‘भाडामा बस्नेहरु पनि घरकै सदस्य हुन्, पराइको व्यवहार नगरौँ'

 असोज १०, २०७७ शनिबार १७:३३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले बाहिरी जिल्लाबाट काठमाण्डौ उपत्यकामा आएका व्यक्तिलाई पीसीआर परीक्षणका लागि दबाब नदिन घरबेटीलाई आग्रह गरेको छ । 

आफ्नो कामका लागि उपत्यकामा आएकाहरुलाई घरबेटी, छिमेकी तथा समुदायका व्यक्तिले पीसीआर परीक्षणका लागि बाध्य बनाउने गरेको गुनासो आएको भन्दै सरकारले यस्तो नगर्न आग्रह गरेको हो । 

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कोठामा बस्ने मानिस पनि त्यो घरको सदस्य जस्तै हुने र उनीहरुले तिरेको पैसाबाट घरबेटीको गर्जो टर्ने गरेकोले अप्ठ्यारो अवस्थामा पराइको व्यवहार नगर्न आग्रह गर्नुभयो । 

उहाँले कोरोना भाइरस शरीरमा प्रवेश गरेको पाँच दिनपछि परीक्षण गर्दा मात्र नतिजा थाहा हुने भन्दै यात्रा गर्नासाथ गरिएको परीक्षणको अर्थ नहुने बताउनुभयो । उहाँले आफ्नो घर वा टोलछिमेकमा आउने व्यक्तिलाई दुई हप्तासम्म कोठामा छुट्टै बस्ने वातावरण दिएर लक्षण देखिएमा मात्र परीक्षण गर्न लगाउन आग्रह गर्नुभयो । 

अहिले पीसीआर परीक्षणका लागि रातभरि झरीमा रुझ्दै लाइन बस्नु परेको प्रति दु:ख व्यक्त गर्दै प्रवक्ता गौतमले यस्तो अवस्था आउन नदिन महामारीमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कसैलाई कोरोना सङ्क्रमणसँग मिल्दो लक्षण देखिएमा वडा कार्यालयलाई खबर गर्न आग्रह गर्दै वडा कार्यालयले परीक्षणलगायत आवश्यकता अनुसार आइसोलेशनको व्यवस्था गर्ने बताउनुभयो । 

प्रवक्ता गौतमले अहिले यात्रा गर्दा कोरोना सङ्क्रमणको जोखिम उच्च हुने भएकोले यो बेलामा सकेसम्म यात्रा नगर्न अनुरोध गर्नुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया