रदर्शनीमा आउने अपेक्षा गरिएको भए पनि ५५/५६ वटा मात्रै प्रदर्शनीमा आए । 

चर्चित फिल्म निर्माता विकास राज आचार्य कोरोनाको प्रभाव अहिले मात्रै होइन, यो वर्षभरी नै चलचित्र क्षेत्रमा पर्न सक्ने बताउनुहुन्छ । कोरोनाका कारण बन्द भएका अन्य क्षेत्र खुले पनि यो क्षेत्र तत्काल खुल्ने अवस्था नभएको उहाँको भनाई छ । यो वर्ष चलचित्र निर्माण, प्रदर्शन लगायत सम्पूर्ण गतिबिधि लगभग ठप्प हुने देखिन्छ ।

गएको वैशाख १७ गते आचार्यको निर्देशन रहेको फिल्म ‘नाइ न भन्नु ल ६’ रिलिज हुने मिति तय भएको थियो ।  तर कोरोनाका कारण रिलिज हुन सकेन । ‘नाई नभन्नु ल’ सिरिजको पाचौँ संस्करणसम्म पनि आचार्यले निर्देशन गरेको फिल्मलाई दर्शकले नाई भनेनन् । नाइ नभन्नु ल  छैटो सस्करणलाई पनि दर्शकले पक्कै नाइ भन्दैनन् थिए होलान आचार्यको अपेक्षा थियो  । 

‘त्यसपछि अरु फिल्म निर्माण तर्फ पनि ध्यान नगएको उहाँको भनाई छ । फिल्म क्षेत्रमा काम गर्नका लागि कम्तिमा ४० देखि ५० जनासम्म भेला हुनुपर्छ । त्यसरी भेला हुन सक्ने अवस्था अझै नभएको उहाँको भनाई छ । यही क्षेत्रमा भविष्य देखेर २१ वर्ष अघिदेखि स्क्रिप्ट राइटर हुँदै उहाँ फिल्म क्षेत्रमा प्रवेश गर्नुभएको हो । चलचित्रको सबै काम ठप्प भएकाले उहाँको दैनिकी अहिले पत्रपत्रिका र किताब पढ्ने काममा सीमित भएको छ । 

आचार्य भन्नुहुन्छ ‘अव बिस्तारै सरकारले चलचित्र हल पनि खोल्ने व्यवस्था गर्नुपर्छ । त्यो भयो भने  बिस्तारै यो क्षेत्रमा पनि वातावरण बन्दै जान्छ ।’ 

अर्का चर्चित निर्देशक मनोज पण्डित  चलचित्र क्षेत्र बन्द भइरहँदा आफू भने चलायमान नै भइरहेको बताउनुहुन्छ ।  लकडाउन घोषणा भएपछि उहाँले एउटा चलचित्र सम्बन्धी किताब नै लेखिसक्नुभयो । त्यस्तै अहिले पटकथा लेखनको कामलाई पनि निरन्तरता दिइरहनुभएको छ । लेख्ने तथा पढ्ने गरेर नै उहाँको दैनिकी बितिरहेको छ । उहाँको निर्देशनमा रहेको चलचित्र एक पनि गएको वैशाख जेठमा रिलिज हुने भनिए पनि कोरोनाका कारण हुन सकेन । अब तत्काल सिनेमाको प्रचार सामग्री रिलिज गर्ने मनस्थितिमा नभएको पण्डित बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ ‘एक सिनेमा राजनीतिक विषयमा केन्द्रित छ र अहिले दर्शक यस्तो हेर्न रुचाउँछन् जस्तो मलाई लाग्दैन । अहिले कोरोनाले मान्छेको मनोविज्ञानमा जुन किसिमको त्रास सिर्जना गरेको छ, त्यस्तो अवस्थामा राजनीतिक मुद्दा बोकेको सिनेमा रुचिकर नहुुनसक्छ । त्यसैले दर्शकको मनोविज्ञानमा सन्तुुलन नआएसम्म यो सिनेमा रिलिज गर्न कुुर्नुुपर्ने अवस्था छ ।’ बरु अरु नै दर्शकको रुचिका फिल्म निर्माणका लागि भने योजना बनाइरहेको उहाँ बताउनुहुन्छ । 

कोरोनाकै कहरका बीचमा पनि सुरक्षाका उपाय अपनाएर चलचित्र बनाउने विचारमा उहाँ हुनुहुन्छ । काभ्रे धुलिखेलका पण्डितले फिल्म विषय नै पढ्नुभयो । उहाँले सहायक निर्देशक हुँदै निर्देशन गर्न थाल्नुभएको १५ वष भन्दा धेरै भइसकेको छ । उहाँले विभिन्न पत्रपत्रिका तथा अनलाईनमा फिल्म क्षेत्रका विभिन्न विषयमा कलम पनि चलाउँदै आउनुभएको छ । 

केही समय फिल्म क्षेत्र बन्द हुँदैमा यो क्षेत्रमा स्थापित भइसकेकाहरुलाई धेरै असर गर्दैन । तर यो क्षेत्रमा भर्खर प्रवेश गरेकाहरुका लागि भने समस्या हुने उहाँको भनाई छ । चलचित्र क्षेत्रका नियमित गतिविधिहरु पहिलेकै अवस्थामा फर्कन अझै केही समय लाग्ने देखिएको छ । यस्तो अवस्थामा चलचित्र कर्म गर्दै आएका कलाकारहरु भने पूर्ण रुपमा बेरोजगार हुने भएका छन् । 

उनीहरुको दैनिक गुजारामा समेत समस्या उत्पन्न हुन सक्छ । लगभग २५ प्रतिशत कलाकारहरु चलचित्रमा पूर्णरुपमा आश्रित भएका हुँदा उनीहरुलाई समस्या हुन सक्ने सम्भावना देखिन्छ ।  अरुलाई भने त्यति असर नपर्ने उहाँ बताउनुहुन्छ । 

अर्का निर्देशक नवराज बुढाथोकी चलचित्र क्षेत्रमा तत्काल फर्कन कठिन भएको बताउनुहुन्छ । नाटक र फिल्म दुबैको निर्देशन गर्ने बुढाथोकी यो क्षेत्र धेरै मानिस जम्मा भएर मात्र काम गर्न सकिने क्षेत्र भएकाले तत्काल पहिलेकै अवस्थामा फर्कन गाह्रो हुने बताउनुहुन्छ । कोरोना पूर्ण रुपमा नियन्त्रण हुन समय लाग्ने भएकाले सुरक्षा सावधानी अपनाएर यो क्षेत्रमा काम थाल्नुपर्ने उहाँ बताउनुहुन्छ ।  मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गरेर सुरक्षा सावधानीका उपाय अपनाएर अब बिस्तारै जनजीवन सामान्य बनाउँदै लैजानुपर्ने उहाँको भनाइ छ । 

‘लकडाउनको केही महिना त उकुसमुकुस नै भयो । के गरौँ कसो गरौँ भन्ने भयो । बिस्तारै बानी पर्दै गएको छ’ उहाँले भन्नुभयो । उहाँ सञ्चारकर्मी पनि हो । पहिलाजस्तो नाटक, फिल्म, तथा पत्रकारिता सबैतिरको दौडधुप त छैन तर पत्रकारितामा क्षेत्रमा लागिरहेकाले उहाँको दैनिकी यसमै बितिरहेको छ । काभ्रेका बुढाथोकीले यतिबेला घरमा समय दिने, फिल्म र नाटकबारे थप अध्यन गर्दै समय बिताइरहनुभएको छ  । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • subhash 3

    Nov. 23, 2020, 9:18 p.m.

    ramro kura

  •  0 Reply

तपाईको प्रतिक्रिया